डम्मर बुढा मगर, बागलुङ
गाउँ सहरमा दसैँ छाइसकेको छ । बजारमा किनमेल गर्ने र दसैँका लागि चाहिन सामान जोहो गर्न धेरैलाई भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँले कत्ति पनि छोएको छैन । कास्कीको मादी गाउँपालिकाकी मिना दर्जी हिजोआज दैनिक कालीगण्डकी किनारमा बालुवा उठाउँदै गरेको भेटिनुहुन्छ । पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई विहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ । यस वर्षको दसैँ मिनाले कालीगण्डकी किनारमै बित्ने बताउनुहुन्छ ।
घरको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा आफूले पाँच वर्षदेखि कालीगण्डकीमा बालुवा चाल्ने र उठाउने काम गर्दै आएको उहाँ सुनाउनुहुन्छ । मिनासँगै अन्य धेरै मुजदुर यति बेला कालीगण्डकी किनारमै भेटिन्छन् । कति त छ गतेसम्म काम गरेर दसैँ मनाउन गाउँ जाने सुरमा छन् । तर धेरैले गरिबका लागि दसैँको खास्सै महत्व नभएको बताउँछन् । मिनाले एक दिन काम नगरे दुई वर्षीयको छोरा र सात महिने छोरीले खाना खान नपाउने बताउनुभयो । कालीगण्डकीमा लामो समय नगरपालिकाले मजदुरलाई बालुवा निकाल्न नदिएको भन्दै केही महिनादेखि फेरि काम सुरु गरेको उहाँ बताउनुहुन्छ ।
पहिले आफूहरुले उठाएको बालुवा ठेकेदारहरुले सहज रुपमै किनि दिएको भन्दै अहिले भ्याट बिल माग्दा आफूहरु समस्यामा पर्ने गरेको परियारको भनाइ छ । गैटि, बेल्चा चलाएर बालुवा निकाल्ने मजदुरसँग भ्याट बिल नहुने उहाँले बताउनुभयो ।
“यहाँ काम गर्ने धेरै साथीहरु दसैँ मान्नलाई गइसक्नु भयो, मेरो त दसैँ मान्ने अवस्थानै छैन, दिनमा एक ट्याक्टर बालुवा पनि विक्री हुँदैन, चाडपर्व मनाउनलाई आर्थिक चाहिन्छ, तर मसँग पैसा छैन, कोठा भाडामा लिएर बस्ने गरेकी छु, भाडा तिर्न र विहान बेलुकाको छाक टार्न हाम्मेहम्मे भएको बेला दसैँ आयो,” उहाँले भन्नुभयो – “पहिले त बालुवा दैनिक विक्री हुन्थ्यो, दिनमा १५ सयदेखि दुई हजारसम्म कमाइ पनि हुन्थ्यो तर अहिले छैन, दुई दिनमा दुई हजार कमाइ भए त मेरो पनि दसैँ राम्रो हुने थियो, केटाकेटीलाई मासु खुवाउन पाउने थिएँ ।”
काली किनारमै बालुवा चाल्ने बिमल सुनारको यस वर्ष दसैँ छैन । तर गाउँ जाने उहाँको ठूलो धोको थियो । धादिङ घर हुँदा जाँदा र आउँदा पाँच हजार बढी खर्च हुने भन्दै अहिले आफू आर्थिक संकटमा परेको हुँदा गाउँ जान नपाएको सुनाउनुभयो । दुई वर्षदेखि कालीगण्डकी किनारमा काम गर्दै आएको भन्दै दुई महिना बिरामी भएर अस्पतालमा बस्दा पाँच लाख ऋण लागेको बताउनुभयो । साहुँको ऋण तिरेर मात्रै गाउँ जाने उहाँ बताउनुहुन्छ ।
सुनारले भन्नुभयो – “यो दसैँ तिहार भन्ने त पैसा हुनेका लागि आउने रैछ, हामी जस्ता मजदुरको लागि होइन रैछ, दिनभरी काम ग¥यो रात पर्दा खाली हात डेरामा फर्किनु पर्छ, अरु आम्दानी गर्ने ठाउँ केही छैन, अब कसरी मनाउने दसैँ, पहिले–पहिले गाउँमा छँदा रमाइलो लाग्थ्यो, अहिले निकै उराठ लाग्छ चाडपर्व आउँदा, हामी जस्ता मजदुरलाई राज्यले हेर्नु पर्ने हो तर केही सहयोग गर्न सकेन ।”
मध्यपहाडी लोकमार्गको अक्षते खण्डमा यति बेला धेरै कामदारले सडक निर्माण गरि रहेका छन् । तर उनीहरु कसैलाई पनि दसैँको रौनकले छुन सकेको छैन् । त्यही सडक भएर दैनिक हजारौँ मानिस दसै तिहारका लागि गाउँ तथा सहर आउनेजाने गरि राखेका छन् । तर उनीहरुलाई कुनै प्रवाहनै छ । रोल्पा छुनछहारीका पमद बुढा मगरले दसैँका लागि खर्च जुटाउन नसक्दा गाउँ नगएको सुनाउनुभयो । तिहारसम्म केही कमाइ हुने भन्दै त्यस बेला बल्ल गाउँ जाने बुढा मगरको भनाइ छ । भारतबाट दुई महिना अगाडि गाउँ आएको र गाउँमा कुनै काम नभएपछि १५ दिन अगाडि लोकमार्गमा काम गर्न आएको उहाँ बताउनुहुन्छ ।
“इन्डिया डेढ वर्ष बसेर आएको हुँ, त्यहाँ खास्सै कमाइ भएन, गाउँमा आएर एक÷दुई महिना जति बसे तर गाउँमा पन केही मेसो नआएपछि यता आएको हुँ, केही समय काम गर्ने सोँच छ, तिहार मनाउन गाउँ जानु पर्ला,” उहाँले भन्नुभयो – “अहिले त जे कुरा पनि पैसासँग जोडिएको छ, पैसा छ, सबै छ, पैसा छैन केही छैन ।”