बडा दशैंको शुभकामना

सम्पादकीय
बडादशैँ हिन्दुहरुको महान पर्व मात्र होइन, समग्र नेपाली र नेपालीहरुकै महान पर्वको रुपमा यसले व्यापकता पाएको छ । यद्यपि, दशैँ पर्वका बारेमा अनेकन कथन, विश्वास र मानकहरु स्थापित छन् । यसका पक्ष र विपक्षमा आजको दिनमा पनि नागरिकहरु बिभाजित छन् । जे भए पनि दशैँ भव्यताका साथ मनाउनेहरु त बडा दसैंको आगमनमा उत्साहित हुन्छन् नै, इतर धर्म मान्ने र दशैँ नमान्नेहरु पनि कुनै न कुनै रुपमा दशैँको ‘भाइब्स’मा जोडिन्छन् । यसका पछाडि कारणहरु धेरै हुन सक्छन् । नेपाल सरकारले कुनै चाडपर्वका लागि सबै भन्दा लामो विदा दिइन्छ भने त्यो दसैं नै हो । अरु केही जात, क्षेत्र र समुदाय विशेषका चाडमा मात्र एक दिन विदा दिइन्छ ।

बिजया दशमीका अनेकन आयाम छन् । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म अधिकांश नेपालीका घरघरमा शक्तिको आराधना गरी पूजा गरिन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन दशैँ मानिने भए पनि सुरुका नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई विजया दशमीका रूपमा मानिन्छ । त्यो धार्मिक हिसाबले, सांस्कृतिक हिसाबले, सामाजिक हिसाबले भिन्न–भिन्न महत्व राख्दछ । उसो त मौलिक संस्कार, संस्कृति, परम्परामा नेपाली समाज विशिष्ट छ । यहाँका चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नेपाली संस्कृतिका अमूल्य सम्पति हुन् । राम्रो लाउने, मिठो खाने, मनोरञ्जन गरिने दशैँले अप्रत्यक्षतः पारिवारिक र राष्ट्रिय एकतालाई सुदृढ पार्दै आएको छ । रोजगारको शिलशिलामा परदेश या देश भित्रै पनि बिभिन्न पेशा, व्यवसाय, रोजगारको क्रममा कर्मक्षेत्रमा खटिएका नेपालीहरु समेत दशैंमा आउन मिठो बाहना पनि दशैं बनेको छ । एकता, सद्भाव, क्षमा, स्नेह, प्रेम, मेलमिलाप, सहिष्णुता र सत्यको विजयजस्ता सन्देश मानव कल्याण दशँैको मुख्य सन्देश हो ।

दशैंका संस्कार, संस्कृतिजन्य विविध पाटासँग जोडिएका विषयमा बहस छ, अझै पनि यसका राम्रा नराम्रा पक्षमा बहस गर्न सकिन्छ । यद्यपि, दशैँ मान्यजनबाट टीका आर्शिवाद ग्रहण गर्नेदेखि देश विदेश रहेका पारिवारिक सदस्यको बिचको जमघट गराउनेमा होस् या दशैँमा नयाँ कपडा, मिठो खाने खुवाउने अनुक्रमले होस् या दशँै विदालाई बिभिन्न पर्यटकीय स्थलको घुमफिर र यात्रा गर्ने कार्यले किन नहोस् । दशैँको पर्वको महत्व आजको दिनमा पनि उत्तिकै छ । दशँैका कतिपय विषय भने तत्काल सोचनीय र सुधार गर्नुपर्ने छन् । खर्चिलो र भड्किलो रुपमा मनाउने दशैँले गरिब, विपन्न, असहाय, किसान, मजदुरहरु सन्तापमा पर्छन् । यसमा कसैले पनि देखावटी रुपमा होइन,आफ्नो हैसियत,क्षमता अनुसार मनाऔ । बडादशैँले आफू मात्र खुशी हुने होइन, सबैलाई खुशी बन्ने बनाउने प्रेरणा प्राप्त होस् । सम्पूर्णमा बडादशँैको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *