मानव सेवा आश्रम बागलुङको भवन निर्माण अन्तिम चरणमा

आदर्श अनलाइन, बागलुङ

पाँच जनाको पहलमा २०७३ चैत २१ गते ८ औं शाखाको रुपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम अवस्थामा छ । युनिटीलाईफको अलपत्र जग्गाको सदुपयोग गरेर बागलुङ नगरपालिका–३ किनाराटोलमा सञ्चालित मानव सेवा आश्रम आफ्नै भवनमा सर्ने व्यर्ग प्रतिक्षामा छ ।

साँघुरो कोठाबाट शुरु भएको मानवता अभियान सुविधा सम्पन्न भवनबाट प्रदान गर्दे उदेश्यले २०७७ सालबाट बागलुङ नगरपालिका–४ निरयघाटमा सुविधा सम्पन्न तीन ब्लकमा भवन निर्माण गरिरहेको छ । अहिले भवन निर्माणको आम ६० प्रतिशत भन्दा धेरै भएको छ । बागलुङ नगरपालिकाको पहलमा जग्गा व्यवस्थापन गरी पाँच रोपनी जग्गामा बनिरहेको आश्रममा गण्डकी प्रदेश, स्थानीय तह र मानवता अभियानकर्मीले आर्थिक सहयोग गरिरहेका छन् ।

भवन निर्माण सहित डिपिआर अनुसारको संरचना तयार गर्न रु. १२ करोड खर्च लाग्ने अनुमान गरेपनि अहिले मुख्य तीन वटा भवनहरु भने अन्तिम अवस्थामा पुगेका छन् । तीन वर्षमा भवन निर्माण गर्न हाल सम्म तीन करोड २५ लाख खर्च भइसकेको मानव सेवा आश्रममा अभिभावक तथा भवन निर्माण समितिका अध्यक्ष शिव खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार गण्डकी प्रदेश सरकारले रु. एक करोड ५० लाख र अन्य बागलुङ, म्याग्दी र पर्वतका पालिकाहरुले समेत सहयोग गरेको बताउनुभयो । आर्थिक वर्ष २०७९÷८० आश्रम निर्माणका लागि सामाजिक विकास कार्यालय मार्फत रु. ५० लाख, रघुगंगा गाउँपालिकाबाट रु. ५ लाख, गलकोट नगरपालिकाबाट रु. ४ लाख, ताराखोला गाउँपालिकाबाट रु.१० लाख, बागलुङ नगरपालिकाबाट रु. ७ लाख, बरेङ गाउँपालिकाबाट रु. ६ लाख, बडिगाड गाउँपालिकाले रु. १० लाख, बेनी नगरपालिकाबाट रु. ४ लाख र कालीका मन्दिरबाट रु.१० लाख गरी रु. एक करोड ६ लाख भवन बनाउन सहयोग भएको थियो ।

“सुविधा सम्पन्न भवन निर्माणमा गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिका सहितका स्थानीय पालिकाको सहयोग छ” खड्काले भन्नुभयो “अझै तीन करोड खर्च भएमा मात्रै आश्रमले सेवा दिन सक्नेगरी भवन तयार हुन्छ ।”

आश्रमले बागलुङ नगरपालिका–३ स्थित किनाराटोलबाट अस्थायी रुपमा सेवा दिइरहेको छ । आश्रममा अहिले ५५ जना सहयोगापेक्षी बेसहारा सडकमानवहरूलाई आश्रीत गरेको आश्रम बागलुङ शाखाका संयोजनक विपना तामाङले बताउनुभयो । बागलुङवासीको माया र सद्भावका कारण नै आश्रमले फड्को मादै आफ्नो क्षमता बढाइरहेको बताउदै आफ्नै भवन समेत निर्माणले तिबता पाएको आश्रमका अभिभावक निर्मल श्रेष्ठले जानकारी दिनुभयो ।

भवनको ‘ए’ ‘बी’ र ‘सि’ ब्लक भवनको तीन तला ढलान सम्पन्न भएर अहिले इटाको पर्खाल लगाउने कार्य भइरहेको छ । आश्रममा हाल व्यक्तिगत रुपमा समेत आर्थिक वर्ष २०७९÷८० मा रु. ६ लाख ४८ हजार ४८६ रकम संकलन भएको छ । आश्रममा धौलागिरीमा सडक तथा पेटीमा भेटिएका बेसाहाराहरुलाई उद्दार गरी उपचार सहित राखिदै आइएको छ । आश्रम सञ्चालनका लागि संयोजक, स्वास्थ्यकर्मी सहित ५ जना कर्मचारी रहेका छन् ।

आश्रमले आश्रम स्थापना कालदेखि १५२ जनाको उद्दार, २८ जनाको पुनर्मिलन भइसकेको छ । आश्रम साँघुरो हुँदा केही सहयोगापेक्षीहरुलाई अन्य शाखामा समेत स्थानान्तरण गरिरहेको बताउदै आफ्नै भवन निर्माण भएमा धौलागिरीका म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङलाई सडकमानव मुक्त बनाइने आश्रमका संयोजक विपना तामाङले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९÷८० मा मात्रै धौलागिरीका २० जना सडक मानवहरुको उद्दार गरिएको थियो । अहिले आश्रममा स्वास्थ्य सेवाका लागि समेत छुट्टै कक्षको स्थापना गरिएको छ । एक जना आश्रीतका लागि मासिक रु. १५ हजार खर्च लाग्ने भन्दै हाल सम्म बागलुङमा मुठ्ठीदानबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रममा जन्मोत्सव, पितृ कार्य र अन्य शुभकार्यमा संकलित रकमले आश्रम सञ्चालन भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *