नेपालको एकमात्र सिकार आरक्ष : चुनौती बन्दै जग्गा अतिक्रमण

आदर्श अनलाइन, बागलुङ
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा २०७३ साल अघि सम्मको प्रमुख चुनौती थियो चोरी शिकारी । तत्कालिन अवस्थामा योजनाबद्ध रुपमा आरक्षणमा चोरी शिकारी हुन्थ्यो । चोरी शिकारी रोक्न आरक्षका कर्मचारीहरुलाई असंभव जस्तै थियो ।

२०७३ सालमा आरक्षको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएपछि चोरी शिकारी आफै नियन्त्रणमा आयो । तर आरक्षले वर्षोदेखि आरक्ष क्षेत्रको अतिक्रमण गरेको जग्गा भने फिर्ता ल्याउन सकेको छैन । नेपाली सेना नहुँदा आरक्ष अघिबाटै हुँने चोरी शिकारी नियन्त्रणमा आएको भएपनि वर्षौदेखि भइरहेको जग्गा अतिक्रमण भने नरोकिएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।

अहिले उक्त अतिक्रण जग्गाको क्षेत्रफलमा वृद्धि नभएपनि उक्त क्षेत्रमा घर तथा टहरा थप्ने कार्य भने चलिरहेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयको तथ्याङ्क अनुसार आरक्षको चुनौतीको रुपमा जग्गा अतिक्रमण रहेको जनाएको छ ।

तथ्याङ्क अनुसार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको जनाइको छ । उक्त जग्गा आरक्ष क्षेत्र फैलिएको ३४ स्थानमा पर्ने गर्दछ । उक्त अतिक्रमण भइरहेको जग्गामा ३११ घरधुरी अहिले बसोबास गरिरहेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।

“आरक्षको क्षेत्रभित्र पर्ने जग्गामा खेतिपाती गर्ने, बसोबास गर्ने र तारबार गर्ने कार्य भइरहेको छ, थप जग्गा अतिक्रमण भएको भने होइन, यो जग्गा आरक्ष स्थापना गर्नुभन्दा पहिलादेखिनै स्थानीयहरु बसोबास गर्दै आएका थिए” कंडेलले भन्नुभयो “अहिलेको चुनौती भनेको अतिक्रमण जग्गाभित्र वन तथा खर्क क्षेत्र, बसोबास र खेतिपातिको लागि प्रयोग भइरहेको जग्गा खाली गरेर आरक्षको भित्र ल्याउनु हो, यस कार्यक्रममा नेपाल सरकार र सबै सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।”

३११ घरधुरीलाई अन्यत्र स्थानमा बसोबास गराउनका लागि नेपाल सरकारलेनै पहल गर्न अवाश्यक देखिने भन्दै कंडेलले कानूनको अभावका कारण जग्गा खाली बनाउन नसकेको बताउनुभयो ।

कार्यालयले बेलाबेलामा स्थानीयवासीलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रहसमेत गर्दै आएको छ । बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्ला गरी कुल एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सिकार आरक्षमा अतिक्रमण जग्गा भोगचलनको दर भने बढ्दै गएको हो ।

नेपाल सरकारले २०३९ सालमा ढोरपाटन सिकार आरक्षको स्थापना गरी एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफललाई सिकार आरक्षको क्षेत्र तोकेको थियो । त्यसअघिनै उक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई व्यवस्थापन नगरी आरक्षले जग्गा ओगट्न नुहँने स्थानीको बुझाई छ । भौगोलिक विकटताका कारण प्रशासनिक सुविधा नभएको र आरक्ष व्यवस्थापन कानुन नहुँदा स्थानीयवासीले मनोमानी ढंगले जग्गा अतिक्रमण गर्दै खेतीपाती गर्दै आएका छन् ।

आरक्षको सबैभन्दा बढी म्याग्दीमा अतिक्रमण भएको कार्यालयले जनाएको छ । बागलुङको अधिकारीचौर, बोबाङ, निसी र बोङ्गादोभान, रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा, कोल र काक्री तथा म्याग्दीको लुलाङखोरिया र गुर्जाखानी लगायतका ३४ स्थानमा अतिक्रमण भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । अतिक्रमित जग्गामा स्थानीयवासीले आलु, स्याउ र अन्य खेतीसमेत गरिरहेका छन् ।

आरक्षले पटक–पटक अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन पहल गरे पनि कानुनी जटिलताका कारण समस्या भएकाले आरक्षको सीमा संरक्षण चुनौतीपूर्ण बन्दै गएको पाइएको हो । विकट क्षेत्रका रूपमा रहेको आरक्ष क्षेत्र वरपरको जग्गामा स्थानीयवासीले अतिक्रमण गरी घर टहरा निर्माण, खेतीपाती गर्ने क्रम बढ्दै गएको पाइएको हो । सिकार आरक्षसम्बन्धी नियमावलीको तर्जुमा एवं कार्यान्वयन नहुँदा आरक्ष व्यवस्थापनमा असहजता उत्पन्न भएको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाई छ । आरक्ष जग्गा अतिक्रमणको समस्या समाधानका लागि पहल भने भइरहेको छ ।

केही घर आरक्ष स्थापना हुनुभन्दा अगावै रहेका कारण सरकारले लालपुर्जा दिलाउनुपर्ने या बस्ती स्थानान्तरण गर्नुपर्ने आरक्ष कार्यालयको भनाई छ । सशस्त्र द्वन्द्वको समयमा आरक्ष कार्यालय विस्थापित भई जिल्ला सदरमुकाम बागलुङ बजारमा सरेपछि स्थानीयवासीले आरक्षको जग्गामा तारबार गरी खेती लगाउन सुरु गरेका थिए, पछि आरक्ष फर्केपछि उक्त जग्गा अतिक्रमण हटाउन नसकिएको हो ।

बागलुङ, पूर्वी रुकुम तथा म्याग्दी गरी तीन जिल्ला समेटिएको आरक्षभित्रका सात ब्लकमध्ये आरक्ष कार्यालय ढोरपाटन, देउराली तथा निसेलढोरमा र गुर्जाघाटमा मात्रै सुरक्षा तैनाथ गरिएको छ । आरक्षको सुरक्षाको जिम्मा पाएको नेपाली सेनाले आरक्षको मुख्यालय, देउराली, निशेल्ढोर र गुर्जाघाट पोष्टमा मात्रै तैनाथ रहेकाले अन्य स्थानमा सेनाको पुहुँच पु¥याउन समेत आवश्यक रहेको आरक्षको भनाई छ । क्रमश सबै ब्लकमा सुरक्षा पोष्ट पु¥याउने गरी गलम्लाई गणको रुपमा लैजाने आरक्षको योजना रहेको छ ।

सिकार आरक्ष कार्यालय रहेको ढोरपाटन क्षेत्रमा आरक्ष स्थापना हुनुअगावैदेखि स्थानीयहरु बसोवास गर्दै आएकाले सरकारले नै उनिहरुलाई बैकल्पिक व्यवस्थापन गर्नुपर्ने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिम बहादुर घर्तीमगरले बताउनुभयो ।

“केही स्थानीयहरुले आरक्षपछि जग्गा भोगचलन गर्दै आएका होलान, तर केही स्थानीयहरुले आरक्ष स्थापना हुनु अगावैदेखि भोगचलन भइरहेकाले भूमि आयोग मार्फत यसलाई टुङ्गाउन आवश्यक छ” अध्यक्ष घर्तीमगरले भन्नुभयो “स्थानीयले भोगचलन गर्दै आएको जग्गा आरक्षले फिर्ता गर्न त्यहाँका स्थानीयहरुलाई अर्को व्यवस्था मिलाउन आवश्यक छ ।”

लालपूर्जा नभए पनि उनीहरुले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाबाट हटाउन उनिहरुको अन्यत्त जग्गा नभए आयोग मार्फत उनिहरुलाई जग्गा व्यवस्थापन मिलाउनु पर्ने स्थानीयको माग छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *