लोकमार्गमा सधैँ हिलो र धुलो : स्थानीय र यात्रुलाई सास्ती

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौदेखि सास्ती खेप्दै आएका छन् । लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्रयाक खुले पनि हालसम्म कालेपत्रे नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु तथा स्थानीय आजित छन् । लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । तर निर्माण कम्पनीले समयमै काम गर्न सकेका छैनन् ।

बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरि दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको ७ वर्ष सम्म कालोपत्रे गर्ने काम नसक्दा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नु परेको छ । उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेवीसंग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो ।

अहिलेसम्म चार पटक म्याद थप गर्दा समेत बल्ल सात किलोमिटर सडक मात्रै कालोपत्रे गरेको छ भने अझै छ किमि सडक कालोपत्रे गर्न बाँकी रहेको छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ ।

बिहुँदेखि घोडाबाँधे सम्मको १२ किलोमिटर सडक कालोपत्रेका लागि २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सुर्य कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको थियो । १२ किलोमिटर सडक मध्ये हालसम्म उपल्लो खण्डमा ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएपनि पाँच पटक म्याद थप्दा समेत छ किलोमिटर सडक कालोपत्रे गर्न अझै बाँकी रहेको छ । उक्त सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तिय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । सडक समयमै कालोपत्रे नहुँदा वर्षौँदेखि आफूहरुले हिलो र धुलो खान बाध्य भएको स्थानीय केदार कँडेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “धेरै वर्ष भयो यो बाटो कालोपत्रे गर्छौँ भन्न थालेको तर अहिले पनि केही परिवर्तन हुनै सकेको छैन, विहान खाना खान लाग्यो, खानामै धुलो पर्छ, अहिले त सडकभरी मान्छे डुबाउने धुलो छ, बर्खामा हिलो पनि उस्तै हुन्छ, हामीहरु त आजित भयौँ, घर नजिकै सडक छ, घर उठाएर पर सार्न पनि नमिल्ने, नयाँ घर बनाउने हाम्रो अवस्था छैन, हामी सानो हुँदा यो सडकको हालत यस्तै थियो, अहिले हामी ४०÷४२ वर्षमा लाग्दा पनि यस्तै छ ।”

सवारी चालक मिनबहादुर विकले यो सडकमा गाडी चलान थालेको १७ वर्ष भएको भन्दै डिकको दुरावस्थाका कारण अहिलेसम्म लाखौँको पार्टपुर्जा फेर्नु परेको बताउनुभयो । बागलुङ बजार नजिकै भए पनि सडक अप्ठ्यारो हुँदा बिहुँबाट बजार झर्न झण्डै दुई घण्टा लाग्ने विकको भनाइ छ । यो सडक भएर दैनिक दजर्नौँ यातायताका साधानमा सयौँ यात्रुले यात्रा गर्ने भन्दै धुलोले गर्दा धेरै बिरामी पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

“यसको वैकल्पिक बाटो छैन, यही सडकमा हिड्नु पर्छ, म दैनिक दुई पटक ओहोरदोहोर गर्छ, यात्रुले निकै गुनासो गर्छन्, धेरैले वान्ता पनि गर्छन्, यो सडक अप्ठ्यारो छ भन्ने सबै नेतालाई थाहा छ, तर काम गर्दैनन्” विकले भन्नुभयो – “बर्खामा हिलोले गाडीनै डुब्ला जस्तो हुन्छ, हिउँदमा धुलोले गाडी देखिदैन, दिउसै लाइट बाल्नु पर्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *