अमेरिकी सपनाले उजाड गाउँ र खतरा

सम्पादकीय

दशैंको अन्तिम संघारमा एउटा खबर भाइरल बन्यो । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँको विदेश सपना, बाध्यताले बस्ती रित्तिएको खबरले पुरै देश तरंगित बनयो । बाकी गाउँमा १३ घरधुरी छन् । गाउँका दुई बाहेक सबैघरबाट गैरकानुनी बाटो भएर कोही न कोही अमेरिका छिरेका छन् । नगएकाहरु पनि ढिलो चाँडो छिर्ने आशामा छन् । यहाँ पुग्दा र देख्दा यस्तो लाग्छ कि सिंगो गाउँ नै अमेरिका हिड्ने तरखरमा छ । यो उदेकलाग्दो परिदृश्य र खबर रुकुम बाकी गाउँको मात्र होइन, सिंगो नेपाल र नेपालीकै बदलिँदै गरेको यथार्थ तस्बिर देखाउने खबर हो । जुन खबरबाट तीन तहको सरकार अझै बेखबर जस्ता छन् । तर, अवस्था निकै दयनीय बन्दै गइरहेको छ ।

स्थानीयको भनाइमा यस क्षेत्रबाट ६ सय जति अमेरिका छिरे, ६ सय बाटोमै छन्, अरु थुप्रै तयारीमा छन् । अवैध बाटोबाट एक करोड बढी खर्च गरेर अमेरिका पुगिरहेका छन्, पुग्ने क्रम जारी नै छ । गाउँमा अहिले तन्नेरी देख्नै मुश्किल छ । यो दुर्गम गाउँमा ‘अमेरिकी सपनाको लहर’ कसरी छि¥यो ? र अहिले कसरी गाउँ रित्तिँदै गएको छ ? सुन्दा र देख्दा निकै उदेक लाग्दो अवस्था छ । हालको पश्चिम रुकुमस्थित मग्मा गाविसका गाउँहरुबाट सबैभन्दा धेरै व्यक्ति अमेरिका गएका छन् । हाल यी गाउँहरु बाफिकोट गाउँपालिका वडा नं. ६, ७ र आठविसकोट नगरपालिको वडा नं. १० मा गाभिएका छन् । मग्मा गाविसका स्याला, बाकी, मग्मा, डाब, गोडेकाडा, नदुवा, घारीखोला गाउँमा गरेर ५ सय ३८ घरधुरी छन् । यीमध्ये कति घरबाट कति जना अमेरिका गएका छन् भन्ने यकिन तथ्यांक छैन । यद्यपी, स्थानीय जनप्रतिनिधिका अनुसार, यी गाउँहरुबाट मात्रै ३ सय भन्दा बढी व्यक्ति अमेरिका छिरेका छन् । बाकी गाउँ मात्रै होइन, यो सँगै जोडिएको स्याला गाउँको हालत पनि उस्तै छ । करिब १०० बढी घरधुरी रहेकोमा ८० प्रतिशत घरबाट अमेरिका गएका छन् । रुकुम पश्चिमको तत्कालीन मग्मा गाविसका गाउँमा पनि अमेरिका नगएको प्रायः कुनै घर छैन । युवा गाउँमा भेटिँदैनन् । बचेका केही पनि अमेरिका जाने तर्खरमा छन् । स्थानीयका भनाइमा अझ धेरै जसो अमेरिका जान हिँडेर बाटोमै छन् । सामान्य खेती किसानी गर्ने परिवारले समेत करिब एक करोड खर्च गरेर सन्तान अमेरिका पठाइरहेका छन् ।

यो वैदेशिक रोजगारको बदलिँदो तर निकै कहाली लाग्दो तस्बिरले रेमिट्यान्स सपनामा रमाउनेहरुका लागि त खुसी नै मिल्ला । असली देशप्रेमी नागरिकको मनमा भने निकै चोट पुग्ने निश्चित छ । अहिले जे भइरहेको छ, यही अवस्था अमेरिका, युरोपका देशहरुमा कायम रहिरह्यो भने नेपालको अवस्था उदेक लाग्दो अवस्थामा पुग्ने निश्चित प्रायः छ । खेती गर्न पर्याप्त जमिन समेत नभएका दुर्गम गाउँका अभिभावकहरु आफ्ना सन्तान अमेरिका पठाउन करोड बढी खर्चिन तयार छन् । यसको स्रोत के हो र यो जुटाउन कसरी सम्भव छ ? अनि, गैर कानुनी बाटोबाट दलालहरुले के कसरी लगिरहेका छन् ? अमेरिकी सपनाले चर्को ऋण, ब्याज र व्यवहारले कति ठगिएका छन्, कति थलिएका छन् ? यसमा नेपाल सरकार र अमेरिकी सरकार बेखबर छ त ? निश्चय पनि यी र यस्ता अनगिन्ती प्रश्न र संशयहरुको जरुर जवाफ खोज्ने मात्र होइन, सरकारले यसलाई रोक्ने र स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न पनि यथोचित पहल र कदम चाल्न नितान्त जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *