घुम्ने संस्कृति बढेपछि चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य

डम्मर बुढा मगर, बागलुङ
तीन वर्ष अगाडिसम्म पर्यटकीय संभावना बोकेका थुप्रै ठाउँहरु आझेलमा थिए । काभिड–१९ का कारण धेरै नागरिक प्रभावित बने । जसका कारण घर भित्रै गुम्सिएर बस्न बाध्य भए । जब कोभिड संक्रमण सकियो, त्यसपछि झण्डै दुई वर्ष घर भित्रै गुम्सिएर बसेका नागरिकहरु नयाँ–नयाँ ठाउँमा पुग्ने र रमाउने गर्ने थाले । त्यसले गर्दा ओझेलमा रहेका गन्तव्यहरुको पहिचान हुन थाल्यो र चर्चामा आउन थाले । पछिल्लो समय बागलुङमा धेरै नयाँ पर्यटकीय ठाउँहरु चर्चामा आउन थालेका छन् । पहिलेनै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको संख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूर दराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनि नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

नयाँ पहिचान भएका पर्यटकीय क्षेत्र मध्ये केहीमा मोटरबाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटोबाटो समेत बनेका छैनन् । यद्यपी आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना ढोरपाटनको जलजला लगायतका ठाउँहरु पछिल्लो समय चर्चामा आउन थालेका छन् । यि पर्यटकीय ठाउँ मध्ये अधिकांशमा अहिले पनि पूर्वाधारहरु बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले ठूलो संभावना बोकेको छ, तर प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाई गर्दा सोच अनुसार पर्यटक भित्राउन सकेको छैन ।

तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्राउने गरेको छ । ढोरपाटन सिकार आरक्ष बाहेक अन्य ठाउँमा विदेशी पर्यटक आउको खास्सै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिम, कालिगण्डकी कोरिडोरले चिन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन सिजनको सुरुवातमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

पहिलेको तुलनामा पछिल्लो घमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँहरु चर्चामा आउन थालेको उहाँको भनाइ छ । केही वर्ष अगाडिसम्म पर्यटकीय संभावना बोकेका ठाउँहरुमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँहरु चर्चित बन्दै गएको उहाँको भनाई छ । नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचारप्रसार पर्यटक भित्राउनका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने अध्यक्ष खड्का बताउनुहुन्छ ।

“अहिले धेरै जासो मान्छेहरु एकैछिन फुर्सदमा भयो भने कतै न कतै घुम्न निस्कन्छ, घुम्न गएको बेला उसले राम्रो दृश्य र ठाउँ देख्यो भने फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट्याउँछ, उसले पोस्ट गरेका दृश्यहरु अरुले देख्छन् र त्यस ठाउँमा पुग्छन्” अध्यक्ष खड्काले भन्नुभयो – “सामाजिक संजालले पनि धेरै ओझेलमा रहेका ठाउँहरुलाई बाहिर ल्याउन मद्दत गरेको छ, बागलुङमा धेरै त्यस्ता ठाउँहरु छन्, जसले धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सक्छन् ।”

बजार नजिकै भए पनि भिरलाकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटकहरु पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमश्रृङ्खलाहरु एकै पटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उहाँले बताउनुभयो । धेरैजासो पदयात्रा मार्फत भिरलाँकुरी पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

आचार्यले भन्नुभयो – “यो ठाउँ पहिला सुनसान थियो, स्थानीयले घाँस काट्ने ठाउँ थियो, तर अहिले हरेक दिन मान्छेहरु आउन थालेपछि चहलपहल बढेको छ, यस्तो ठाउँ पर्यटकीय गन्तव्य होला भन्ने कसैले पनि सोचेका थिएनौँ, अहिले ‘ट्रेकिङ’ गर्नेहरुको लागि यो ठाउँ उपयुक्त बनेको छ, बिदाको दिन अझ बढी पर्यटक आउने गरेका छन् ।”

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उत्यकाको पूर्व पट्टी पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय विरबहादुर घर्तीले बताउनुभयो । पहिले–पहिले पनि जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उहाँको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटरबाटोले थप सहज बनाएको उहाँले बताउनुभयो । खाने र बस्ने सुविधाका लागि होटल तथा रेष्टुरेण्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताउनुहुन्छ ।

“धेरै पर्यटकहरु ढोरबराह मन्दिर र खापाथरसम्म आएर मात्रै फर्किन्थे, तर अहिले त टाढा–टाढा पुग्ने गरेका छन्, पर्यटकहरु आउन थालेसँगै होटल व्यवसाय पनि राम्रो हुँदै गएको छ, पहिले जनैपूर्णमाका बेला मात्रै पर्यटक ढोरपाटन आउँथे, तर अहिले बाह्रै महिना आउने गरेका छन्” उहाँले भन्नुभयो – “जलजला पुग्न समस्या छैन, सडक बनेको छ, ठाउँ ठाउँमा गोठहरु छन्, वरपर जंगल र डाँडाकाँडाले पर्यटकलाई आकर्षित गरेको छ, बर्खामा यहाँ थुप्रै गोठहरु बस्ने गर्छन् ।”

चर्चित भएर पनि ओझेलमा
बागलुङका धेरै चर्चित गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण हुन नहुँदा ओझेलमा परेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने गाजाको दह, सहस्रधारा झरना, अर्नाकोट, बराह ताल, बुद्ध हिल लगायतका दर्जन बढी ठाउँमा निकै कम पर्यटक पुग्ने गरेका छन् । त्यहाँसम्म पुग्ने सडक तथा पैदल मार्ग सहज नहुँदा पर्यटक कम जाने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्का बताउनुहुन्छ । मुख्य सडकमै पर्ने गाजाको दहसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण र अप्ठ्यारो हुँदा ओझेलमा परेको उहाँ बताउनुहुन्छ ।

स्थानीय तुलबहादुर थापाले बागलुङ बजारदेखि करिब दुई घण्टाको गाडीको यात्रामा पुग्न सकिने गाजाको दह निकै सुन्दर भए पनि पर्यटक कम आएको बताउनुभयो । पर्यटकले सहजता बढी खोज्ने हुँदा गाजाको दह ओझेलमा परेको उहाँ बताउनुहुन्छ । पहिले कहिलेकाहीँ पैदल यात्रा मार्फत विदेशी पर्यटक पुग्ने गरे पनि अहिले सुनसान जस्तै रहेको थापाको भनाइ छ । पर्यटक भित्राउनका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी रहोको उहाँले बताउनुभयो ।

थापा भन्नुहुन्छ – “नयाँ ठाउँ चर्चामा आउन थालेपछि पर्यटक त्यतै जान थाले, केही वर्ष अगाडिसम्म यहाँ आन्तरिक पर्यटकको भिडनै लाग्ने गथ्र्यो, तर अहिले बाटो अप्ठ्यारो हुँदा पर्यटक आउन छोडे, जहाँ सुविधा छ, सजिलै पुग्न सकिन्छ, पर्यटक त्यतै जान्छन्, यहाँ ठाउँ सुन्दर छ, तर आउन जानका लागि सहज छैन, त्यसले गर्दा पर्यटक आगमनमा कमी आएको छ, अरु ठाउँमा धेरै पर्यटक पुगेको देखिन्छ, हामीहरु पनि घुम्न पुग्छौँ, तर यहाँ कम मात्रै आउँछन् ।”

तमानखोलाको बराह ताल जिल्लाकै उच्च स्थानमा हरेको छ । यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा पर्यटक कम मात्रामा जाने गरेका छन् । पर्यटकको सहजताका लागि तमानखोला गाउँपालिकाले यस वर्ष मोटरबाटो निर्माण गरेको छ । मोटरबाटोको स्तरोन्नती गरेपछि मात्रै तालमा पर्यटक पुग्ने अपेक्षा लिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *