सम्पादकीय
नेपाल आन्तरिक राजनीतिक अस्थिरता र बेथितिबाट त आक्रान्त छ नै, उस्तै अनेकन विपद्बाट समेत पटक पटक गुज्रिरहेको छ । कहिले महाभूकम्प, कहिले कोरोना, कहिले डेँगु त कहिले आर्थिक मन्दी जस्ता समस्या र विपद्बाट नेपाल, नेपाली ग्रसित बनिरहेका छन् । २०७२ सालमा आएको महाभूकम्पले नेपाललाई कैयन वर्ष पछि धकेल्यो । त्यसबेला गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको ७ दशमलब ८ रेक्टर स्केलको महाभूकम्पमा नौ हजार भन्दा बढीको ज्यान गएको थियो । महाभुकम्पको भयग्रस्त समय व्यतित भएको ८ वर्ष पछि नेपाल र नेपालीले फेरी उस्तै नियति भोग्नु परेको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा ठुलो संख्यामा जनधनको क्षति भएको छ ।
भूकम्पमा परेर जाजरकोटमा र रुकुम पश्चिमका १ सय ४३ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको त कुनै हिसाब किताब गर्ने अवस्था नै तत्काल छैन । यद्यपि उद्धार कार्य र क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ । जसमा स्थानीय तहहरुले संकलन गरेको विवरणमा अझ केही बढी संख्यामा क्षति भएको देखिएको छ । विपद्मा घाइतेको संख्या १ सय ६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना छन् । तीन तहको सरकार, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय नागरिक, बिभिन्न जिल्लाबाट पुगेका राजनीतिक दलका कार्यकर्ता, सामाजिक अभियन्ता, स्वंयमसेवकहरुले उद्धारमा सघाइरहेका छन् । उद्धारकै बीच पनि पटक पटक भूकम्पका पराकम्पहरु आइरहेका छन् । भूकम्पविद् वैज्ञानिकहरुले अहिलेको भन्दा अझ ठुलो भूकम्पको खतरा रहेको औल्याइरहेका छन् । पश्चिम नेपालमा लामो समयदेखि ठुलो भूकम्प नगएका कारण महाभूकम्पको ठुलो जोखिम रहेको कुरालाई बेवास्ता गर्न हुँदैन भन्ने पाठ अहिलेको विपद्ले नै बताइसकेको छ ।
विपद् बाजा बजाएर आउँदैन । यो शास्वत सत्यबाट कोही पनि नागरिक बेखबर छैनन् । तर, जानेर बुझेर पनि पूर्ववत संरचना, सर्तकता नअपाउदा मानवीय लापरबाहीकै कारण ठुलो संख्या र मात्रामा जनधनको क्षति भइरहेको छ । सन् १५०५ मा ठूलो भुइँचालो गएको थियो । त्यसपछिको ५०० वर्षपछिसम्म गोरखा र पश्चिम काँगडाको बीचमा ठूलो भुइँचालो गएको छैन । त्यसबीचमा ठूलो भुइँचालो १९९० सालको हो । २०७२ सालको पनि ९० सालजतिको होइन । अहिलेको मध्यम खालको भूकम्पले त यतिको ठुलो क्षति पु¥याइरहेको छ भने त्यो भन्दा अझ ठुलो म्याग्निच्युडको महाभूकम्प आउँदा नेपाल र नेपालीको हालत के होला ? त्यसैले कुनै पनि बेला अझै ठूलो भुइँचालो जान सक्छ भनेर हामीले तयारी गर्नुपर्छ । तत्कालका लागि भने भूकम्प प्रभावित नागरिकको उद्धार, उपचार र पुर्नस्थापनामै नै ध्यान केन्द्रित गर्नुपर्छ । यसमा जस र सस्तो लोकप्रियताको होडबाजीमा भन्दा पनि नितान्त मानवीय नाताले हरेक नागरिकले आआफ्नो तबरबाट जे जकिन्छ, त्यो हैसियता र अनुकुलता अनुसारको सहयोग र भूमिका निर्वाह गर्नुपर्छ ।