नेपाली क्रिकेटरले दिलाएको खुसी

सम्पादकीय
कुनै बेला क्रिकेटलाई नेपालमा मुर्खले खेल्ने र महामुर्खले हेर्ने खेलका रुपमा टिप्पणी गरिन्थ्यो । यो खेल खेल्ने र हेर्नेलाई उस्तै खिस्सीट्युरी गरिन्थ्यो । तर, अहिले समय, परिवेश र अवस्था बदलिएको छ । नेपालका शहर बजारमा मात्रै होइन, मुलुकका कुना कन्दरा समेत क्रिकेट खेलको क्रेज उल्लेख्य बढेको छ । यस्तो क्रेज बढ्नुमा नेपाली राष्ट्रिय क्रिकेट टिमले पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्राप्त गरेको सफलता हो । ओडिआइ स्टाटस कायम राख्नेदेखि टि ट्वान्टी विश्वकपको छनोट सम्म आइपुग्दा खेलाडीहरुले अभुतपूर्व खेल कौशल प्रदर्शन गरेका छन् । क्रिकेटमा विश्वव्यापी रुपमा उदाएका भारत, पाकिस्तानसँग समेत नेपालले आफ्नो उच्च स्तरको खेल प्रदर्शन समेत गरेको छ । सीमित स्रोत साधनका बाबजुद पनि प्राप्त सफलताको चौतर्फी प्रशंसा भइरहेको छ । राजनीतिक अस्थिरता, आर्थिक मन्दी, भूकम्प लगायतका कारण सर्वत्र निराशा र चिन्ता छाइरहेको बेला नेपाली क्रिकेटले उल्लेख्य खुसी र उत्साहको सञ्चार गरेको छ ।

नेपालमै यसपटक भएको टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालको प्रदर्शन हेर्न लायक रह्यो । भलै नेपाल टी–२० विश्वकप एसिया छनोट हुन सफल परे पनि अन्तिम फाइनल र खेलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । पहिलो फाइनल खेल बराबरीमा टुंगिए पछि सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालको सुपर ओभरको प्रदर्शन भने बिर्सनलायक रह्यो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।

नेपाली क्रिकेट टीम यतिबेला निकै चुस्त र सशक्त बनेको छ । जुन निरन्तर भइरहेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देखिएको छ । कुनै एक दुई खेलाडी आउट भए पनि जुनसुकै परिस्थितिमा टीमलाई लयमा राख्ने र चुनौतीको सामना गर्ने अवस्थामा छ । जबकि नेपालमा अहिले सम्म क्रिकेटमा टी २० विश्वकप खेलाउने एउटा पनि रंगशाला छैन । तर, नेपालले २०१३ पछि दोस्रो पटक दक्षिण एसियाबाट छनोट हुने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । छिमेकी भारत लगायतका देशमा क्रिकेट खेल र खेलाडीको भविष्य उज्ववल रहे पनि नेपालमा अझै खेलाडीको भविष्य अनिश्चयको भूमरीमै छ । राज्यले पनि यसमा यथेष्ट लगानी र ध्यान केन्द्रित गर्न सकिरहेको छैन भने क्यान लगायतले पनि ठोस कदम चाल्न सकिरहेको छैन । सरकार र निजी स्तरबाट क्रिकेट खेलमा ऐतिहासिक जित हासिल गरे पश्चात थुप्रै पुरस्कार घोषणा गरिन्छ । तर, त्यस इतर नीतिगत रुपमा, योजना, कार्यक्रमका हिसाबमा सरकार चुकिरहेको छ । अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभावी बनिरहेको क्रिकेट खेल र खेलाडीको विकास र भविष्यका लागि राज्य र क्यानको यथोचित ध्यान जान जरुरी छ । अहिलेका लागि टी २० एसिया क्रिकेट छनोट प्रतियोगितामा बिजयी र क्वालीफाइड हुन सफल ओमन र नेपाल दुवैलाई हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *