अ(सामाजिक) सञ्जाल र चुनौती

सम्पादकीय
पछिल्लो समय प्रविधिको विकास तिब्र छ । हरेकजसो मानिसका हात हातमा हैसियत अनुसारका मोवाइल छन् । सिंगो विश्वमा कहाँ के भइरहेको छ ? क्षणभरमै त्यही मोवाइलमै डिजिटल दुनियाँको खबर प्राप्त हुन्छ । आम सञ्चारका माध्यममै सूचना सञ्चारका लागि निर्भर हुनुपर्ने पुरानो बाध्यता अहिले छैन । सामाजिक सञ्जालका बिभिन्न माध्यम फेसबुक, इन्स्टा, ट्वीटर, टिकटक, युट्युव लगायतका माध्यमबाट तत्काल अपडेट हुने अवसर छ । फलस्वरुप मिडियालाई समेत सामाजिक सञ्जालले कम प्रभावी अर्थात् ओझेलमा पार्ने चूनौतीपूर्ण अवस्था पैदा भइरहेको छ । सामाजिक सञ्जालहरुको विकास र प्रयोगले सहजता मात्रै होइन, समाजमा थुप्रै बिसंगति बेथितिहरु पनि देखा परिरहेको छ ।

पछिल्लो एक अध्ययन बिश्लेषण अनुसार टिकटक सिंगो मुलुककै लागि सुरक्षा चुनौतीको रुपमा देखा परेको छ । यस मार्फत घृणा फैलाउने र सद्भाव बिगार्ने पोस्टहरु अहिले छरपष्ट देखिन्छ । सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटकमा कुनै लगाम नभएकाले चुनौती बन्दै गएको सरकारी निकायको बिश्लेषण छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले कानुनी कारबाहीलाई तीव्रता दिन थालेको छ । गृह मन्त्रालयले शुक्रबार टिकटकका प्रतिनिधिलाई समेत बोलाएर यसबारेमा छलफल गरेको छ । अमर्यादित पोस्टहरू तत्काल हटाउने र त्यसमा संलग्नलाई कानुनी कारबाही गरिने विषय जायज र अपरिहार्य पनि छ । सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्तिको चरित्र हत्या गर्ने, शान्तिसुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले यसमा कडाइ आवश्यक छ ।

हुन त हरेक चिजको राम्रो र नराम्रो दुवै पक्ष हुन्छन् । पछिल्लो समय लोकप्रिय बनिरहेको सामाजिक सञ्जालको उपयोगसँगै दुरुपयोग पनि बढ्दो छ । सामाजिक सञ्जालका बिभिन्न माध्यम मार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, बिना आधार विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील तथा अराजक खालका गतिविधि तथा सामग्रीले थुप्रै मानसिक तथा सामाजिक समस्याहरु सिर्जना गरेको छ । यसको समयमै यथोचित व्यवस्थापन, समाधान नगर्ने हो भने भोलिका दिनमा अझ गम्भिर समस्याहरु आउने निश्चित छ । तसर्थ, सामाजिक सञ्जालमा सर्वसाधारण अभ्यस्त हुँदै गए पनि नेपालमा यसलाई नियमन गर्ने कानुन बनाउन र बढ्दो बेथिति नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न जरुरी छ । जसले सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने, नियोजित रूपमा गलत सूचना फैलाउने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि रोकियोस् । जबरजस्त मानिसहरुको बिचमा चर्चा परिचर्चा बटुल्ने, पैसा कमाउनैका लागि जे पनि गर्ने हर्कत सभ्य समाजका लागि लज्जाको विषय हो । सरकारले यसमा नीतिगत सहित आवश्यक पहल चाल्नमा कत्ति पनि ढिलाइ नगरोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *