भूकम्प प्रभावितलाई सहयोगका लागि जिल्ला सहकारी संघ बागलुङको आव्हान

आदर्श अनलाइन, बागलुङ

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई सहयोगका लागि जिल्लामा क्रियाशिल सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई आव्हान गरेको छ ।

संघको मंगलवार सम्पन्न वैठकले भूकम्प पीडितलाई सहयोग गर्नका लागि संघ सम्बद्ध सबै सहकारी संघ सस्थाहरु र सहकारीकर्मीहरुलाई आव्हान गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको वैठकले भूकम्पका कारण जाजरकोट र रुकुममा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ ।

संघले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

भूकम्प पीडितहरुलाई सहयोग गर्न इच्छुक सहकारी संघ संस्था र सहकारीकर्मीहरुले जिल्ला सहकारी संघसंग समन्वय गरेर सहयोग गर्न आव्हान गरिएको संघका सचिव तेज प्रसाद शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघले देशभरका सहकारीहरुको तर्फबाट भूकम्प पीडितको राहत तथा पुनस्थापनामा सहकारीहरुको तर्फबाट सहयोग र समन्वयका लागि आव्हान गरेको छ ।

शुक्रवार राती जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको छ ।

यसैबीच जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभा आगामी पुस १३ गते गर्ने निर्णय गरिएको संघका सञ्चालक खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *