मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड


–एसके गौतम, गलकोट

बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा निर्माणधीन खूला मूर्तिकला कार्यशाला अवलोकनका लागि आन्तरिक पर्यटकहरुको भीडनै लागेको छ । २०७३ सालमा स्थापना भएको गलकोट कला प्रतिष्ठानले टेउवामा निर्माण थालिएको खुला संग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलकोनका लागि दैनिक एक हजार देखि एक हजार ५०० आन्तरिक पर्यटकहरु आउन थालेका हुन् । यही फागुन ५ गतेदेखि टेउवामा शुरु अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला जारी रहेकै समयमा आन्तरिक पर्यटकहरु अवलोकनका लागि पर्यटकहरु दैनिक रुपमा बढ्दै जान थालेको हो ।

१० विदेशी र ५ नेपाली सहित १५ मूर्तिकार सहभागी रहेको कार्यशालामा मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेपछि निर्माण भएका मूर्ति हेर्नका लागि विभिन्न विद्यालय, संघ संस्था, पत्रकार कर्मचारी तथा विदेशी पर्यटकहरु समेत आइरहेको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी दिनुभयो ।

‘नेपालमै निकै फरक तथा अनौठो किसिमको काम भएकाले मानिसहरु हेर्नका लागि उत्साहित भएर आएको पाइयो’रानाले भन्नुभयो ‘अवलोकनका लागि आएका आन्तरिक पर्यटक, विद्यार्थीहरुको भीडका कारण मूर्ति निर्माण स्थलमा शान्तपूर्वक अवलोकन गराउन प्रहरीनै परिचालन गर्नुपरेको छ ।’

मूर्तिकला कार्यशालाको अवलोकनका लागि आउने विद्यार्थी तथा पर्यटकहरुको भीड बढ्दै गएपछि लाइनमा राखेर दृश्याअवलोकन गराउने गरेको नेपाल प्रहरीका हवल्दार यदुनाथ पन्तले जानकारी दिनुभयो । कार्यशालामा मूर्तिकारहरुले भावना, संस्कार, संस्कृति, संर्घष, प्रकृति, पानी र जीवन झल्काउने कलात्मक मूर्ति तयार पारिरहेको कार्यशालाको संयोजक तथा मूर्तिकार ओम खत्रीले बताउनुभयो । मूर्तिकला कार्यशाला अवलोकनका लागि ४० जना शिक्षक तथा विद्यार्थी लिएर टेउवामा आएको गलकोट नगरपालिका–६ भुजुङ्गे आधारभूत विद्यालयका प्रधानध्यापक इन्द्रनाथ गौतमले जानकारी दिनुभयो ।

मूर्तिकारले निर्माण गरेका मूर्तिहरु जून दृष्किोणबाट हे¥यो त्यस्तै देखिएको भन्दै तस्विले विभिन्न भावनात्मक कुरा समेटेको अवलोकनकर्ता गौतमको भनाई रहेको छ । कार्यशाला शूरु भएपछि भारत तथा नेपालका विभिन्न जिल्लाबाट झण्डै ६ हजार पर्यटकहरुले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । अवलोकनका लागि पर्यटकहरु आउन थालेपछि पर्यटकहरुको रेर्कड राख्न समेत शुरु गरिएको छ ।

कार्यशालामा जापानबाट जुन इचिरो सुगीमोतो, चीनबाट लिउ याङ्ग, इटालीबाट बिटिनो फ्रान्सेनी, फ्रान्सबाट जिवियर्स गोँजालेज, ताइवाट लिन लि जेन, क्यानडाबाट जुली ग्ल्यास्पी, भारतबाट टुटु पटानायक, इजरायलबाट तान्या प्रिमिङ्गर, ब्राजिलबाट जर्जलुइज र युक्रेनबाट मूर्तिकार ल्युड्मेलले कार्यशालामा मूर्ति तयार पारिरहेका छन् । केहीले मूर्ति तयार पारिसकेको र केही कलाकारहरुले मुर्ति निर्माणको अन्तिम चरणमा पुगेका छन् । कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले मूर्ति निर्माण गरिरहेको कला प्रतिष्ठानका सचिव सुनमाया ढकालले जानकरी दिनुभयो ।

स्थानीयले नीर्माणधीन खुला संग्रहालयका लागि २३ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएको कला प्रतिष्ठानका कोषाध्यक्ष याम बहादुर श्रीसले जानकारी दिनुभयो । खुला संग्रहालयको २०७४ सालमा रु.१२ करोड बराबरको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गरी काम थालिएको थियो । कोषाध्यक्ष श्रीसका अनुसार आगमी असार सम्म झण्डै रु.तीन करोड खर्च भइसक्ने गरी निर्माण भइरहेको छ । कार्यशाला यही फागुन २१ गते समापन हुँदै छ । कार्यशालामा निर्माण गरिएको १७ वटा भन्दा बढी मुर्तिहरु खुला संग्रहालयमा प्रतिष्ठापन गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *