पोखरामा सहकारी बैंकको ऋण व्यवस्थापन तालिम

आदर्श अनलाइन, पोखरा

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा गण्डकी प्रदेश अन्तरगतका सहकारीकर्मीहरुका लागि एक दिने ऋण व्यवस्थापन तालिम बिहीवार सम्पन्न भएको छ ।

सहकारी संघ संस्थाबाट सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने प्रक्रियाहरु, असुलीका लागि बनाइने योजनाहरुका साथै ऋणलाई खराव हुन नदिन तथा खराव ऋणीहरुबाट ऋण असुलीका लागि अपनाउनु पर्ने कानुनी प्रावधान लगायतका विषयमा तालिममा सहजीकरण गरिएको थियो ।

पछिल्लो समय केही सहकारीहरुले गरेको गलत क्रियाकलापका कारण आम सहकारीहरुलाई प्रभावित बनाएको र वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा ऋणको भाखा नाघेर खराव ऋण बढ्दै जाने, ऋणी सदस्यहरुले ऋण भुक्तान गर्न आनाकानी गर्ने, ऋण असुलीका लागि अपनाउनु पर्ने कानुनी प्रक्रिया नपुगेका कारण संस्थाको ऋण असुलीमा समस्या सिर्जना हुने जस्ता समस्या देखिएकाले ऋण व्यवस्थापन तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिमको शुभारम्भ गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पछिल्लो समय सदस्यहरुलाई ऋण लगानी गरेका केही संस्थाहरुमा ऋण असुली समयमा नभएका कारण तरलता व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।

ऋण असुलीका लागि सहकारी ऐनमा व्यवस्था भएका कर्जा असुली न्यायाधिकरण र कर्जा सूचना केन्द्र छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सकेमा असुली प्रक्रिया सहज हुने भएकाले यसको कार्यान्वयनका लागि सबैको दवाव आवश्यक रहेको जिसीको भनाइ थियो ।

बैंकका लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्र कुमारी पराजुलीले सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सुरक्षित ऋण लगानी आवश्यक रहेको बताउनुभयो ।

तालिममा कुमारी बैंकका पूर्व अधिकृत सञ्जिव सैँजुले सहजीकरण गर्नु भएको थियो । उहाँले जोखिम नहुने तरिकाले ऋण लगानी गर्न सकियो भने संस्था सञ्चालनमा सहजता आउने भएकाले कर्मचारीहरुले ऋण लगानीका कानुनी प्रक्रिया लगायत सहज रुपमा असुली गर्न सक्ने संभावनालाई समेत ख्याल गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

तालिमका सहभागीहरुका तर्फबाट प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङका प्रवन्धक मुना शर्माले ऋण लगानी र असुली प्रक्रियालाई थप प्रभावकारी बनाउन तालिम सहयोगी हुने धारणा व्यक्त गर्नु भयो ।

तालिममा कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका ३० वटा सहकारी संस्थाका प्रबन्धक तथा ऋणसंग सम्बन्धित सञ्चालक र कर्मचारीको सहभागिता रहेको बैंकका गण्डकी प्रदेश शाखा प्रमुख नरेश पाण्डेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *