उत्पादक सहकारीलाई सरकारले संरक्षण गर्नु पर्छ : जि.सी.

आदर्श अनलाइन, बागलुङ
नमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ६ बिहुको २२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै जिसीले दुग्ध उत्पादक सहकारीहरुले गाउँको उत्पादन बजार पठाएर बजारको पैसा गाउँ भित्र्याउन सफल भएको बताउनुभयो ।

पशुपालन लगायत उत्पादनका क्षेत्रमा युवा पुस्ताको आकर्षण छैन, दुग्ध लगायत उत्पादक सहकारीहरुले गर्दै आएको कामलाई संरक्षण गर्नका लागि स्थानीयदेखि केन्द्र सरकारसम्मको सहयोग आवश्यक रहेको छ, जिसीले भन्नुभयो, उत्पादन लागत बढी भएकाले पशुपालन व्यवसायमा कमी आउन थालेकोले सरकारको सहयोग आवश्यक छ ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले कृषकहरुलाई दुग्ध उत्पादन पेशामा टिकाई राख्नका लागि चुनौती थपिदै गएको भन्दै राज्यको सहयोग आवश्यक रहेको बताउनुभयो ।

काठेखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बृहस्पती कंडेलले उत्पादक सहकारीहरुसंग सहकार्य गरेर वडाका गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संस्थाले गत आर्थिक वर्षको कारोबारबाट २५ लाख १५ हजार रुपैया शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको छ । दुग्ध सहकारीका सदस्यहरुले आफुले बिक्री गरेको दुधको मूल्य तत्काल पाउने र दुधको कारोबारका आधारमा वितरण गरिने संरक्षित पूँजि फिर्ता कोषको रकम वितरण गरिएको अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिनुभयो ।

सबै भन्दा बढी कारोबार गर्ने शेयर सदस्य भीमलाल कंडेलले पुरस्कार ३ हजार र बोनस १ लाख ३९ हजार १ सय ४६ रुपैया प्राप्त गर्नु भएको थियो ।

यस्तै थानेश्वर कंडेलले ३६ हजार ७ सय १२, राम प्रसाद कंडेलले ३९ हजार ५ सय १, झगराज कंडेलले ३८ हजार ३ सय २ रुपैया बोनस प्राप्त गर्नु भएको छ ।

संस्थाले गत आर्थिक वर्षमा १ करोड २६ लाख ६६ हजार ७ सय ३९ रुपैयाको दुध विक्री गरी ९९ लाख १३ हजार रुपैया आम्दानी गर्न सफल भएको छ ।

संस्थाका शेयर सदस्यहरु बालानन्द कंडेल र सुरेश कंडेलले दुग्ध व्यवसायलाई राम्रोसंग सञ्चालन गर्न सक्दा आम्दानी पनि राम्रै हुने बताउनुभयो । उहाहरुले कृषि र पशुपालन क्षेत्रमा चुनौती थपिदै गएको भन्दै सरोकारवालाहरुले सहयोग गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षता, उपाध्यक्ष पहलमान थापाको स्वागत र सचिव नारायणदत्त कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाले बालानन्द कंडेलको अध्यक्षतामा नया सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा पहलमान थापा, सचिवमा गुरुप्रसाद कंडेल, सहसचिवमा जुना चपाई, कोषाध्यक्षमा टंक प्रसाद कंडेल तथा सदस्यहरुमा कान्तालाल जैसी, तुलसी कंडेल, पार्वती कंडेल र राम प्रसाद कंडेल रहनु भएको छ ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा अगन्धर कंडेल तथा सदस्यहरुमा चिन्तामणी कंडेल र माया कंडेल चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *