तिहार पर्वको महिमा

सरोजराज पन्त

प्रकृतिको विभिन्न सिर्जना मध्ये मानव जीवन सर्वोत्कृष्ट नमुना हो । मानव भएर यस धर्तीमा पाइला टेकिसकेपछि विभिन्न अवस्थाहरु पार गर्नु पर्दछ । यही सन्दर्भमा हामीले विभिन्न पर्व मनाइन्छ । हिन्दु धर्मावलम्बीहरुका विभिन्न पर्वहरुमध्ये तिहार दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । सिंगो नेपाली मानव सभ्यताकै संस्कृति समेटेको तिहार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट शुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथि भाइटीकासम्म पाँच दिन मनाइन्छ ।

तिहार पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेका पाँच दिनलाई यमपञ्चक भनिन्छ । पौराणिक मान्यता अनुसार तिहारलाई प्रकृतिको पूजा गर्ने पर्व भनिन्छ । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत पर्वतको पुजा गर्नु तिहारका विशेषताहरु हुन ।

हिन्दु धर्मावलम्वीले दीपावली पर्वलाई नेपालमा धुमधामसँग मनाइन्छ । यसलाई दीपावली वा दिवालीमा भगवान् धनवन्तरीको जन्म भएकोले धनवन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारमा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्ने र त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने जन विश्वास र मान्यता रहेको छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु, गोवर्धन र भाइ पुजा गर्ने गरिन्छ । तिहारलाई रंग, फूलमाला, उज्यालो र पूजाआजाको पर्वमा हो । यस पर्वमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै मिष्ठान्न भोजन खाई हर्षोउल्लासका साथ रमाइलो गरि पर्व मनाउने गरिन्छ ।

काग तिहार
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यमपन्चकको पहिलो दिन तिहारमा कागको पूजा गर्दा फूल, अक्षताले आकाश तिर छर्किदै पुज्दै ((ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा । वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम् ।’ भन्ने मन्त्रले कागलाई बोलाएर मिष्ठान्न भोजन खुवाउने शास्त्रीय परम्परा रहेको छ । तर अहिले कागका लागि भात, रोटि मिठाईं तथा विभिन्न परिकार थाल वा दुना वा टपरीमा घर आँगन वा छतमा वा बाहिर राखिदिएर पूजा गर्ने चलन छ । यसैदिन साँझ यमराजको नाममा घरको चोक आगन आदि स्थानमा बत्ती बाल्ने चलन रहेको छ ।

कागलाई किन पुजा गरिन्छ भन्ने मान्यतामा, यो अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी भएकोले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिन्छ, यमराजको सन्देश सुनाउने यमदूतको काम गर्दछ । अझै पनि गाउँघरमा काग कराएपछि ‘सुबोल बोल, ठाउँ सारी सारी बस्, शुभ समाचार दे’ भनिन्छ । यसरी काग कराएर दक्षिणतर्फ उडे हानि, पश्चिममा उडे दुःख, पूर्वमा उडे लाभ र उत्तरमा उडे कीर्ति फैलिने खालको समाचार आउँछ वा रहेछ भन्ने विश्वास गर्ने गरिन्थ्यो । कुनै प्राकृतिक विपत्ति आउने बेलामा कागले अनौठो व्यवहार देखाउने र अनौठो आवाज निकाल्ने काम गदर्छ । घरबाट फालिएका र गाउँ–सहरमा थुप्रिएका फोहोर सफा गरेर वातावरणीय स्वच्छतामा सघाउ पु¥याउन कागले मद्दत गर्दछ । जंगलमा हिंस्रक जनावर देख्दा कागले आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको पूर्वसंकेत दिन्छ । हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित रहेका छन् ।

कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यस पर्वको धार्मिक एवं सामाजिक मान्यता रहँदै आएका छन । ’द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ ।’ मन्त्र पढ्दै पूजा गर्ने गरिन्छ । कुकुर तिहारको पूजामा लागि फूल, अक्षता, माला तथा मिष्ठान्न भोजनले घरमा पालेका कुकुर तथा कुकुर नपाल्नेहरूले बाहिरका कुकुरको पूजा गरी टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा ख्वाउने प्रचलन रहेको छ ।

यही दिन नरक चतुर्दशी पर्दछ । कुकुरलाई यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अति प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ । कुकुरले घरको रेखदेख तथा चोर, डाँकाबाट बचाउने कार्य गर्दछ । यसरी सुरक्षाका दृष्टिले हितकारी कुकुरलाई पूजा गर्नुको साँस्कृतिक महत्व रहेको छ । कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना दिने काम गर्दछ । सिकारी युगको समयदेखिनै मानिसले कुकुरलाई प्रयोगरी सिकार गर्ने गरिन्थ्यो ।

गाई तिहार र लक्ष्मी पूजा
तिहारको तेस्रो दिन कार्तिक कृष्ण अमावश्या अर्थात् औंसीको हो । यस दिनलाई गाई तिहार पनि भनिन्छ । गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत छर्केर आफ्ना घर, कोठा पवित्र बनाउने परम्परागत संस्कार रहेको छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर भव्य पुजाआजा गरिन्छ । प्रार्थना गर्दा “लक्ष्मीर्या लोकपालानां धेनुरूपेण संस्थिता घृतं वहति यज्ञार्थे मम पापं व्यपोहत” मन्त्र पढी पुजाआजा गर्ने गरिन्छ । त्यस्तै कुकुरलाई खान कुरा दिँदा,“सुरभिर्वैष्णवी माता नित्यं विष्णुपदेस्थिता । गोग्रासं च मया दत्तं त्वं गृहाणानुकम्पया” भन्ने मन्त्रको प्रयोग गर्ने शास्त्रीय मान्यता रहेको छ ।

यसैगरी गाईलाई पशुधनका रूपमा लिइन्छ । गाईको गोबरलाई मानिसले ‘एन्टिसेप्टिक’ का रूपमा प्रयोग गरिन्छ । गाईले सूर्यबाट आउने विभिन्न हानिकारक विकिरणलाई सोस्ने काम गर्दछ । यसले वायुमण्डललाई स्वच्छ बनाउन मद्दत पु¥याउँछ । गाईको गोबरबाट गोबर ग्याँस एक प्रमुख जैविक इन्धन भएकोले हिन्दुले गाईलाई लक्ष्मी र गौमाताका रूपमा लिने गरिन्छ । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दको प्रतीकात्मक अर्थले गाईलाई पुकारिन्छ ।

लक्ष्मीमातालाई धन्यधान्यकी देवी एवं ऐश्वर्यको प्रतीकका रुपमा मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अँध्यारो रात मानिन्छ । गाईलाई लक्ष्मीको प्रतिक मानेर बेलुका लक्ष्मीपूजा गर्ने गरिन्छ । यसदिन लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जौ तिल, दही, पञ्चामृत, वस्त्र, सेलरोटी, शृंगारका सामग्री, नरिवल, लावा, बिमिरो, धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातो माटो,गाईको गोबर प्रयोग गरिन्छ । सेलरोटी र बिभिन्न रोटी, फलफुल लक्ष्मीलाई प्रसादका रूपमा चढाइन्छ । अन्धकार रातलाई उज्यालो प्रकाशले आलोकित पार्ने र घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गर्ने गरिन्छ । यहि दिन महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मोत्सव मनाईन्छ ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेर कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको, यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुना कहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वास स्वरुप खुसी मनाउँदै दीपावली गर्ने प्रचलन बसेको किम्बदत्ति रहेको छ । सुख, सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको भव्य रूपमा पूजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार, गर गहना, सुन पैसा आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा रही आएको छ ।

लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइने यस पर्वलाई यमपञ्चकको एक भागको रुपमा लिइन्छ । हरेक वर्ष चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । दीपावलीमा तमसोमा ज्योतिर्गमयू अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख, सन्तोष प्रदान गर्नु भन्ने रहेको हुन्छ । यी दिनमा पहिले चेलीबेटीहरू वा स्त्री कुमारीहरूर हाल महिला, पुरुष मिलेर घरघरै गई देउसी, भैलो खेलेर रमाइलो गर्ने चलन रहि रहेको छ ।

गोरु तिहार गोवर्धन पूजा
गोरु तिहार वा गोवर्धन पूजा तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस दिन गोरुको पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि तयार गरी फूलको माला लगाई मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ । गोरु र हलोले खेत जोती अन्न फलाएर कृषिको बिकासमा र मानिसको जीवनमा क्रान्ति ल्याइदिन्छ ।

यस दिन हिन्दु ु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्ने गरिन्छ । गोबर्धन पर्वतको पूजा गर्दा “गोवद्र्धन धराधार गोकुलत्राणकारक । कृष्णबाहुकृतच्छाय गवां कोटिप्रदो भव” भन्ने मन्त्र र बलिराजाको प्रार्थाना गर्दा “बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित । इन्द्रशत्रोडमराराते विष्णुसान्निध्यदो भव” भन्ने मन्त्र पढ्नुपर्ने विधान छ ।

पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको पर्वत भएकोले कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे भनिन्छ । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुन्छ भन्ने माग राखेको र सबैजना राजी भएकोले गोवर्धन पर्वतको पूजा गर्न थालिएको विश्वास गरिदैं आएको पाइन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टी गराएको र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर गोकुलवासीहरूलाई सुरक्षा गरेका थिए । अन्त्यमा आफ्नो हार मानी गल्तिको लागि कृष्ण समक्ष क्षमा मागेको किम्बदन्ति रहेको छ ।

नेवार समुदायले यहि दिन आफ्नो शरीरलाई पुजा गरी म्हपुजा मनाउने गर्दछन् । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको पाइन्छ । परिवारमा मुलीले परिवारका सबै सदस्यहरुको म्ह अर्थात शरिरको पुजा गरी हाँस वा कुखुराको फुल सगुन अर्पण गरि यो पर्व मनाइन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले ईस्वी सम्वत् ८८० मा काठमाडौंका जनतालाई ऋणमुक्त गराई नेपाल संवत् चलाइएका नेपाल थिए । शंखधर साख्वाको सम्झनामा खुसियाली साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने र विभिन्न कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।

यस पर्वमा पहिलेदेखि देउसी मित्रता, एकता, सदभावका लागि भैलो खेल्ने गरिदै आएकोमा पछिल्लो समय तिहार आउन केही दिन पल्लिैदेखि देउसी खेली व्यापक तिहार मनाउने गरिन्छ । तथापि परम्परागत देउसी हराउदै जादैछ भने त्यसमा आधुनिकता मिसिएको पाइन्छ । विकुति बढदैं गएको देखिन्छ ।

भाइतिहार वा भाइ टीका
यमपन्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइतिहार वा भाइ टीका पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई, भाइले दिदीलाई र दाजुले बहिनीलाई माया, मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान्न भोजन खुवाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ ।

परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक मान्यता अनुरुप यो पर्व मनाइन्छ । “धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करै साद्र्धं सूर्यपुत्र नमोस्तुते” भन्ने मन्त्र पढेर यमराजको प्रार्थना गर्ने गरिन्छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गरी आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गर्ने गरिन्छ । विगतमा विविध कारणले लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, पुनः मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा यस पर्वलाई लिइन्छ ।

यस दिन पुर्व दिदीबहिनीले दाजुभाइलाई भाइटीकाको निम्ता दिने सम्भव भएसम्म पान सुपारी, फूल आदि दिने चलन रहेको छ । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने विश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । अष्ट चिरञ्जीवीमा यमराज, हनुमान्, विभीषण, परशुराम पर्दछन् ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा मीठा परिकारको प्रयोग गरिन्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने चलन रहेको छ । जल र तेलले ७ घेरा हाली दाजुभाइलाई छेकेर फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाउने, सगुनका रूपमा दही दिने, मखमली, सयपत्री तथा दूबोको मालाको लगाईदिने चलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन, दूबो सधै हरियै रहने भएकोले दाजुभाइको दीर्घायु, चिरञ्जीवी रहने विश्वास गरिन्छ ।

अहिले दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो सात रङ्गका टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा लगाउने गरिन्छ । सप्तरङ्गी टीकाले शान्ति बर्षिन्छ भन्ने विश्वास गरिन्छ ।

दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरी पूजा पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुने र आयु बढाउने विश्वास गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले मिठा परिकार उपहार दिन्छन् भने दाजुभाइले आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गरि भाइटिका पर्व धुमधामसँग मनाउने गरिन्छ ।

समग्रमा तिहारका गतिविधिले हाम्रा संस्कार र सभ्यताको पहिचान दिन्छन् । यो पर्वले सत्यता, मित्रता र असल कार्यका लागि बत्तीजस्तै प्रज्जवलित हुन हामी सबैलाई प्रेरित गर्दछ । यसले आपसी मेलमिलाप, सद्भाव, स्नेह, प्रेम र प्रकृति पूजा गर्न सिकाएको छ । अहिले तिहार मनाउँदै गर्दा यसको मर्म बुझ्न र जीवनमा त्यसको सन्देस तथा महत्वलाई अनुसरण गर्न छाडिएकोले यसतर्फ ध्यान दिन जरुरी छ । मौलिक ढंगले तिहार मनाऔं यहाँहरु सबैलाई तिहारको हार्दिक शुभकामना !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *