नौमती बाजा संरक्षण गर्दै बागलुङ नगरपालिका


खेमराज गौतम, बागलुङ

पछिल्लो समय युवा पुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङमा संरक्षण गर्न थालिएको छ ।

नौमती बाजामा ब्राण्ड बन्दै आएको बागलुङको सिगाना स्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो ।

बागलुङ नगरपालिकाले नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई नौमती बाजाका सामाग्रीहरु सहयोग गरेको छ ।

बागलुङ नगरपालिका–८ सिगाना लामिचौरमा रहेको दलित समुदाय भित्र रहेको नौमती बाजा संरक्षण गर्नका लागि उक्त बाजाहरु सहयोग गरिएको हो ।

पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थाले पछि बागलुङ नगरपालिकाले नगरस्तरीय बजेट मार्फत दुई सहूहलाई नौमती बाजा खरिद गरि वितरण गरेको छ ।

नौमती बाजा संरक्षण गर्नका लागि नगरपालिकाले बिनियोजन गरेको रु. तीन लाख बजेटबाट नौमती बाजा बजाउन सक्रिय दलित समुदायका दुई समूहलाई छुट्टा छुट्टै नौमती बाजाको एक÷एक थान बाजा सामाग्री वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।

“नौमती बाजा खरिद गर्न खर्चिलो हुँदा बाजानै लोप हुने अवस्थामा पुग्यो, त्यहाँका दलित समुदायको आम्दानीको स्रोत समेत बाजा बजाउने सीप नै हो” खड्काले भन्नुभयो “सिगानाको पहिचानको रुपमा रहेको नौमती बाजा यस वर्षदेखि संरक्षण गर्न थालिएको छ, आगामी वर्ष नौमती बाजा तालिम जस्ता प्रर्बद्धनात्मक कार्यक्रम समेत प्रदान गरिने नगरको योजना रहेको छ ।”

बाजा प्राप्त गर्दा संरक्षण र आय आर्जन दुबैमा फाइदा पुग्ने नौमती बाजा बितरण समितिका अध्यक्ष जब्बर बहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार दलित समुदाय भित्र दुई वटा समूहले नौमती बाजा बजाउने गर्दछ । यहाँका कलिला युवाहरुले समेत नौमती बाजा बजाउदै आएका छन् ।

नौमती बाजा संरक्षण हुन नसक्दा आय आर्जनमा समस्या हुन थालेको भन्दै बागलुङ नगरपालिकाले संस्थागत रुपमै नौमती बाजा संरक्षणमा जुटेको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजु कार्कीले बताउनुभयो । यहाँका युवाहरुमा समेत नौमती बाजाको आकर्षण रहेकाले प्रोत्साहनका लागि नौमती बाजा बितरण गरिएको बताउनुभयो । यस अघि नगरपालिकाले बागलुङ नगरपालिका–७ मा समेत दुई समूहलाई नौमती बाजा बितरण गरिसकेको छ ।

दलित समुदायको संस्कृति र परम्परा संग जोडिएको नौमती बाजा प्रति युवा पुस्ताको त्यति चासो नहुँदा मौलीक नौमती बाजा हराउने अवस्थामा पुगेको सन्र्दभमा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड बन्दै जिल्ला भन्दा बारि समेत माग हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *