पुरानै स्वरुपमा फर्किदै गलकोट दरबार


खेमराज गौतम, बागलुङ
बागलुङको ऐतिहासिक गलकोट दरबारले मुहारै फेरिएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबार पुरानै अवस्थामा देखिन थालेको छ । द्वन्द्वकालमा तत्कालिन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण बनेको थियो ।
अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने रङ्गरोगन पछि चिटिक्क बनेको छ ।
दरबारको पुनःनिर्माण सहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत संभार नहुँदा दरबारका झ्याल ढोका विक्रिएका थिए, तर अहिले झ्यालढोका समेत पुरानै शैलीमा फेरिएको छ ।

दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुननिर्माण सहित रिसोर्ट बनाउन थालिएको हो । तत्कालिन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक आकर्षणको केन्द्रको रुपमा विकास भइसकेपछि पर्यटकहरुलाई लक्षित गरी आवासीय सुविधा सहितको रिसोर्टको काम धमाधम चलिरहेको छ ।

दरबारमा रहेको पुरानो घर र गोठलाई मौलिक रुपमा पुननिर्माण गरिएको छ भने तत्कालिन मल्ल राजाले निर्माण गरेको पोखरीको समेत पुनःनिर्माण थालिएको छ । गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको एक सय भन्दा पुरानो गलकोट दरबार घुम्न आउने पर्यटकहरु बढेपछि मल्ल परिवारकै सक्रियतामा दरबारको पुनःनिर्माणसंगै साज सज्जा लगायतको काम धमाधम भइरहेको छ ।

तत्कालिन भरत बम मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेपछि उहाँकै पुस्ताले दरबारको संरक्षण थालिएको हो । दरबार संरक्षण संगै आम्दानीको समेत स्रोत बढाउन दरबारमा रिसोर्टको सुविधा थप गर्न थालेको तत्कालीन राजा भरतबम मल्लका नाती मञ्जेश बम मल्लले बताउनुभयो ।

मञ्जेशबम मल्ल, बिजय बम मल्ल सहित चारजना मिलेर गलकोट दरबार क्षेत्रलाई रिसोर्टमा परिणत गर्न थालिएको हो । बिजय बम मल्लका अनुसार आगमी तीन महिना भित्रै रिसोर्ट सञ्चालनमा ल्याउनेगरी धमाधम संरचनाहरु तयार भइरहेका छन् । दरबारमा फोटो खिच्ने स्थान, रुखमाथी कटेज, झुला, विद्युतीकरण लगायतको समेत काम भइरहेको छ । दरबारमा रहेको बगैचा, पानी पोखरी, कुवा, लगायतका अन्य संरचनाहरुलाई समेत थप आर्कषण बनाउने कार्य भइरहेको छ ।
गलकोट दरबारमा आउने पर्यटकहरुको संख्यामा उलेख्य वृद्धि भएपछि दरबार क्षेत्रको संरक्षण, पुननिर्माण सहित आवसीय सुविधा सहितको रिसोर्ट बनाउन थालिएको गलकोट नगरपालिका–५ हरिचौरका वडा अध्यक्ष तथा दरबार संरक्षणका अगुवा पवन हमालले जानकारी दिनुभयो ।

“द्वन्द्वकालमा मल्ल परिवार विस्थापित भएपछि जीर्ण बनेको थियो, अहिले जीर्ण दरबारलाई मर्मत संभार गरेर चिटिक्क पारेका छौं, हाम्रो मुख्य उदेश्य भनेको आन्तरिक पर्यटक प्रर्बद्धन नैं हो, दरबारलाई संग्रहालयको रुपमा विकास गर्ने, दरबार घुम्न आउने पर्यटकहरुलाई दरबारको ऐतिहासिक विषय बस्तु सहितको सूचना केन्द्र स्थापना गर्ने र दरबारमा आएका पर्यटकहरुले यही खान बस्ने सुविधा मिलाउनका लागि पूर्वाधार थप गरेका हौं” हमालले भन्नुभयो “अन्य दरबार वरपरका अन्य भौतिक संरचनाहरु समेत परम्परागत, ढुङ्गाले छाएर बनाएका छौं ।”

हमालका अनुसार दरबार संरक्षण संगै आन्तरिक पर्यटकहरुबाट आम्दानी गर्ने र दरबारलाई दीर्घकालिन रुपमा पर्यटकीय केन्द्रका रुपमा बनाउन आर्थिक स्रोत समेत आवश्यक पर्ने भएकाले रिसोर्ट समेत निर्माण गर्न थालिएको हो ।

हमालका अनुसार पहिलो चरणमा दरबार मर्मत र अन्य भौतिक संरचनामा ५० लाख खर्च अनुमान गरिएको छ । पर्यटकहरुको आवश्यकता अनुसार पूर्वाधारहरुमा क्रमश लगानी बढाउने सोचमा रहेको हमालको भनाई छ ।

पर्यटन प्रर्बद्धन संगै दरबार परिसरको जग्गामा कृषि गर्ने योजना समेत उक्त युवा समूहमा छ ।

दरबार ९१ वर्ष पुरानो रहेको छ । दरबार परिसरमा नाती मन्जेश बम मल्लले माछापोखरी समेत बनाएर विभिन्न प्रजातीका माछाहरु समेत पाल्दै आउनुभएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधबममल्ल आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वको समयमा हत्या भएको थियो ।

विसं २०५९ वैशाखमा भएको हत्यासंगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गएपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो सममा नाती मन्जेश बम मल्लले दरबारको संरक्षणमा चासो दिएपछि स्थानीयले समेत सघाएका छन् । विसं १९६८ को अन्त्यतिर राजा नारायणबम मल्लको निधन भएपछि भरतबम मल्ल गलकोट राज्यका अन्तिम राजा भएका थिए ।

वि.स.१९८९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाण्डौ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् । दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार झण्डै ५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *