सहकारी, फरार सञ्चालक र संशय

सम्पादकीय
मुलुक यतिबेला आर्थिक मन्दीको चपेटामा छ । यो संकट भोलिका दिनमा अझ थप जटिल हुने संकेत र परिदृश्य देखिदैछ । सरकार पछिल्लो समय बढ्दो संकटको समाधानका लागि भन्दा सत्ता जोगाउने र सीमित स्वार्थको केन्द्रमा सक्रिय छन् । जनताबाट अरबौ रकम संकलन गरेर स्थापित सञ्चालित सहकारी संस्थाहरु धेरै उठिबास लाइसकेका छन् । कैयन सहकारीमा सयौं बचतकर्ताको लगानी र बचत रकम डुबिसकेको छ । दैनिक दुःखजिलो गरेर आर्जन गरेको पैसा ठगी गरेर सञ्चालकहरु फरार अवस्थामा छन् । यसले जनतालाई साहुमहाजनको घर आँगन ढुक्नुपर्ने बाध्यताबाट अन्त्य गर्न उल्लेख्य टेवा दिए पनि अन्ततः सहकारीमा सञ्चालकहरुको मनोमानीका कारण चौतर्फी बदनाम मात्र होइन, जनताले विश्वास र भरोसा गर्न समेत छोड्ने अवस्था पैदा भएको छ ।

बागलुङ सहकारीका कारण अहिले चरम आर्थिक संकट र सकस भोगिरहेको छ । सानो सदरमुकाममा इमेज बचत तथा ऋण सहकारी संस्था र शिवशिखर बहुउद्धेश्यीय सहकारी संस्था एकसाथ डुबेर सञ्चालक फरार भए पछि सयौं बचतकर्ताको करोडौं रकम धरापमा छ । सहकारीमा बचत गरेर ठगिएका बचतकर्ता सहकारी पीडितहरु केही समय यता निरन्तर आन्दोलनमा छन् । सहकारीमा थोरै भए पनि बढी ब्याज आउने आशाले बचत गरेकाहरुको रुवाबासी छ । घरपरिवार, श्रीमान श्रीमतिका बिचमा सम्बन्धमा दरार छ । बचतकर्ताको निद्रा हराएको छ । सरकार यस्तो अवस्थामा पनि ठोस कदम चाल्न सकिरहेका छैन । ठिक यही बेला इमेज सहकारी संस्थाका फरार सूचिमा रहेका सञ्चालक तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली एकाएक फेसबुक मार्फत सम्पर्कमा आएका छन् । उनी यस्तो बेला सम्पर्कमा आएका छन् कि सहकारी पीडितहरुले आफ्नो लगानी उठाउन सोमबार मात्रै भेला गरेर सहकारी पुर्नसञ्चालन गर्ने घोषणा गरिएको थियो । चाडपर्वको शुभकामना सन्देश सहित सार्वजनिक भिडियो सन्देशमा सहकारीका अध्यक्ष देवकुमार नेपालीले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको बताएका छन् । सहकारीमा देखिएको समस्या समाधान गर्न तयार रहेको भन्दै सामाजिक सञ्जाल मार्फत मेयर नेपालीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुवै सहकारीका संस्थापक अध्यक्ष समेत रहेका नेपालीले आफूलाई घरमै आएर हतियार सहित ६ लाख बचत भएका बचतकर्ताले ५ करोडको घर पास गर्न धम्की दिएपछि आफू घर बाहिर हुनु परेको जिकिर गरेका छन् ।

सहकारी सञ्चालनमा मनोमानी गरेर सयांै बचतकर्ता नागरिकलाई ठगी गरेको गम्भिर आरोप पछि फरार सूचिमा नेपाली छन् । उनलाई नेपाल प्रहरीले महिनौ देखि खोजी कार्य जारी रहेको बताए पनि पक्राउ गर्न सकिरहेको छैन । तर, एकाएक सम्पर्कमा आउनुले कतै सरकारी संयन्त्र र सञ्चालक नेपालीको मिलिभगत त छैन भन्ने संशय पैदा गरेको छ । यद्यपि सञ्चालक नेपालीले सहकारी पीडितको बचत फिर्ता गर्ने उद्घोष जे गरेका छन्, त्यो सकरात्मक छ । आफ्नो १८ वटा घर र ४४ कित्ता जग्गा सम्पत्ति रहेको र त्योे बेचेर भए पनि फिर्ता गर्ने प्रतिबद्धता राम्रै कुरा हो । कमसेकम सहकारी पीडितहरुले आफ्नो बचत रकम ढिलै भए पनि फिर्ता पाउने आशा पलाएको छ । नेपाली फेसबुकमा कहाँबाट सन्देश प्रवाह गरिरहेका छन् ? नेपाल प्रहरी किन भेट्न सकिरहेको छैन ? यो प्रश्न र संशयको गहिरो खोज अनुसन्धान अपरिहार्य छ । अब सरकार र सम्बन्धित निकायले यसमा विश्वसनीय वातावरण तयार गरेर सर्वसाधारणको रकम फिर्ता गर्ने सुनिश्चितता गर्नुपर्छ । जसले समग्र सहकारीलाई बदनामी र संकटतर्फ उन्मुख हुनबाट रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *