बागलुङमै परीक्षण र उपचारपछि क्षय रोगीलाई सहज

आदर्श अनलाइन, बागलुङ
बागलुङमा क्षय रोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । बागलुङमा दिनानुदिन बढ्दै गएको क्षयरोगलाई लक्षित गरी एक्सपट एक्सडिआर नामक क्षयरोगको जीवाणु सहितको परिक्षण गर्ने नयाँ उपकरण भित्रिएको हो ।

धौलागिरी अस्पतालमा रहेको क्षय प्रति रोग उपचार केन्द्रमा यसअघि क्षयरोग छ÷छैन मात्रै पत्ता लगाउ उपकरण रहेको थियो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले विश्वमै नयाँ प्रविधि रहेको उक्त एक्सपट एक्सडिआर उपकरण भित्राएको हो । उक्त उपकरण अब धौलागिरी अस्पताल सहित जम्मा देशभरका छ वटा क्षयरोग उपचार केन्द्रमा मात्रै रहेका छन् ।

रु. ४० लाख लागतको उपकरण धौलागिरी अस्पतालमा मंगलबारबाट परिक्षणका लागि जडान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका प्रयोगशाला निरिक्षक इश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो ।

अस्पतालमा सात वर्षदेखि क्षयरोग उपचार केन्द्र रहेपनि औषधी चलाउनका लागि दोस्रो चरणको परिक्षणका लागि खकार काठमाण्डौ पठाउनुपर्ने बाध्यता रहेको थियो । अब बागलुङमा क्षयरोगको पहिलो लाईन र दोस्रो लाईनको परिक्षण सहित उपचार गरिने भएपछि बागलुङ सहित छिमेकी जिल्लाका क्षयरोगीलाई समेत सहज हुने भुषालको भनाई छ ।

“क्षयरोगी र प्रतिरोगी दुबैको परिक्षण र उपचारका लागि उपकरणले सहायता दिनेछ, क्षय प्रतिरोगीको उपचारका लागि खकार परिक्षण कुरियर मार्फत काठमाण्डौ पठाउनुपर्ने बाध्यता थियो, त्यो अन्त्य भएको छ” भुषालले भन्नुभयो “क्षयरोग भए नभएको त पत्ता लगाउने व्यवस्था धौलागिरी अस्पतालमा थियो तर क्षयरोगको अवस्था, जिवाणु र कुन औषधी चलाउने भन्ने विषयमा काठमाण्डौ नै परिक्षणका लागि पठाउनुपर्ने थियो, धौलागिरी अस्पतालमा क्षयरोगको दोस्रो लाईनको परिक्षण भएपछि उपचारमा ठूलो राहत हुन्छ ।”

उक्त उपकरण विश्वकै आधुनिक उपकरण भएको भन्दै क्षयरोग नियन्त्रणमा उपकरणले सहयोग गर्ने छ । धौलागिरी अस्पतालमा यसअघि रहेको क्षयरोग छ÷छैन भनेर पत्ता लगाउने उपकरण भने बागलुङ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य कार्यालय बागलुङ क्षय कुष्ठ निरिक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । अब क्षय रोग भए नभएको परिक्षण गर्ने मात्र उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङमै हुँनेछ ।

घिमिरेका अनुसार उक्त क्षयरोग र क्षयप्रति रोग पत्ता लगाउने उपकरणले बागलुङ सहित म्याग्दी, मुस्ताङ, पर्वत, गुल्मी र रुकुम जिल्लालाई समेत फाइदा पुग्ने बताउनुभयो । काठमाण्डौमा नीजि प्रयोगशालामा उक्त क्षय प्रतिरोग परिक्षण गर्न मात्रै चार हजार ५०० खर्च लाग्ने गरेकोमा राज्यले क्षय रोगीहरुलाई निःशुल्क परिक्षण संगै पोषण भत्ता समेत प्रदान गर्दै आएको घिमिरेको भनाई छ ।

बागलुङ जिल्लामा क्षयरोगीको संख्या ४५ र छ जना क्षय प्रतिरोगी रहेको घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *