रकम भुक्तानी नहुँदा नगर अस्पताल निर्माणमा समस्या

डम्मर बुढा मगर, बागलुङ
बागलुङको ढोरपाटन उपत्यकामा १५ शैयाको अस्पताल बन्न थालेको १५ महिना भयो । यस अवधीमा ४० प्रतिशत काम सम्पन्न भएको छ । अस्पताल निर्माणको काम तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको निर्माण कम्पनीले गुनासो गरेको छ । कामदार लगाउँदा र निर्माण सामग्री खरिद गर्दा करोडौँ खर्च भइसकेको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताउनुभयो । भदौ महिनामै ढोरपाटन नगरपालिकामा ६ करोड ६१ लाखको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न समस्या भएको अदैको भनाइ छ ।

वि.सं. २०८२ असार २३ सम्ममा सकि सक्नु पर्ने अस्पताल भवन करिब आधा सकिदा पनि काम अनुसारको भुक्तानी नभएको गुनासो उहाँले गर्नुभयो । अस्पातलको भवन निर्माणका लागि १२ करोड ९६ लाखमा जिम्मा लिएको अदै बताउनुहुन्छ । काम गर्नुभन्दा पहिले सुरुमा पेश्की रकम दुई करोड ४६ लाख मात्रै आएको उहाँले बताउनुभयो । भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो र अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदैले बताउनुहुन्छ । अहिले काम गरे पनि कामदारलाई पारिश्रमिक दिनसमेत हम्मेहम्मे भएको उहाँको भनाइ छ ।

“भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिए, अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ, हुन त यो योजना केन्द्र सरकारको हो, माथिबाट बजेट नगरपालिकामा आउने र पालिकाले हामीहरुलाई उपलब्ध गराउने हो, हामीहरुले जानकारी गराइ रहेका छौँ तर भुक्तानी हुँदै भएन” अदैले भन्नुभयो – “अझै केही दिन भुक्तानी भएन भने काम रोकिने स्थिती आउँछ, अहिलेसम्म सरसापट गरेर काम गराइ राखेका छौँ, मजदुर लगाइ राखेका छौँ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्वास्थ्य मन्त्रालयबाट बजेट नआउँदा भुक्तानी गराउन नसकेको बताउनुभयो । निर्माण कम्पनीले बारम्बार रकम माग गरि राखेको भन्दै आफूले केन्द्रमा बजेट पठाउन आग्रह गरेको बताउनुभयो । भुक्तानी छिट्टै व्यवस्थापन गर्ने भनि निर्माण कम्पनीलाई निरन्तर काम गर्न अनुरोध गरेको उपप्रमुख कायतले बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “भुक्ताननी नहुँदा काम गर्न समस्या भयो भनेर निर्माण कम्पनीले बारम्बार गुनासो गरि रहेको छ, अस्पातल निर्माणको भुक्तानी स्वास्थ्य मन्त्रालयबाट आउने हो, अहिलेसम्म माथिबाट आएको छैन, नगरपालिकाले यहाँबाट भुक्तानी गर्न मिल्दैन, मन्त्रालयबाट बजेट पठाउनका लागि हामीहरुले आग्रह गरेका छौँ, माथिबाट आउँदा बित्तिकै उहाँहरुलाई भुक्तान गर्छौँ ।”

ढोरपाटनमा अहिलेसम्म अस्पातल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याएर सेवा प्रवाह भइ रहेको छ । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ ।

यहाँ ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वी रुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *