डम्मर बुढा मगर, बागलुङ
वि.सं. २०७१ साल अगाडि बागलुङको पञ्चकोट भिर पहारले भरिएको थियो । यहाँ पर्यटक भित्राउन धार्मिक संरचना बनाउने योजना बनाउँदा कसैले पनि विश्वास गर्दैनथे । तर अहिले यो क्षेत्र गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै धार्मिक संरचना बनेका छन् । जसले वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गरेका छन् । नौ वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले शिलान्यस गर्नु भएको उक्त स्थानमा सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्ति लगायतका संरचना बनि सकेका छन् ।
विभिन्न दाताहरुको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौँको लागनीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तर पट्टी पर्छ । सडकको सहज पहुँचका कारण बागलुङ कालिका दर्शन गर्न आउने अधिकांश तिर्थालु यहाँ आउने गरेको पाइन्छ । पञ्चकोटमा अझै थुप्रै संचरना बनाउने तयारी छ । जसका लागि आर्थिक संकलन गर्न अनन्तश्री ब्राह्माण्डिय महायज्ञ आयोजना गर्ने तयारी थालिएको छ । आगामी फागुन ९ देखि २२ गतेसम्म पञ्चकोटमा महायज्ञ गर्ने सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्को अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो । पञ्चकोट स्थापनाको १० औँ वार्षिकोत्सवको अवसर पाररे महायज्ञको आयोजना गरिएको उहाँको भनाइ छ ।
यो महायज्ञ नेपालकै सबैभन्दा ठूलो र पहिलो महायज्ञ भएको हुँदा यसलाई विशेष महत्वका रुपमा लिइएको अध्यक्ष दाहल बताउनुहुन्छ । दुई सातासम्म संचालन हुने महायज्ञको रुप रेखा तयारी गरि गरि प्रचारप्रसार र व्यवस्थापनको काम थालिएको उहाँको भनाइ छ । यस अवधीमा हरेक दिन फरक–फरक विधाका व्यक्तिहरु उपस्थित हुने छन् । महायज्ञमा ३० फिटको मौलोलाई धानले पुर्ने योजना रहेको छ । उक्त मौलोलाई पुर्नका लागि २१ हजार ५५५ क्विन्टल धान लाग्ने अनुमान गरेको हुँदा धान संकलन अभियानलाई तीव्रता दिइएको अध्यक्ष दाहाल बताउनुहुन्छ ।
महायज्ञमा सवा लाखा नरिवलद्वारा हवालसमेत गरिने भएको छ । महायज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै यस क्षेत्रका निर्माण थालिएका धार्मिक संरचना पूरा गर्नु रहेको उहाँको भनाइ छ । अहिले थुप्रै योजनाहरु पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेको भन्दै महायज्ञपछि धेरै संरचनाहरु बनाउन सकिनेको भनाइ छ ।
“महायज्ञ संचालनको तयारीमा जुटेका छौँ, श्री मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्य ज्यूको सक्रियतामा यो महायज्ञ आयोजना गरिएको हो, यहाँ धेरै संरचना बनाउने योजना छ, खास गरि विश्वशान्ति कलश निर्माण गर्ने लक्ष्य छ,” अध्यक्ष दाहलले भन्नुभयो – “अहिले सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्ले प्रचारप्रसारलाई तीव्रता दिएका छौँ ।”
उहाँले महायज्ञको अवधीमा तीन लाख बढी आन्तिरक तथा बाह्य पर्यटक भित्राउने अनुमान गरेको बताउनुभयो । हरेक दिन १५ हजारले महायज्ञको दर्शन गर्ने अध्यक्ष दाहाल बताउनुहुन्छ । महायज्ञमा आठ वटा हेलिकप्टर आउने हुँदा त्यसका लागि पनि ठाउँ व्यवस्थापन, पाहुनाका लागि आवास व्यवस्थापन लगाएको काम गरि रहेको उहाँ बताउनुहुन्छ ।
हालसम्म पञ्चकोटमा ५० करोड लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताउनुभयो । ०७२ सालमा तत्कालीत प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गर्ने बेला पञ्चकोटमा कुनै पनि संरचना नभएको सुनाउँदै अहिले धार्मिक पर्यटक निम्त्याउने आधारशिला तयार भएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय धर्ममा आस्था राख्नेहरु धेरै नागरिकहरुले पञ्चकोटको दर्शन गर्न आउने गरेको ऋिषि प्रपन्नचार्यले बताउनुभयो ।
श्रीकृष्णागण्डकी, शालग्राम र समग्र मुक्तिक्षेत्रको महिमालाई लोकोत्तर गर्ने, गोवंशको संरक्षण गर्ने र गर्न प्रेरणा प्रदान गर्ने, पञ्चकोटमा जलसम्पदा संरक्षणको प्रतिकस्वरुप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने, नैतिक, शिष्ट, समुन्नत र सच्चरित्रवान् समाजको पुनर्जागरण गर्ने र यज्ञमा शेष रहेको रकम सर्वसिद्धिधाम पञ्चकोट सर्वाङ्गीण विकासमा प्रयोग गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । कलश निर्माणका लागि करिब ५० करोड लाग्ने अनुमान गरेको ऋिषि प्रपन्नचार्यको भनाइ छ ।
उहाँ भन्नुहुन्छ – “पञ्चकोट पवित्रा स्थान हो, यसको संरक्षण, प्रवद्र्धन गर्ने दायित्व हामी सबैको हो, अहिले एउटा धारशिला तयार भएको छ, यसलाई पूर्णता दिनका लागि वर्षेनी महायज्ञ लगाएर, दाताबाट रकम संकलन गरेर काम गरिदै आएको छ, यसपालीको महायज्ञ निकै विशाल महायज्ञ हो, जुन समग्र पञ्चकोट क्षेत्रको विकासका लागि गरिदै छ, महायज्ञले हरेक नागरिकको मनलाई जोड्ने छ, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”