डम्मर बुढा मगर, बागलुङ
बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयले चिया खेती गर्ने योजना बनाए । वनमाराले ढाकिएको पाखोबारी र खेतयोग्य जमिनमा छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका विरुवा लगाइयो । चिया खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भए । परीक्षण पनि सफल भयो । परीक्षण सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चिया खेती विस्तार गरिएको छ । पहिले वनमाराले ढोकेका पाखाबारीहरु चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको संख्या पनि ठूलो छ । झाडीले उराठिलो बनेको पाखो बारी चिया खेतीले ढाकिपछि कृषकसमेत निकै हर्षित भएका छन् ।
अहिले उत्पादनसमेत दिन थालेको छ । परीक्षणका लागि सुरुमा १५ हजार विरुवा लगाएको थियो । चियाको विरुवा राम्रो हुँदै गएपछि स्थानीयले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेका छन् । हाल तिङरिङ र बौर गरि तीन स्थानमा ५६ हजार विरुवा लगाएको उहाँको लगाइएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयको जनश्रमदानबाट चिया खेती विस्तार भएको थियो । गत साउन र भदौ महिनामा किसनाले चिया टिपे र झण्डै तीन लाखको विक्रीसमेत गरे । सुरुवाती चरणमै राम्रो उत्पादन भएपछि किसानामा गाउँमै रोजगार बन्ने र आम्दानी गर्न सकिने आशा पलाएको छ । बजार झर्ने त झरि सके गाउँमा रहेकलाई अब यही बस्न चियाबारीले प्रेरित गर्ने छ । यस ठाउँमा थप एक लाख चियाको विरुवा थप्ने योजना स्थानीयको छ । चियाको बजारमा बढ्दो हुँदा माग अनुसार उत्पादन गर्न सकिएको अवस्था भने छैन ।
यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने अपेक्षा स्थानीयको छ । अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएको उहाँको भनाइ छ । भएको गाउँमा रोजगार सिर्जना गर्न र बसाइँसराइ रोक्नका लागि छ वर्ष अगाडि सुरु गरिएको चिया खेतीले अहिले उत्पादन दिन थालेको काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । यस वर्ष पनि चिया खेतीको क्षेत्र विस्तार उहाँ बताउनुहुन्छ । गाउँको पाखोबारीको उपयोग गरि आयआर्जन माध्यम बनाई गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष लामिछानेको भनाइ छ । चिया खेतीमा करिब दुई घर परिवार आवद्ध रहेको हुँदा आम्दानी सबैले पाउने उहाँ बताउनुहुन्छ । आफूहरुले चिया खेतीबाट वार्षिक ३० लाख आम्दानी गर्ने अनुमान गरेको लामिछानेले बताउनुभयो ।
“चिया खेती गर्न थालेको धेरै वर्ष भएको छैन, तर उत्पादन दिन थालेको छ, गत साउन र भदौमा पहिलो पटक चिया टिपियो, तीन लाख जतिको विक्री पनि गरियो, चिया टिप्ने ‘आइडिया’ बल्ल आउँदैछ, सुरु सुरु भएको हुँदा अल्ली मेसो हुँदो रैनछ, विस्तारै सबै मेसो आउँछ,” अध्यक्ष लामिछानेले भन्नुभयो – “पछिल्लो समय धेरैले गाउँ छोडेर बजार झरिरहेका छन्, गाउँमा भएको खेतीयोग्य जमिन बाँझिन थालेका छन्, युवाहरु विदेश पलायन भइरहेका छ, उनीहरुलाई गाउँमै रोक्नका लागि हामीहरुले रोजगार सिर्जना गर्न चिया खेती थालेका हौँ, अहिले यहाँ धेरै स्थानीयले चासो दिएका छन्, यो वर्ष एक लाख विरुवा थप्छौँ ।”
चिया खेती विस्तारमा साना किसान सहकारी संस्था आवद्ध भएर काम गरि रहेको छ । यो ठाउँ चिया खेतीका विस्तार गर्दा हालसम्म करिब ४२ लाख रुपैयाँ खर्च भइ सकेको साना किसान सहकारी संस्थाका पूर्व अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख विरुवा नर्खरीमा उत्पादन गरि रहेको बताउनुभयो । कार्कीले चिया प्रशोधन गर्नका लागि मेसिन समेत गाउँमा ल्याएको बताउनुभयो ।
उहाँले खुल्ला पाखोबारीमा चियाका विरुवा लगाएको हुँदा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताउनुहुन्छ । यसको संरक्षणका लागि बारबन्देज गर्नु पर्ने देखिएको बताउनुभयो । सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका कृषकहरु चिया खेती तर्फ चासो देखाउन थालेको उहाँ बताउनुहुन्छ । उहाँले यस ठाउँमा हावापानी राम्रो भएको हुँदा अहिले विरुवा सप्रिँदै गएको टिप्न थालिएको बताउनुभयो ।
“विरुवा लिएर लगाउने बेला गाउँमा धेरैले चासो देखाएका थिएनन्, राम्रो हुँदैन होला भन्ने लागेको थियो तर अहिले चिया बारीमा पुग्दा ठूलै बगानमा पुगे जस्तो लाग्छ, सुरुमा विरुवा हुर्काउन केही समस्या भयो, अहिले खास्सै गाह्रो छैन,” उहाँले भन्नुभयो – “अब यहाँबाट आम्दानी हुन थालेको छ, गाउँका सबै स्थानीय जोडिनु भएको छ, यसले गाउँलेलाई एकताबद्ध पनि गरेको छ, अब कुनै पनि बाँझो जमिन खाली नराख्ने भन्ने छ, सबै ठाउँमा चियाका विरुवा रोप्ने योजना छ ।”
समुन्द्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटर सम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने २१ सय मिटरको उचाइमा छन् । कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले रेशमा परीक्षणका लागि खेती गरिएको भन्दै यहाँ सफल हुने संभावना देखिएको बताउनुभयो ।
यहाँ राम्रो उत्पादन हुन थाले जिल्लाका अन्य ठाउँमा पनि चिया खेती विस्तार गर्ने उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्रमार्फत रेशमा चार वर्षसम्म करिब ५० लाख बढी सहयोग गरेको बताउनुभयो । अहिले जिल्लाभर १० हेक्टर बढी क्षेत्रफलमा चिया खेती गरिदै आएको पुन मगर बताउनुहुन्छ ।