कोरोनाबाट आतंकित होइन, संयमित बनौं

सम्पादकीय
कोरोना भाइरस अहिले विश्वव्यापी रुपमा आतंकको पर्यायवाची बनेको छ । चिनबाट शुरु भएको यो भाइरसले भयावह रुप लिइरहेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या विश्वभर तीन हजार नाघेको छ । चीनमा थप ४२ जनाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएपछि कोरोनाकै कारण मृत्यु हुनेको संख्या विश्वभरमा तीन हजार नाघेको हो । मृत्यु हुनेमा ९० प्रतिशत भन्दा बढी चीनको हुबेइ प्रान्तका छन् । हुबेइको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । चीन बाहेक अरु १० देशमा पनि कोरोनाका कारण मानिसको मृत्यु भएको छ । शक्तिशाली देश अमेरिकामा पनि ६ जनाको ज्यान गइसकेको छ । कम्तिमा ५७ देशमा कोरोनाको संक्रमण फैलिएको तथ्यांक सार्वजनिक छ । यस हिसावले यो अझ भयावह रुप लिने दिशा तर्फ उन्मुख भइरहेको प्रष्ट छ ।

कोरोना विश्व आंतकित बनाइरहेका बेला नेपाल चाही जोखिम र पूर्व सजगताका हिसावले कुन अवस्थामा छ ? यो प्रश्न भने अहिले अहम् बनेको छ । चिन बाहेक इरानमा ५० जना भन्दा बढी तथा इटालीमा ३० जना भन्दा बढीको मृत्यु र विश्वभर अहिलेसम्म झण्डै ९० हजार जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा नेपालमा भाग्यवश अहिले सम्म कोरोनाको संक्रमण भेटिएको छैन । चिनबाट फिर्ता ल्याइएर क्वारेन्टाइनमा राखिएका नेपाली बिद्यार्थीहरु पनि नेगेटिभ रिर्पोट आए पछि सरकारलाई धन्यवाद दिदै घर फर्किएका छन् । छिमेकी देशबाट कोरोना शुरु भए पनि यतिका समय सम्म नभित्रनु सुखद बिषय हो । तर, हेक्का राख्नुपर्ने बिषय के छ भने अर्को छिमेकी देश भारतको दिल्लीमा पनि कोरोना संक्रमण देखिएको खबर आएको छ । भारतसँग हाम्रो खुल्ला सिमाना छ । अब चिनबाट मात्र होइन, अझ बढी भारतबाट संक्रमण फैलिने जोखिम हुन सक्छ ।

अहिले चीन बाहिरका देशमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमित भएका मध्ये दुई देखि पाँच प्रतिशत मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । जसले विश्वको भविष्य समेत धरापमा पर्न सक्ने चेतावनी समेत दिएको छ । यस अर्थमा कोरोना खतरानक रोगको रुपमा विश्वलाई नै चुनौतिको रुपमा देखिएको छ । तर, अहिले नेपाल सरकारले विमानस्थल आवागमनदेखि सार्वजनिक मेला, महोत्सवहरुमा पनि क्रमशः सजगता अपनाउन निर्देश गरेको छ । जसका कारण मानिसहरु आतंकित बन्न थालेका छन् । यो बेला हामी सबैले कोरोनाबाट आंतकित बन्ने बनाउने होइन, आम समुदायलाई कोरोनाबाट जोगिन पुर्ववत सजगताका बारेमा संयमित बन्ने र बनाउने तर्फ भुमिका खेल्नुपर्छ । -आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *