कोरोना प्रभाव: बागलुङमा मेला, सार्वजनिक सभा,समारोहमा रोक

आदर्श अनलाइन, बागलुङ

विश्वभर चुनौतिको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लामा सार्वजनिक सभा, समारोह, मेला उत्सव नगर्न आग्रह गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको सरोकारवालासँगको बैठकले जिल्लामा सभा समारोह, भोज भतेर, बार्षिकोत्सव, महोत्सव, महायज्ञ, खेलकूद कार्यक्रमहरु नगर्न आग्रह गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य अवस्थाबारे सचेत रहन, भीडभाड तथा मानिसहरुको अत्यधिक मजघट हुने स्थानमा नजान र व्यक्तिगत रुपमा नियमित सरसफाइमा ध्यान दिन बैठकले आग्रह गरेको छ । यसैगरी, हिन्दुहरुको महत्वपूर्ण पर्व फागुपूर्णिमा होलीमा रंग अबिर लगाउने, पानी छ्याप्ने जस्ता कार्य तथा सांगीतिक साँस्कृतिक कार्यक्रम सञ्चालन गरी भीड जम्मा गर्ने कार्य पनि नगर्न नगराउन, जिल्लाका १० स्थानीय तहबाट अधिक मानिसहरु जमघट हुने गरी ठुला सभा, सम्मेलन, महोत्सव,खेलकुद कार्यक्रम, यज्ञ भोजभतेर आदी कार्यक्रमको सञ्चालन अनुमति दिइसकेका तर सञ्चालन हुन बाँकी रहेका कार्यक्रम समेत सञ्चालन नगर्न नगराउन तथा नयाँ कार्यक्रम सञ्चालन नगर्न समेत अनुरोध गरिएको छ ।

बैठकले सबै स्थानीय तहहरुले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतना अभिवृद्धिका कार्यक्रम गर्न, निरन्तर रुघाखोकी, ज्वरोको संक्रमण देखिएमा तुरुन्त स्थानीय स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गर्न गराउन समेत आग्रह गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिदै गरेको कोरोनाको जोखिमबाट बच्न जिल्लामा उच्च सर्तकता अपनाउने निर्णय गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिनुभयो । ‘कोरोनाको जोखिम र त्रास सर्वत्र बढेको छ, संक्रमण कतै देखिएको छैन, यसको अर्थ हामी केही सगगता अपनाएर नबस्ने भन्ने होइन,’ प्रजिअ शैजुले भन्नुभयो ‘रोग लाग्नु भन्दा अघि रोग लाग्न नदिनु नै उत्तम उपाय हो, कोरोना जस्तो शक्तिशाली देशलाई समेत आततायी बनाएको रोगका बारेमा हामीले बेलैमा सचेतता अपनाउनु पर्दछ, यसै कारण जिल्लामा सबैलाई पूर्व सर्तकता अपनाउन अनुरोध गरेका हौ ।’

गण्डकी प्रदेश कार्यालय स्वास्थ्य कार्यालयले कोरोना संक्रमण फैलिन नदिनका लागि तयारी गर्न फागुन २९ र ३० गते दश वटै पालिका प्रमुखहरुलाई भेला गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिनुभयो ।

नोभेल कोरोना भाईरसबाट बच्नका लागि हात नमिलाउन बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । उहाँले १०४ डिग्री भन्दा बढी ज्वारो आउने, स्वास प्रश्वासमा समस्या भए तथा रुखा खोकी लागेमा कोरोना भाइरल हुन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । उहाँले नियमीत सावुन पानीले हाँत धुने, घर पालुवा पशुपन्छीको सम्र्पकबाट टाढा रहने, हाछ्यु गर्दा मुख छोप्नुपर्ने तथा मासु तथा अण्डा राम्ररी पकाएर मात्र खानुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *