गृहिणीको जीवनशैली बदल्दै गलकोट नगरपालिका

डम्मर बुढा मगर बागलुङ
गलकोट नगरपालिका–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्विटर उद्योगमा भेटिनुहुन्छ । दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सात्रित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरि राख्नु भएको छ । उहाँसँगै नरेठाँटीका सात जना महिलाहरु यही उद्योगमा काम गर्नुहुन्छ । आफ्नै उद्योग संचालनमा आएपछि अहिले उहाँहरु सातै जनाले अरुको काम गर्नु परेको छैन । त्यत्ति मात्रै होइन, उहाँहरुको दैनिकी र जीवनस्तरसमेत बदलिँदै गएको छ । पहिले परिवार चलाउन हम्मेहम्मे हुने उहाँहरुले अहिले कुनै समस्या छैन । सावित्राले पाँच दशक बढीको उमेर चुलोचौको र मेलापातमा बिताउनु भयो ।

पचास नाघेपछि उद्यमी बन्दा उहाँ खुसी हुनुहुन्छ । कुनै सिप नहुँदा आफ्नो जीवनकालमा निकै कष्टकर दिनहरु बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ । तर त्यो दिनलाई कार्कीले विस्तारै भुल्दै जानु भएको छ । उद्योगमा हरेक दिन आफू जस्तै महिलाहरुले काम गर्ने हुँदा दैनिकी सहज बन्दै गएको छ । गलकोट नगरपालिका–२ को वडा कार्यालय नजिकै रहेको स्विटर उद्योगमा केही १८/२० वर्षका युवतीहरु छन् भने कोही पाका महिलाहरु पनि छन् । युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न गलकोट नगरपालिकाले भूमिका खेलेको छ । नगरपालिका आर्थिक वर्ष २०७८/०७९ मा सिपमुलक तालिमसहित उपकरण सहयोग गरेपछि धेरै महिला अहिले उद्यमी बनेका छन् ।

नगरपालिकाले तालिम दिएर सिप सिकाएपछि उद्यमी बनेका महिलाले अब अरुको गुलामी गर्न नपर्ने सुनाउँछन् । सावित्राले परिवार चलाउनका लागि रात दिन अरुको काम गरेको स्मरण गर्दै अहिले आफूलाई अनुकुल समय निकायले काम गरे पनि हुने बताउनुहुन्छ । उहाँले सबैभन्दा ठूलो सिप रहेको भन्दै सिप भएपछि कुनै पनि व्यक्तिले दुःख पाउन नपर्ने बताउनुभयो । नगरपालिकाले आफूहरुका लागि ठूलो अवसर दिएको र अब आयआर्जनसँग जोडिन थालेको कार्कीको भनाइ छ । अहिले आफै मालिक भएर काम गर्दा गौरवको अनुभूति भएको उहाँ बताउनुहुन्छ ।

“पहिले अरुको काम गर्नु पथ्र्यो, अरुको काम गरेर पैसा पाउन निकै गाह्रो हुन्थ्यो, परिवार चलाउनका लागि मेलापात र खेतीपाती गर्नुको विकल्प थिएन, अहिले सिप सिकेपछि दुई÷चार पैसा कमाउन गाह्रो छैन, आफ्नै व्यवसाय छ,” कार्कीले भन्नुभयो – “धेरै मान्छेहरु विदेश विदेशभन्दै जान्छ, यहाँ पनि सिप सिकेर काम गर्ने खोज्ने हो भने राम्रो हुँदो रैछ, सिप सिक्न पर्छ, सिप सिकेपछि अरुको गुलामी गर्नु पर्दैन, आफै मालिक भएर काम गर्न सकिन्छ, हामीहरुले पहिला धेरै समय अरुको काम गर्नु प¥यो, अब यहाँ आफै काम गर्ने आफै कमाउने भएका छौँ ।”

महिलाहरुले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् । अहिले सँघुरो ठाउँमा उद्योग संचालन गर्नु भएका उहाँहरुले यसलाई विस्तार गरि ठूलो बनाउने सोँचमा हुनुहुन्छ । नरेठाँटी होच्यारी महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले नगरपालिकाले दिएको ४५ दिने स्विटर बुन्ने तालिमले आफूहरुको जीवनस्तरनै परिवर्तन गराई दिएको बताउनुभयो । नगरपालिकाले २० जना गृहिणीलाई तालिम दिए पनि सात जना मात्रै उद्योगमा आवद्ध रहेको उहाँको भनाइ छ ।

तालिम पश्चात उद्योगको परीक्षण कालमै रहे पनि व्यवसाय फस्टाउँदै गएको संयोजक खड्काथोकी बताउनुहुन्छ । यहाँ महिला पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, कलबन्दि, टोपी लगायतका सामग्री उत्पादन गर्ने भन्दै बाहिरबाट आउने कपडाभन्दा यहाँ बढी गुणस्तरीय उत्पादन गर्ने र बजारको भन्दा सस्तोमा उपलब्ध गराउन सक्ने उहाँले बताउनुभयो ।

व्यवसाय संचालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै माग अनुसार पु¥याउन नसकेको खड्काथोकीको भनाइ छ । उद्योग संचालनमा अधिकांश लगानी नगरपालिकाले गरेको भन्दै यहाँ आवद्ध महिलाहरुले प्रति व्यक्ति पचास हजार लगानी गरेको उहाँ बताउनुहुन्छ । कच्चा पर्दाथ बुटवल र काठमाडौँबाट ल्याउने हुँदा समस्या नभएको उहाँको भनाइ छ । संयोजक खड्काथोकीले उद्यमले गृहिणीहरुको आर्थिक अवस्थालाई बलियो बनाउन थालेको बताउनुभयो । पहिले अरुको काम गर्दा दिनको पाँच सय कमाउने गरेकोमा अहिले एक हजारदेखि बाह्र सयसम्म आम्दानी गर्ने उहाँ बताउनुहुन्छ ।

खड्काथोकीले भन्नुभयो – “सिप नसिक्दा मैले अरुको काम गर्थेँ, अरुको काम गर्दा पैसा आउने ग्यारेन्टी हुँदैनथ्यो, तर अहिले नगरपालिका सिप सिकाएपछि हामीहरु उद्यमी बन्यौँ, उद्योग राम्रो चलेको छ, यहाँ बाहिरबाट आउने कपडाभन्दा यहाँ बढी गुणस्तरीय उत्पादन गर्छौँ भने सस्तोमा पनि दिन्छौँ, अहिले माग बढी छ, त्यस अनुसारको उत्पादन पु¥याउन सकिएको छैन, उत्पादन गर्ने ठाउँमै आएर किन्ने गरेका छन्, हामीहरुले उद्योगमा कहिले १० देखि ५ बजेसम्म काम गर्ने गर्छौँ भने माग बढी आयो भने अझ बढी समय काम गर्छौँ, निरन्तर समय दिए हामीहरुले मासिक ३०÷३२ हजार कमाउनलाई गाह्रो छैन, अहिले सुरुवाति चरणमा भएर हो, पछि–पछि अझै बढी पनि आम्दानी हुनेछ ।”

सोही ठाउँको सुस्मिता नेपालीले आर्थिक अवस्था कमजोर भएको कारण १० पढ्दा पढ्दै पढाई छोड्नु प¥यो । पढाई छोडेर गाउँमै केही गर्ने लक्ष्य राख्नु भएकी सुस्मिताले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिम लिनुभयो र अहिले अन्य महिलाहरुसँग मिलेर उद्यम सुरु गर्नु भयो । उद्यमले अहिले आफ्नो आर्थिक अवस्था सुधार हुँदै गएको उहाँले बताउनुभयो । नेपालीले दैनिक उद्योगमा आएर ग्राहकले माग गरेका कपडा बुन्ने गरेको सुनाउँदै आफूहरुले उत्पादन गरेका सामग्रीलाई धेरैले रुचाएको बताउनुहुन्छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई स्वरोजगार बनाउने योजना अन्तरगत दुई वर्ष अगाडि तालिम दिएर उद्यमी बनाएको बताउनुभयो । पछिल्लो समय धेरै गृहिणीहरु विदेश पलायन हुन थालेपछि गाउँ रित्तिन थालेको भन्दै उनीहरुलाई गाउँमै रोक्न सिप सिकाएर व्यवसायसँग जोडेको उहाँको भनाइ छ । नगरपालिकाले तालिमसहित करिब सात लाख बराबरको मेसिन सहयोग गरेको भन्दै उद्योगका लागि घर पनि पालिकालेनै व्यवस्थापन गरि दिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

“सुरुमा तालिम लिने दिदीबहिनीहरु धेरै हुनुहुन्थ्यो, तर व्यवसाय गर्न चाहीँ सात जनाले मात्रै थाल्नु भयो, उहाँहरु अहिले आत्मनिर्भर बन्दै जानु भएको छ, सात जनाले भए पनि यहाँ रोजगार पाउनु भएको छ” भण्डारीले भन्नुभयो – “अझै उद्योगमा धेरै कामदारको आवश्यक पर्ने देखिन्छ, विस्तारै यसको स्तरवृद्धि हुँदै गयो भने धेरैले रोजगार पाउने छन्, यहाँ आवद्ध सबैको अवस्था सुधार भएको छ, दैनिकी र जीवनशैली पनि बदलिएको छ, नगरपालिकाले अन्य वडामा पनि सिपमुलक तालिम दिएर महिलालाई व्यवसायसँग जोडेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *