बुट्टेनली जोगाउन पुस्तान्तरणको प्रयास

आदर्श अनलाइन, बागलुङ
बागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । २०० वर्ष पुरानो बुट्टेनली संरक्षण र पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई बुट्टेनलीप्रतिको महत्व जगाउन सिप प्रदान गर्न थालिएको हो ।

निगालोलाई कुँदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा बागलुङको पहिचानसंग जोडिएको बुट्टेनली लोप हुँन थालेपछि यहाँको हस्तकला संघले युवा तथा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालेको छ ।

बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयुर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको बाँसलाई बुट्टेनलीको रूपमा लिइँदै आएको छ ।

बुट्टेनली कुँद्ने कलाकारको समेत बागलुङमा अभाव रहेको छ । पछिल्लो समय बागलुङ बजारका नेवार समुदायको एक जनामा मात्रै उक्त सिप रहेको भन्दै युवापुस्तामा लैजनाका लागि १२ वर्षपछि विद्यार्थीलाई तालिम दिन थालिएको हो ।

निकै खर्चिलो र निगालो बाँसको अभावमा मायाको चिनो स्वरुप प्रदान गर्ने बुट्टेनली हराउन थालेको भन्दै बागलुङ हस्तकला संघले यहाँका २० विद्यार्थीलाई २० दिने बुट्टेनली निर्माण गर्ने तालिम दिन थालिएको संघका अध्यक्ष ज्योती श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार बागलुङमा बुट्टेनली निर्माण गर्न जान्ने एक मात्र बसन्तजंग राजभण्डारीले विद्यार्थीलाई २० दिन सम्म तालिम दिनुहुँनेछ ।

“हस्तकला महासंघको सहयोगमा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने तालिम दिन थालिएको हो, उनिहरुले तालिम पश्चात सिप पुस्तान्तरण हुँने हाम्रो अपेक्षा छ” श्रेष्ठले भन्नुभयो “सिप हस्तान्तरण नुहँदा एक जनाको भरमा बुट्टेनली जगेर्ना हुँदैन, सबैले यो जान्न आवश्यक छ, पछिल्लो समय मायाको चिनोको रुपमा अतिथिलाई बुट्टेनली दिने प्रचलन समेत छ, हाम्रो उद्दश्य भनेको बुट्टेनली जोगानु हो ।”

बुट्टेनली निर्माण तालिममा विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङ, कालीगण्डकी आवसीय माध्यामिक विद्यालय र कालिका कन्या माध्यामिक विद्यालयका २० विद्यार्थीलाई सहभागी गराइएको छ ।

बागलुङ जिल्लाका पहिचान मध्येको एक बुट्टेनली पाल्पाको ढाका टोपी भनेजस्तै भएपनि लोप हुँन थालेपछि १२ वर्षपछि तालिम दिन थालिएको बागलुङ हस्तकला संघका संरक्षण तथा साहित्यकार प्राज्ञ प्रेम छोटाले बताउनुभयो । उहाँले १२ वर्ष अघि बागलुङ उद्योग वाणिज्यसंघ र हस्तकला संघले बुट्टेनली निर्माण गर्ने तालिम दिएको स्मरण गर्दै १२ वर्षपछि पुन बुट्टेनली बनाउने गरी तालिम दिन थालिएको जानकारी दिनुभयो ।

तालिम मार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायीकरण गर्नुपर्ने उहाँको भनाई छ । बागलुङ भित्रिने पाहुँनाले बुट्टेनलीका बारेमा चासो राखेर खदि गर्न खोजेपनि पाइनै छोडेपछि बुट्टेनलीको उत्पादन गर्न तालिम दिन थालिएको हो ।

संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली बागलुङको पहिचानका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा २०० वर्ष पुरानो बुट्टेनली लोपोन्मुख अवस्थामा पुगेको हो ।

बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चा पदार्थको अभावलगायतका कारण बुट्टेनली लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् । बुट्टेनली बनाउने कला कौशल भएका बागलुङ बजारका वसन्तजङ्ग राजभण्डारीले विद्यार्थीलाई बुट्टेनली बनाउन सिकाउन थाल्नुभएको छ ।

अन्य मानिसले बुट्टेनली निर्माण गर्न नजान्दा समस्या भएको भन्दै तालिम दिन थालिएको उहाँको भनाई छ । बागलुङको चिनारीकोे रूपमा आगन्तुक पाहुनाले खोजीखोजी किनेर लैजाने बुट्टेनली निर्माण गर्ने व्यक्तिको अभाव रहेको राजभण्डारीले बताउनुभयो ।

“बुट्टेनली जोगाउन स्थानीय सरकारनै लाग्नु पर्दछ, नत्र बागलुङको पहिचान लोप भएर जान्छ” बुट्टेनली निर्माण गर्ने कलाकार राजभण्डारीले भन्नुभयो “तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नेर बुट्टेनली निर्माण गरी स्थानीय सरकारले बजारीकरणको जिम्मा लिन सकेमा मात्र लोप हुँन थालेको बुट्टेनली जोगाउन सकिन्छ ।”

एउटा बुट्टेनली बनाउन चारदेखि पाँच दिनसम्म समय लाग्ने गरेकाले निकै खर्चिलो समेत रहेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *