जन्मकैदको फैसलाः नवराजलाई न्याय

सम्पादकीय
नेपाली समाज जातिय बिभेदका सवालमा कति अनुदार छ भन्ने घटना र उदाहरण सयौं छन् । कतिमा चरम दुव्र्यवहार, यातना, सामाजिक बहिष्कार गरिएको छ भने कति स्थानमा कथित तल्लो जातका नाममा बर्बरतापूर्ण तबरबाट हत्या समेत गरिएको छ । यही दर्दनाक घटना मध्येको एक थियो रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको नवराज विक हत्या प्रकरण । जहाँ अन्तरजातिय प्रेम सम्बन्ध, ‘बिहेको उत्सव’ एकाएक नरसंहारमा बदलिएको थियो । विक र स्थानीय कथित उपल्लो जातकी युवती बिचको प्रेम सम्बन्धको विषयलाई लिएर युवती पक्षका युवाहरुले नवराज सहित ६ जनाको लखेटी लखेटि कुटपिट गरेर ज्यान लिएका थिए भने अरु १२ जना घाइते भएका थिए ।

भर्खर उदाउँदो सपना र भविष्य देखिरहेका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुग्दा यस्तो घटना भयो, जुन नेपाली समाजमा बिर्सनलायक कालो दिनको रुपमा रह्यो । २०७७ जेठ १० गते सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको शव दुई साता पछि मात्र भेरी नदी किनारमा फेला पारिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । मंगलबार २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ । यसअघि नै धरौटीमा छुटेका ८ जनाले भने सफाइ पाएका छन् । २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर भए पनि तीमध्ये केही व्यक्ति भने अझै फरार छन् । नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २÷२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । दोषीहरुबाट जनही ४० हजार रुपैया भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ ।

जिल्ला अदालतबाट तीन वर्ष अघि नवराज विक सहितका ६ जना युवकले अनाहकमा जे जसरी मृत्युबरण गर्नुप¥यो, त्यसको त कुनै पनि हिसाबले क्षतिपुर्ति हुन सक्दैन । यद्यपि, अहिले जिल्ला अदालतले घटनामा सम्लग्न २३ जनालाई जन्मकैदको जे फैसला सुनाएको छ । यो स्वागतयोग्य छ । अन्ततः न्यायालयले मृतक र तिनका परिवार प्रति न्यायको अनुभूति दिलाएको छ । जातकै कारण, प्रेम सम्बन्धकै कारण अस्वीकार गर्ने, बहिष्कार गर्ने मात्र होइन, बर्बरतापूर्ण हिसाबले ज्यानै लिने घटनामा सम्लग्नलाई जन्मकैदको फैसला सुनाएर समाज र देशमा बिधिको शासन, समानताको पक्षमा सकारात्मक सन्देश प्रवाह भएको छ । यो समाजमा जातकै कारण कोही ठुलो सानो भन्ने कदापि हुँदैन । आज पनि जातकै कारण समाजमा थुप्रै बिभेदका घटना छरपष्ट देखिन्छ । यसलाई पूर्णतः निरुत्साहित गर्न सरकार, सरोकारवाला निकाय, न्यायालय, नागरिक समाज सबैको भूमिका प्रभावकारी हुनुपर्छ । तीन वर्ष अघि जाजरकोटका नवराज विक र उनका साथीहरुले अन्तरजातिय प्रेमकै कारण जे नियति भोग्नुप¥यो, त्यो नियति कुनै पनि नेपालीले भोग्नु नपर्ने सुनिश्चितता सरकारले गर्नुपर्छ । यदि कसैले गरिहालेमा कडा भन्दा कडा कारबाहीको भागिदार हुने ऐन, कानुन निर्माण गरिनु पर्छ । सामाजिक रुपमा पनि हरेक नागरिक जातिय समानताको पक्षमा उभिने चेतना र जागरणलाई व्यापक बनाउनु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *