अहिले देखिएको निराशा : यो देशमा अब केही हुँदैन, कसैले केही गर्न सक्दैनन् भन्ने सोंचमा परिवर्तन गर्नका लागि पनि एमालेको अभियान सहयोगी बन्नु पर्छ र एमालेजनमा एक खालको उत्साह यसले जगाउनु पर्छ ।
राम बहादुर जि.सी.
नेकपा एमालेले यतिबेला पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरेको छ । मंसिर १४ गते बैतडी जिल्लाको झुलालघाटबाट शुरु भएको यो अभियान अन्तरगत आज एमालेको सिंगो नेतृत्व बागलुङ प्रवेश गर्दैछ । सुदुरपश्चिम प्रदेशबाट शुरु भएको अभियान यतिबेला गण्डकी प्रदेशमा छ ।
सिंगो पार्टीलाई तीन हप्ता अभियानमा केन्द्रित गराउने एमालेको पदयात्राले एमालेजनलाई मात्रै परिचालन गराएको छैन, आम जनताको ध्यान आकर्षित गर्न सफल भएको छ । यो अभियानले एमालेलाई कति फाइदा गर्छ ? समयले देखाउला तर पुष्पलाल मध्यपहाडी लोकमार्गलाई यसले ठुलो न्याय गर्ने निश्चित छ ।
बैतडीको झुलालघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ सम्मको यात्राको योजना बनाउने योजनाकारलाई धन्यवाद दिनै पर्छ, मध्यपहाडि लोकमार्ग सुनेका मान्छेहरुलाई अब घुम्न जानका लागि संभव रहेछ भन्ने सन्देश दिनेछ र अबका दिनमा यो बाटोमा यात्राका लागि योजना बनाउनेहरुको संख्या अवश्य पनि बढ्नेछ । आर्थिक मन्दी छ, सबैजनाले यति लामो यात्रा नगर्लान्, तर छोटो छोटो यात्रा गर्नेहरुको संख्या अवस्य पनि बढ्छ ।
यसले समृद्धिको खाका खोल्छ कि खोल्दैन ? त्यो पनि समयको जिम्मामा लगाऔ, मध्य पहाडमा पूर्वदेखि पश्चिमसम्म र पश्चिमदेखि पूर्वसम्म पुग्न सकिन्छ भन्ने जबरजस्त सन्देश यो अभियानले दिँदैछ ।
यो अभियानको अर्को सकारात्मक पक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयंम् पार्टी नेता, कार्यकर्ताका साथ जनताको बिचमा पुगेर साक्षात्कार गरिरहनु भएको छ । ओलीसंगै पार्टीको उच्च नेतृत्व मुल टिममा सहभागी छ भने भूगोलको जिम्मेवारी पाएका नेताहरु आ–आफ्नो भूगोलमा कार्यक्रम सफल पार्न दिनरात नभनी खटिरहेका छन् ।
पार्टी अध्यक्ष स्वयम् जनताका बिचमा जाने, उनीहरुका कुरा सुन्ने, भूुगोलको बारेमा जानकारी लिने कुराले मध्यपहाडको सम्भावनालाई उजागर गर्न अवश्य पनि सहयोग पुग्नेछ । आलोचना गर्नेले अनेक गर्न सक्छन्, तर केपी ओली आफै जनताको घरदैलोमा पुग्ने, त्यो पनि ३ हप्ता लगातार अभियानमा हिँड्ने कुराले नयाँ पुस्तालाई आकर्षित र प्रेरित अवश्य गर्नेछ । ओली नेपालको राजनीतिको पछिल्लो समयका सबैभन्दा बढी चर्चामा रहने, सबै भन्दा बढी मान्छेले आशा र भरोसा गर्ने नेता हुनुहुन्छ । ओली सरिक हुने कार्यक्रममा एमालेका मात्रै होइन, विपक्षी पार्टीका नेता, कार्यकर्ताहरु पनि उहाँका विचार, धारणा सुन्न सहभागी हुन्छन् नै ।
एमालेले पार्टी पंक्तिलाई परिचालनका लागि जुन अभियान सञ्चालन गरेको छ । यस अभियानले एमाले पार्टी, मध्यपहाडी लोकमार्गको भविष्यसंगै निष्क्रिय रहेको पुँजि बजारलाई पनि परिचालन गर्नेछ । एमालेको सिंगो शक्ति आज अभियानमा जुटेको छ । पूँजि परिचालन हुनका लागि मानिसहरु घरबाट बाहिर निस्कन पर्छ, एमालेजनहरु निष्किएका छन्, अब यसको अनुसरण अरु दलहरुले पनि गर्नुपर्छ र यस्तै खालका अभियान सञ्चालन गरेर वित्तीय बजारलाई पनि चलायमान बनाउन जरुरी छ ।
अझ सबै भन्दा महत्वपूर्ण कुरा यतिबेला मानिसहरुमा निराशा बढेको छ । भारतले नाकावन्दी गर्दा तत्कालिन प्रधानमन्त्रीका रुपमा ओलीले एउटा आशा जगाउने काम गर्नु भएको थियो । आम मान्छेमा हाम्रो देशमा पनि देशलाई माया गर्ने, देशवासीलाई आड भरोसा दिने नेता रहेछन् भन्ने अनुभूति दिनु भएको थियो । अहिले देखिएको निराशा ः यो देशमा अब केही हुँदैन, कसैले केही गर्न सक्दैनन् भन्ने सोंचमा परिवर्तन गर्नका लागि पनि एमालेको यो अभियान सहयोगी बन्नु पर्छ र एमालेजनमा एक खालको उत्साह यसले जगाउनु पर्छ । एमालेमा आउने उत्साहले अरु पार्टीका नेता कार्यकर्ता र आम जनतालाई उत्साहित बनाउन सहयोग पुग्नेछ ।
मैले यहाँ चर्चा गर्न खोजेको एमालेको अभियानसंगै केपी ओली र बागलुङको सन्दर्भमा हो । आज केपी ओलीको बसाई बागलुङको पुरानो सदरमुकाम गलकोटमा हुदैछ । केपी ओली र बागलुङको सम्बन्ध त्यति उत्साहजनक रहेको मैले पाएको छैन । हाम्रा राजनीतिक दलहरुमा विभिन्न उपसमूहहरु छन्, एमालेमा पनि त्यो लुकाउन पर्ने अवस्था छैन । एमालेमा गुट ‘ओपन सेक्रेट’ कुरा नै थियो । नवौ महाधिवेशनमा त केपी ओली र माधव नेपालले हाकाहाकी गुट बनाएर चुनावी मैदानमा जानु भएको यथार्थ हाम्रा अगाडि छदैछ ।
०५० साल जेठमा मदन भण्डारीको निधनपछि माधव नेपाल एमालेको महासचिव बन्नुभयो । नेपाललाई महासचिव बनाउन ओलीले नै प्रस्ताव गरेको चर्चा हुने गरेको छ । नेपाल महासचिव भएपछि देशभर नै उहाँलाई धुरी मान्नेहरुकै बाहुल्यता थियो । ०५४ मा बामदेव गौतम र सिपी मैनालीहरुले माले पार्टी गठन गरेपछि ओली, नेपाल र झलनाथ खनाल एमालेका शीर्ष नेताहरु हुनुहुन्थ्यो । यद्यपि, त्यतिबेला पनि तलैसम्म कसलाई धुरी मान्ने भन्ने जवरजस्त धारणा कायम थियो ।
नेपालको राजनीतिको एउटा जबरजस्त मान्यता के हो भने माथिबाट आर्शिवाद नपाए तलबाट उक्लन हम्मे हम्मे पर्छ, यही मान्यताका कारण कार्यकर्ताहरुले एउटा नेतालाई धुरी मान्ने र त्यसै वरिपरी घेरा लगाउने चलन नौलो होइन, एमालेमा पनि यो यथार्थ लुक्दैन । यस्तो अवस्थाका कारण पार्टी नेताहरुको नजरमा पर्न नसक्ने इमान्दार कार्यकर्ताहरु एमाले मात्रै होइन, अरु धेरै पार्टीबाट पनि छेउ पारिएका पनि छन् ।
माधव नेपाल नेतृत्वको एमाले १४ वर्षमा पहिलो पार्टीबाट तेस्रोमा झ¥यो । ०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा एमाले तेस्रो दल, त्यो पनि अत्यन्तै सानो शक्ति बनेपछि नेपालले राजिनामा दिनुभयो र झलनाथ खनाल महासचिव हुनुभयो । त्यसपछि बुटवलमा भएको आठौ महाधिवेशनमा झलनाथ खनाल र केपी ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा भयो । एमालेमा गुटको राजनीति पनि अचम्मको छ, सातौ महाधिवेशनमा ओली र नेपाल फरक लाइनमा हुनुहुन्थ्यो, आठौमा ओलीलाई अध्यक्ष बनाउन नेपाल लाग्नुभयो, नवौमा ओली र नेपालबिच प्रतिस्पर्धा भयो ।
आठौ महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि ओलीले देशव्यापी अभियान थाल्नु भयो र नवौ महाधिवेशनबाट अध्यक्ष हुने दृढ निश्चयका साथ अगाडि बढ्नु भयो । आठौ महाधिवेशनमा बागलुङबाट ओलीलाई सहयोग गर्ने मान्छे सायदै थिए । कसैले भोट दिएको थियो भने पनि मैले ओलीलाई मत दिएको थिए भन्न सक्ने अवस्था बागलुङमा थिएन ।
बागलुङको एमालेमा बामदेव गौतम, माधव नेपाल र झलनाथ खनाललाई धुरी मान्नेहरुको बर्चस्व थियो । बागलुङका एमालेजनहरुमा ओली विरोधी भावनाको विकास गरिएको थियो । ओलीलाई धुरी मान्छु भन्न सक्ने अवस्था नै थिएन । आठौ महाधिवेशनपछि ओलीलाई आगामी महाधिवेशनबाट अध्यक्ष बनाउनु पर्छ भन्ने मानिसहरुको सख्या दिन प्रतिदिन बढ्दै थियो । झलनाथ खनालको नेतृत्वमा पार्टी वैचारिक रुपमा र सांगठानिक रुपमा पनि शसक्त बन्न सकेन । झन लिंग नछुट्टिएको पार्टी भन्ने आरोप लाग्यो ।
बागलुङको छिमेकी जिल्ला पर्वत, म्याग्दीमा ओलीलाई धुरी मान्नेहरु अलि बढी नै थिए, तर बागलुङमा त्यस्तो अवस्था थिएन । बागलुङमा ओलीलाई धुरी मान्ने एकजना कृष्ण पाठक हुनुहुन्थ्यो । माथि ओलीलाई नेता मान्ने पाठकलाई पनि तल अरुसंग नमिली सुखै थिएन । पछि पाठकलाई यूनिटीको मुद्दा लागेर जेलमा पर्नु भयो । त्यसपछि ओलीका लागि बागलुङ सुनसान नै थियो । यद्यपि, केन्द्रतिर पुग्दा ओलीको मान्छे बन्नेहरु थिए भनिन्छ, तर उनीहरु भूगोलमा आउदा ओलीको हुँ भनेर अगाडि आएनन् ।
आठौ महाधिवेशनमा ओली समुहबाट केन्द्रीय सदस्यका उमेदवार गणेश तिमिल्सिनाको प्रस्तावक बसेको भनेर जनकराज पौडेललाई ओली समूहको मान्छे भन्ने गरिएको थियो । यद्यपि, स्वंयम् जनक पौडेलले स्पष्ट रुपमा ओली भनेर कतै बोल्ने गर्नु भएको थिएन । जनक पौडेल नवौ महाधिवेशनमा ओली समुहबाट केन्द्रीय सदस्यमा उमेदवार बन्नुभयो तर पराजित हुनु भयो । मन कुमारी केसी जिसी र गोविन्द नेपाली वैकल्पिक केन्द्रीय सदस्यमा विजयी हुनु भएको थियो ।
बागलुङका नेता कार्यकर्तालाई ओलीका बारेमा गलत पठाइएको रहेछ, गलत सिकाइएको रहेछ । मन नपर्ने नेतालाई गरिने गाली, अपशब्द अझ नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीमा गुटका लागि गरिने सबै शब्द र आरोपहरु ओलीका लागि चल्दा रहेछन् । नवौ महाधिवेशनको समयमा महाधिवेशन प्रतिनिधि बनेका नर बहादुर थापाले आफुहरुलाई ओलीका विरुद्ध गलत तरिकाले प्रशिक्षित गरिएको स्वीकार गर्नु भएको थियो । बामदेवलाई धुरी मान्ने थापाले नवौ महाधिवेशनमा ओलीलाई अध्यक्षमा मत दिनुभयो, ओलीको त निकै विरोध गर्नु हुन्थ्यो तपाईहरु, अहिले अध्यक्ष बनाउन लाग्नु भयो भन्दा उहाँले नेताहरुले ओलीका बारेमा गलत तरिकाले प्रशिक्षित गर्नु भएको रहेछ भन्नु भएको थियो ।
झलनाथ खनाल अध्यक्ष हुनुहुन्थ्यो, माधव नेपालले महाधिवेशनमा ओलीलाई साथ दिए पनि पछि खनालतिर लागेर ओलीलाई पेलेको आरोप ओली पक्षका नेताहरुले लगाउने गर्थे । पार्टीमा आफु पेलिए पछि ओली समुहले मदन भण्डारी फाउण्डेसनमार्फत देशव्यापी अभियान सञ्चालन गरेको थियो । बागलुङका छिमेकी जिल्लाहरुमा ओलीको पकड बढ्दै गएपनि बागलुङमा भने ओली भनेर देखिने मान्छे पनि थिएनन् र थिए भने पनि जिल्लाको अवस्थाका कारण देखिन सक्दैन्थे । ओली समूहले बागलुङमा आफ्नो समूहको नेतृत्व गर्ने व्यक्तिको खोजी गरिरहेको थियो भन्ने कुरा बुझ्न सकिन्थ्यो ।
मेरो पेशा पत्रकारिता अनि सहकारी क्षेत्रमा काम गर्ने र पार्टीको जिम्मेवारीमा नभएकाले पार्टीका आन्तरिक कुरामा मलाई खास चासो थिएन, पार्टी भित्रका गुट उपगुटका बारेमा पनि म त्यति चासो राख्दैन्थे । २०६५ सालको पुसमा म राष्ट्रिय सहकारी बैंकको लेखा समितिको सदस्यमा निर्वाचित भए, मसंगै झापाका गणेश बहादुर बस्नेत सञ्चालक समितिको सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँले मलाई तपाई पार्टीमा कुन समूहको हो, कसलाई नेता मान्नु हुन्छ भनेर पटक पटक भन्नु हुन्थ्यो, मैले म एमालेको कार्यकर्ता हो, पार्टीका नेताहरु सबै मेरा नेताहरु हुन् भन्थे ।
बुटवल महाधिवेशनमा जब ओलीले हार्नु भयो, उहाँले मलाई तपाईको विकास क्षेत्रमा हाम्रो नेतालाई हराउने ? भनेर कुरा सुनाइरहनु हुन्थ्यो । केपी ओलीको तर्कसंगत बोलीबाट म पनि प्रभावित थिए तर म पार्टीको जिम्मेवारीमा नरहेकोले कसैलाई धुरी मान्ने अवस्था थिएन ।
गणेश दाईसंग भेट भयो कि उहाँले मलाई ओलीको बारेमा धेरै पटक धेरै तरिकाले कन्भिन्स गर्न खोज्नु हुन्थ्यो । मलाई गुटसँग सरोकार थिएन, किनकी म पार्टीको कुनै जिम्मेवारीमा थिइन, प्रेस चौतारी र सहकारी विभागको सदस्य थिए, त्यहाँ त्यतिसारै गुटको छाया परेको थिएन । बुटवल महाधिवेशनको करिव ६ महिना पछि होला, काठमाडौंमा हाम्रो वैठक थियो, गणेश दाईले मलाई भोलीका लागि समय मिलाउनु होला, तपाईलाई एउटा महत्वपूर्ण बैठकमा सहभागी गराउछु भन्नुभयो, मैले हस् भने ।
भोलीपल्ट १ बजेतिर बानेश्वरमा आउनु होला भन्नुभयो, म ठिक समयमा गए, बानेश्वरको इन्द्रेणी होटलको एउटा हलमा मलाई लगेर जानु भयो । जहाँ केपी ओलीले प्रशिक्षण दिइरहनु भएको थियो । मदन भण्डारी फाउण्डेशनको ब्यानरमा भएको कार्यक्रममा ओलीको प्रशिक्षण करीब २ घण्टा सुनेपछि म आफ्नो बाटो लागे ।
त्यसपछि पनि भेट हँुदा पटक पटक गणेश दाईले बागलुङमा मदन भण्डारी फाउण्डेसन बनाउन प¥यो, भाइले सक्रिय भएर काम गर्न प¥यो भनेर मलाई कर गर्न थाल्नु भयो । म नेपाल पत्रकार महासंघ बागलुङको उपाध्यक्ष थिए र मलाई जिल्ला अध्यक्ष हुने रहर थियो, रहर मात्र थिएन, जिल्ला अध्यक्ष हुँदा पार्टीको जिम्मेवारी लिनु हँुदैन भन्ने पनि मेरो प्रतिवद्धता थियो । पत्रकार महासंघको अध्यक्ष हुदासम्म मैले पार्टीको कुनै आधिकारीक पदमा बसेर काम गरिन । अध्यक्षको कार्यकाल सकिएपछि केन्द्रीय सहकारी विभागको सदस्यका रुपमा काम गर्दै आएको छु ।
मदन भण्डारी फाउण्डेसन बनाउने विषयमा मैले मेरो टिममा छलफल चलाए । हाम्रो कार्यालयमा यो विषयमा छलफल भइरहन्थ्यो । म, प्रेम लामिछाने, गणेश पौडेल र अञ्जु जिसी बसेर यो विषयमा कुरा गथ्र्यौ । शुरुमा कुल बहादुर विकलाई मैले यो कुरा सुनाए, उहाँ सकारात्मक हुनुभयो, धन बहादुर परियारसंग छलफल गरियो, उहाँ पनि सकारात्मक हुनुभयो । एकदिन हल्लनचोकमा जिल्ला पार्टी अध्यक्ष जनक पौडेलसंग छलफल गरौ भनेर बसियो । जनक पौडेलले गर्न त राम्रै हो अलि विवादित छ, फाउण्डेसन भन्नुभयो, बागलुङको अवस्थाका कारण गाह्रो हुने संकेत उहाँले गर्नु भयो । कुल बहादुरलाई अध्यक्ष बनाउने गरी हामीले बनाएको योजना त्यसपछि सफल हुन सकेन ।
शुरुदेखि नै फाउण्डेसन बनाउने योजनामा रहेका हामी चार जना म, प्रेम, गणेश र अञ्जु यो अभियानमा निरन्तर लाग्यौ । बागलुङ नगरपालिकाका लेखापाल हाल अमेरिका निवासी योगेन्द्रराज पराजुलीले पनि हामीलाई मदन भण्डारी फाउण्डेसन बनाउन निकै सहयोग गर्नु भएको थियो । म कर्मचारी भए नत्र म नै अध्यक्ष बन्थे सम्म उहाँले भन्ने गर्नु हुन्थ्यो । कहिले मेयरसिंह पाइजासँग कहिले याम बहादुर चर्मकारसंग छलफल गरिरह्यौ । तर, फाउण्डेसन बनाउने विषयमा निकास निस्केन । मेहरसिंह पाइजाले अब एमालेको अध्यक्ष केपी ओली हुनुपर्छ भनेर खुल्लै भन्नु हुन्थ्यो, त्यस प्रकारले भन्ने मान्छेहरु बागलुङमा थिएनन् ।
बागलुङ जिल्ला अधिवेशन आयो, हामीले हाम्रो तर्फबाट मन कुमारी केसी जिसीलाई पदाधिकारी बनाउने अभियान थाल्यौ, रामजी प्रसाद शर्माको टिमले श्रीप्रसाद शर्मालाई र ऋषिराम शर्माको टिमले जनक पौडेललाई अध्यक्षमा अगाडि बढाएका थिए । मन केसीलाई उपाध्यक्ष लड्नुस् भन्ने प्रस्ताव आएछ, त्यो प्रस्ताव नबनाउने डिजाइनमा आएको हो भन्ने निष्कर्ष पछि हामीले छलफल गरेर उहाँलाई उपसचिवका रुपमा अगाडि बढाउने गरी प्रचार प्रसार गर्न थाल्यौ ।
श्रीप्रसाद शर्माको टिममा मन कुमारी केसीलाई उपसचिवको उमेदवार बनाउने सहमति बन्यो, श्रीप्रसाद शर्मा अध्यक्ष, सुनिल शेरचन उपाध्यक्ष, गोविन्द नेपाली सचिव र मन केसी उपसचिवको टिम बन्यो । अर्को टिमबाट अध्यक्ष जनक पौडेल, उपाध्यक्ष नर बहादुर थापा, सचिव लिला राना र उपसचिव लाल बहादुर थापा उमेदवार बन्नुभयो । उपाध्यक्ष बाहेक श्रीप्रसाद शर्माको टिमले जित्यो ।
मना केसी उपसचिव भएपछि बल्ल मदन भण्डारी फाउण्डेशन बनाउने अभियानले सार्थकता पायो । मदन भण्डारी फाउण्डेशनमा बस्ने मान्छेहरु धेरै भए तर अध्यक्ष हुने मान्छे अझै पनि पाइएन । फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको एउटा प्रशिक्षण कार्यक्रममा जाने विषयमा छलफल भयो, मना केसीले मलाई नै अध्यक्ष बनाउने योजना बनाउनु भएको रहेछ, अनि मलाई कार्यक्रममा सहभागी हुन प¥यो भन्नुभयो । म त्यो कार्यक्रममा सहभागी भए । त्यो कार्यक्रममा म्याग्दीबाट नवराज शर्मा र पर्वतबाट प्रेम कुमार लामिछाने सहभागी हुनु भएको थियो, झापाका गणेश बस्नेत त मेरो गुरु नै परि हाल्नु भयो ।
हाम्रोबीचमा दैनिकजसो यो विषयमा कुराकानी हुन्थ्यो, मदन भण्डारी फाउण्डेशन बनाउदा यहाँका नेताहरुको आक्रमणको शिकार भइन्छ भन्ने एकखालको त्रास पनि थियो । कोही मानेनन्, म पत्रकार महासंघको अध्यक्ष भइसकेको थिए । मना दिदीले केही फरक पर्दैन भन्दै हुनुहुन्थ्यो, मैले म होइन, प्रेम लामिछानेलाई बनाऔ भन्ने प्रस्ताव गरे । हामीले प्रेम लामिछानेलाई मदन भण्डारी फाउण्डेशनको अध्यक्ष बनायौ । यो विषयमा हामीलाई तत्कालिन पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले सल्लाह सुझाव दिइरहनु भएको थियो ।
मदन भण्डारी फाउण्डेशन बनेपछि त्यो टिममा बसेका साथीहरु, मलाई र मन केसीलाई खेद्ने मान्छेहरु निकै भए । हामी प्रायः एक्ला जस्ता थियौ । युवा संघमा महेश बस्नेत अध्यक्ष हुनुभयो, उहाँ र निरु पाल बागलुङ आउदा युवा संघ बागलुङले स्वागत गरेको भनेर एकजना पदाधिकारीले युवा संघका अध्यक्ष तथा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष प्रेम लामिछानेलाई झपारेको मलाई भर्खर जस्तै लाग्छ ।
बागलुङमा ओलीको नाम लियो कि एमाले भित्र निकै खैलाबैला हुन्थ्यो । ओलीलाई र ओलीका नजिकका मान्छेहरुसंग छोइयो भने कालीगण्डकीमा गएर नुहाएर शुद्ध हुनुपर्छ भन्नेसम्मका अभिव्यक्ति बेला बेलामा सार्वजनिक हुन्थे । २०७० को संविधानसभाको निर्वाचनपछि बामदेव गौतम, इश्वर पोखरेल लगायतका नेताहरुको सहयोगमा ओली संसदीय दलको नेता बन्नुभयो, जव ओली संसदीय दलको नेता बन्नुभयो, बागलुङमा बामदेव गौतम र इश्वर पोखरेललाई धुरी मान्ने नेताहरुले ओलीलाई नेता मान्नेहरुलाई खोज्न थाल्नु भयो ।
ओलीलाई अध्यक्ष बनाउन पर्छ भन्नेहरुको संख्या बढ्न थाल्यो । ओलीको शक्ति बढेसंगै बागलुङमा ओली समर्थकहरुको शक्ति पनि बढ्न थाल्यो । २०७२ मा जब ओली प्रधानमन्त्री हुनुभयो, ओली र ओलीका मान्छेहरुलाई छोइछिटो गर्नुपर्छ भन्नेहरुले नै लड्डु बाँड्न थाल्नु भयो । ओलीले नाकाबन्दीको डटेर सामना गरेपछि हिजो ओलीलाई गलत मान्नेहरुले राजनेता भन्न थाल्नु भयो । राजनीतिमा लाग्ने मान्छेहरु एउटा नेताको आडमा लागेपछि अर्कोलाई सत्तोसराप गर्ने प्रवृति देखिन्छ, ओली विरोधीहरुको हकमा कहिले काही त्यो देखियो तर बागलुङमा ओलीलाई शुरुदेखि साथ दिनेहरुले सबैलाई आदर सम्मान गरेको पाउँछु ।
म पार्टीको कुनै आधिकारिक पदमा दिइन, प्रेस चौतारी नेपाल, सहकारी विभागमा सदस्य थिए । पदीय हिसावले कुनै भूमिका नभए पनि नवौ महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउनु पर्छ भनेर प्रचार चाही ब्यापकै गरेको हो । ओलीको हनुमान लगायत थुप्रै अशपब्दहरु बेहोरियो, धेरै ठाउँमा ओलीको मान्छे भनेर अवसरबाट वञ्चित पनि भइयो तर एक पटक ओलीलाई मुल नेतृत्वमा लैजानु पर्छ त्यसपछि बल्ल थाहा हुन्छ, उहाँको खास पहिचान भन्ने गणेश बहादुर बस्नेत दाईको कुरालाई निरन्तर नै कायम राखियो ।
ओलीसंग देश चलाउने खुबी छ, पार्टी चलाउने खुबी छ, साथ दिनु पर्छ भनेर मलाई सिकाउने गणेश बहादुर बस्नेत दाइ आज यो संसारमा हुनुहुन्न । तर, उहाँले भनेको कुरा सही रहेछ, ओलीको क्षमताका बारेमा उहाँ जानकार हुनुहुदो रहेछ भन्ने कुरा मलाई जति पछि गयो त्यति लागि रहेको छ ।
ओली भन्यो कि ? बागलुङका एमालेजनहरुमा एकखालको नकरात्मक धारणा आउथ्यो । मन केसीले एक पटक म सँग भन्नुभएको थियो, भाइ मलाई मन पर्ने नेता त ओली नै हुनुहुन्छ, तर बागलुङमा ओलीको मान्छे हुँ भन्न सकिदैन, यहाँका नेताहरुले बसीखान दिन्नन् । आज यसो गम खाएर हेर्छु, हिजो ओलीलाई भारतीय विस्तारवादको नाइके भनेर चोक चोकमा गाली गर्नेहरु, अरु धेरै तरिकाले ओलीलाई अपशब्द प्रयोग गर्नेहरु, गाली गर्नेहरु यतिबेला सबै भन्दा भरपर्दा नेता भएका छन्, हिजो मन पराउनेहरु बाहिर पनि गएका छन्, राजनीतिमा यस्तो हुन्छ, राजनीतिमा कोही कसैको सदावहार हुँदैनन् र हुनु पनि हुँदैन । ओलीको सन्दर्भमा बागलुङमा कहिले छोइछिटोको कुरा हुन्थ्यो भने आज सबैले एकै स्वरले हाइहाई गरेका छन् ।
ओलीले ३ नम्बरको एमाले पार्टीलाई एक नम्बर बनाउनु भयो, लिंग नछुट्टिएको पार्टीको उपमा पाएको पार्टीलाई एमाले जे बोल्छ, त्यही गर्छ भन्ने अवस्थामा पु¥याउनु भयो । जात जातका नाममा प्रदेश विभाजन गर्ने डिजाइनलाई समाप्त पारिदिनुभयो, संविधान जारी गर्ने नेतृत्व गर्नु भयो, सबै भन्दा ठुलो कुरा भारतले नाकाबन्दी लगाउदा, नाकाबन्दी नहटाएसम्म भारत भ्रमण गर्दिन भनेर नेपाली शान देखाउनुभयो । लिपुलेक लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्ने मात्रै होइन, राष्ट्रिय सहमति बनाउन सफल हुनुभयो ।
केपी ओलीका थुप्रै कमजोरी होलान्, छन् तर मुल कुरा राष्ट्रियताको सवालमा, मलुकको समृद्धिको सवालमा, विकास निर्माण र युवा पुस्तामा आशा जगाउने सवालमा ओलीको कद भेटाउने नेता कम्तिमा यति बेला अरु देखिएका छैनन् । हामी गुण र दोषका आधारमा होइन, आफुलाई मन पर्ने र नपर्ने आधारमा टिका टिप्पणी गर्छौ, गाली गर्छौ । मलाई के फाइदा हुन्छ, के दिन्छ त्यही आधारमा समर्थन र विरोध गर्छौ, यथार्थमा, छातीमा हात राखेर सोच्ने हो भने ठुलदाई (मोदी) लाई ललकार्ने हिम्मत, त्यो पनि संसदको रोष्टम उभिएर, अरुमा अहिलेसम्म देखिएको छैन ।
मैले यति भन्नुको अर्थ हिजो ओलीलाई साथ नदिएकाहरुलाई अहिले ओलीले साथ दिनु हुँदैन भन्ने कदापी होइन । कहिलेकाही मान्छेले यथार्थ नबुझेर, नेतृत्वको खुबी पहिचान गर्न नसकेर, अरुको बहकाउमा लागेर, आफ्नो व्यक्तिगत स्वार्थमा लागेर वा अन्य कुनै कारणले साथ नदिएको हुन सक्छ, पदमा पुगि सकेपछि हिजो मलाई साथ दिएको थिएन भन्ने सोच राख्नु हुदैन । कुनै कारणले ओलीलाई हिजो सहयोग गरेको थिएन, ओलीका बिरुद्ध लागेको थियो भने पनि आज ओलीले तिनीहरुलाई झन् धेरै साथ दिएर अगाडि बढाउनु पर्छ । नेताले हिजो मलाई यसो गरेको थियो, यसले मलाई मत दिएको थिएन, मेरो टिमलाई सहयोग गरेको होइन भनेर होइन, आज उसको भूमिका के छ, आज राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालमा उसको सोच कस्तो छ ? एमालेको मूल लक्ष्यप्रति उसको दृढ विश्वास कस्तो छ ? आम जनताका बीचमा उसले गर्ने व्यवहार कस्तो छ भन्ने रुपमा हेर्नु पर्छ ? गुण र दोषका आधारमा उसलाई जिम्मेवारी दिने, अगाडि बढाउने काम गर्नु पर्छ । हिजो ओलीलाई साथ दिएको होइन तर आज एमालेलाई बलियो राष्ट्रिय शक्ति निर्माणका लागि दृढ संकल्पित छ भने त्यसलाई अगाडि बढाउन सक्नु पर्छ । हिजो ओलीका लागि निकै नै मेहेनत गरेको थियो, ओलीलाई पदमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको थियो, तर आज उसको भूमिका एमालेको हितमा छैन भने, व्यक्तिगत स्वार्थका लागि पार्टीलाई उपयोग गर्छ भने त्यस्ताको हकमा कठोर बन्नै पर्छ ।
ओलीले निराशालाई चिर्नु भएको हो, ओलीले भारतीय दादागिरीलाई च्यालेञ्ज गर्नु भएकै हो । यति मात्रै होइन, दुई दुई पटक मृगौला परिवर्तन गरेको, उमेरले ७० कटेको मान्छेको काम गराई, खटाईले पनि उहाँलाई बुझ्ने मान्छेहरुलाई उत्साह थप्छ भन्ने लाग्छ । त्यसकारण मलाई ओली मन पर्छ ।
मैले ओली पहिलो पटक प्रधानमन्त्री हँुदा एउटा लेख लेखेको थिए, ओलीले मलाई चिन्दैनन्, शीर्षकमा । धेरै मान्छे नेताको पछि लाग्ने अनि जागिर, नियुक्ति आदि आदि खोज्दा रहेछन्, त्यो प्रवृत्ति ओलीका वरिपरी पनि निकै नै देखिन्छ ।
मलाई ओली कमरेडलाई केही सुझाव दिन मन छ । नेकपा एमाले पार्टी मात्र होइन, यो मुलुकका लागि यहाँले ठुलो योगदान गर्नु भएको छ । मुुलुकको पहिचानका लागि एउटा महाशक्तिसंग पौठ्येजोरी खेल्नु भएको छ । मुलुकको प्रधानमन्त्री सहजै ५ वर्ष चलाउन सक्ने अवस्था हुँदा हँुदै सत्ताबाट बर्हिगमन हुन परे पनि नेपाली भूमिको एजेण्डालाई जबरजस्ती उठाउनु भएको छ, उठाउने मात्रै होइन, राष्ट्रिय सहमति गरेर नक्सा पास गराउनु भएको छ । हजुरको प्रशिक्षण धेरै पटक लिएको छु, दशक पहिला यहाँले हाइट र लाइटको कुरा गर्नु हुन्थ्यो, यतिबेलाको समकालिन राजनीतिमा तपाई अरु भन्दा अलि अग्लो देख्छु, हाइटमा ।
तपाइँले अब सबैभन्दा पहिला आफ्नो पार्टीलाई एक ढिक्का बनाउन जरुरी छ । तपाईका हरेक भाषणहरु, प्रशिक्षणहरुमा पार्टी एकढिक्का हुनुपर्छ भनिरहनु भएको छ तर पार्टीमा माथि तपाई (केपी ओली) लाई देखाएर तल गुटबन्दी चर्काउने काम तपाईका वरिपरी भएका, तपाईको आडमै बस्नेहरुले गरिरहेका छन् । तलका कार्यकर्ता भिडाउने गतिविधि भइरहेका छन् । तपाईको हाइटका कारण माथि अबको १० वर्ष ओलीको विकल्प छैन भनिरहेका छन् तर तल गुटलाई जबरजस्त रुपमा स्थापित गर्दैछन्, सचेत भएर सम्हाल्नु होला ।
यो देशका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ भनेर तपाई र महासचिव शंकर पोखरेलले भनि रहनु भएको छ । अहिलेसम्मका दलहरु मध्ये राष्ट्रियताको सवालमा तपाइँ नेतृत्वको नेकपा एमाले नै अग्रमोर्चामा छ र एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्छ । आजको पुस्ता राजनीति भन्दा विदेश चाहन्छ, युवामा राजनीतिप्रति आकर्षण छैन, यो देशमा बसेर केही हुन्छ भन्ने धेरैमा छैन, अवस्था पनि दिन प्रतिदिन कमजोर हुदै गएको छ । राजनीति मात्रै होइन, यतिबेला व्यवस्थाप्रति नै वितृष्णा फैलाउने अभियान चलिरहेको छ, विभिन्न तरिकाले पैसा जम्मा गरेकाहरु पार्टीमा हावी हुने अवस्था बढ्दै गएको छ, पैसा भएकाले मात्रै चुनावमा उमेदवार बन्ने अवस्था सिर्जना भएको छ, यस्तो अवस्थामा एमालेले आशा जगाउने, युवालाई स्वदेशमा काम गर्ने अवस्था सिर्जना गराउन योजना ल्याउनु पर्छ । एमाले भित्र पनि पैसावालाको बोलवाला बढेको छ, पार्टी भित्र पनि यस्ता कुरा सुधार गर्नु पर्छ । इमान्दार भएर राजनीति गरेकोलाई चन्दा दिएको भरमा फ्याट्ट आएर विस्थापित गरिदिने हो भने राजनीतिमा मान्छे किन लाग्छ, योगदानको कदर नभए किन ज्यान फालेर राजनीतिमा लाग्छ ?
यि सबै विषयलाई चिर्नका लागि तपाईले अगुवाई गर्नु पर्छ, त्यसका लागि एमाले पार्टीलाई आगामी १० वर्षसम्म एकढिक्का राख्ने जिम्मेवारी तपाइँको हातमा छ । तपाइँ अहिले दोस्रो कार्यकालका लागि अध्यक्ष हुनुहुन्छ, यसो हेर्दा तेस्रो कार्यकाल पनि अरु कसैले हिम्मत गर्लान् जस्तो परिस्थिति छैन ।
मलाई सम्झना छ, पहिलो पटक अध्यक्ष बन्ने समयमा तपाइँले मैले एउटै कक्षा दोहो¥याउदिन भन्नु भएको थियो । अध्यक्ष बन्नुभयो, प्रधानमन्त्री पनि बन्नुभयो, त्यो पनि दुई पटक । अध्यक्ष बनेर पार्टीको हाइट माथि लैजानु भयो, प्रधानमन्त्री भएर देशको शिर उचो राख्नु भयो, त्यसका लागि तपाइँ पार्टी र देशबासीका लागि धन्यवादको पात्र हुनुहुन्छ ।
आज एमालेका नेताहरुको मुखबाट सुन्छु, अबको १० वर्ष ओलीको विकल्प छैन । म यो कुरामा सहमत छैन, मेरो विचारमा ओलीको विकल्प खोज्ने जिम्मेवारी ओलीकै हो र ओलीले खोज्नु पर्छ भन्ने लाग्छ । अब पनि विकल्प नखोज्ने हो भने समकालीनहरुमा लफडा हुने अवस्था आउन सक्छ । हिजो तपाई, नेपाल र खनाल उस्तै उस्तै र एउटै हाइटका भएकाले एकले अर्कोलाई स्वीकार नगर्ने अवस्था आयो, पार्टीमा विभाजनको अवस्था आयो । आज तपाईको विकल्प छैन, तर अबको १० वर्ष पनि विकल्प नै नभएको चर्चा अहिले बजारमा जति भैरहेको छ नि ? भित्र भित्र गुटका गतिविधि पनि त्यतिनै भइरहेका छन् ।
आज तपाईको कद अग्लो छ, तपाइँका अगाडि कसैले तपाईलाई टक्कर दिन सकिरहेको छैन । तपाईले गर्ने काममा हस्तक्षेप गर्न सकिरहेको देखिदैन, माथि तपाईलाई देखाएर तलतिर भित्र भित्र गुट बढाउने जुन काम भइरहेको छ, त्यसले कुनै दिन फेरी एमालेमा संकट पैदा गर्ने छ । त्यसैले आगामी एघारौँ महाधिवेशनमा ओलीको विकल्प ओलीले नै दिनु पर्छ भन्ने मलाई लाग्दछ ।
अन्त्यमा, आज तपाई बागलुङको पुरानो सदरमुकाम गलकोटमा बस्दै हुनुहुन्छ । आज र भोली दिउसोसम्मको बागलुङको बसाई सुखद रहोस् भन्ने कामना गर्दछु । संगै बागलुङको विकासका लागि यहाँको सहयोगको अपेक्षा पनि राख्दछु । मध्यपहाडि लोकमार्गमा अभियान सञ्चालन गर्नु भएको छ, बागलुङ सदरमुकामबाट घोडाबाधेसम्मको सडक पिच भएको छैन, ढोरपाटनको जलविद्युतको कुरा अलमलमै छ, एमालेका केन्द्रदेखि जिल्लाका नेता कार्यकर्ताहरुले जिल्लाको विकासका लागि केही प्रस्तावहरु तयार गर्नु भएको छ, गभिरताका साथ लिनु हुनेछ र कार्यान्वयनका लागि प्रभावकारी भूमिका निर्वाह गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु ।