बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती

डम्मर बुढा मगर, बागलुङ
गाउँमा बुढाबुढी मात्रै हुन थाले । युवापुस्ताको रोजाई सहर बजार र विदेश हुन थाल्यो । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको संख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बुढापाकाले मगर खाम भाषानै बोल्ने गरे पनि अहिले बालबालिकाले कम मात्रै बोल्छन् । युवायुवतीहरु सहर बजारमा बस्ने हुँदा उनीहरुले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको संख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर पढ्न थालेपछि नयाँ पुस्ताले आफ्नै भाषा नबुझ्ने खतरासमेत बढेको स्थानीयको भनाइ छ ।

मगर खाम भाषा आठार मगरात अन्तरगत बागलुङको निसीखोला गाउँपालिका– ५ र ६ गरि दुई वटा वडा मात्र बोलिन्छ । मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । पशुपालन र खेती किसानी यहाँका स्थानीयको मुख्य पेसा हो । पहिले–पहिले लेकबेसी र घाँसदाउरा गर्दा मगर खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समसया हुने गर्दछ । मगर खाम भाषालाई आफ्नो पहिचान मान्ने यहाँका बुढापाका पछिल्लो समय भाषाको प्रयोक कम हुन थालेपछि चिन्तित बनेका छन् । कहिले र कसको पालादेखि यो भाषा बोल्न थालिएको भन्ने एकिन नभए पनि संरक्षण गर्नु पर्नेमा पाकापुस्ताको चासो छ ।

निसीखोला गाउँपालिकाले पाठ्यपुस्तकनै मगर खाम भाषामा बनाएर लागु गरे पनि यत्तिले मात्रै भाषा संरक्षण नहुने स्थानीय थमबहादुर घर्तीले बताउनुभयो । दिनदिनै गाउँ छोडेर बजार झर्नेको संख्या ठूलो भएको भन्दै उनीहरुलाई गाउँ नरोकेसम्म भाषा संरक्षण गर्न चुनौती हुने उहाँको भनाइ छ । आफ्नै गाउँ ठाउँमा सेवा सुविधार र रोजगार सिर्जाना गर्न सके मात्रै मगर खाम भाषा र परम्परा जोगाउन सकिने घर्ती मगरले बताउनुभयो । गाउँ हुने सार्वजनिक कार्यक्रममा पहिले सबै मगर खाम भाषा बोल्ने गरेकोमा हिजोआज बोल्न छाडेको उहाँले गुनासो पोख्नु भयो । स–साना बालबालिकालाई हरेक परिवारले आफ्नो भाषा सिकाउन नसके, अबको एक दशकमा यस क्षेत्रमा कोही पनि मगर खाम भाषा नबोल्ने स्थिती आउन सक्ने घर्ती मगरको भनाइ छ ।

“मैले ठूलै हुँदासम्म अहिले बोल्ने खस भाषा बोल्न जान्दैनथे, गाउँ घर सबै तिर खाम भाषा बोल्थे, मैले पनि सानैदेखि त्यही बोलेको हुँदा ठूलै भएर जान्ने बुझ्ने हुँदासम्म अरु भाषा बोल्न आउँदैनथ्यो, तर अहिलेका केटाकेटीहरुलाई खाम भाषा सिकाउनु पर्छ” घर्ती मगरले भन्नुभयो – “अब सरकारले गाउँ छाडेर बजार जानेलाई यहीँ रोक्नु पर्छ नत्र हाम्रो भाषा, हाम्रो पहिचान गुम्छ, मलाई साह्रै चिन्ता लागेको छ, मैले गाउँमा हिँड्दा साना बालबालिकालाई भेट्दा पनि खाम भाषामै बाल्छु र बोल्न लगाउँछु, हरेक घर–घरमा खाम भाषानै बोल्नु पर्ने व्यवस्था गर्नु पर्छ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले मगर खाम भाषासँगै निसीखोलामा रहेका कला, संस्कृति र परम्परालाई संरक्षण गर्न पालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको बताउनुभयो । यस वर्षदेखि विद्यालय स्तरबाटै भाषा संरक्षणका लागि मगर खाम भाषामै पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर लागु गरेको अध्यक्ष घर्ती मगरको भनाइ छ । यहाँका हरेक घरमा हरेक व्यक्ति मगर खाम भाषा बोल्ने गरेको भन्दै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने खालको कार्यक्रमहरु संचालन गर्ने र गाउँ घरमा बोल्दा यो भाषालाई अनिर्वाय बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । आधुनिकताले भाषासँगै अन्य पक्षमा पनि असर पुगेको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो – “मगर खाम भाषा संरक्षणमा हामीहरु गम्भीर भएर लागेका छौँ, बुढापाकाले त पहिलेदेखिनै बोल्दै आउनु भएको छ, नयाँ पुस्तालाई बढी जोड दिएका छौँ, गाउँमा बस्ने ले त जसरी पनि भाषा बोल्ने गर्छन्, बजार झरेर पढ्ने, व्यवसाय तथा रोजगारी गर्नेहरुलाई पनि भाषा संरक्षण गर्न तर्फ लाग्न आग्रह गरेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *