डम्मर बुढा मगर, बागलुङ
समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाई । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा सिरेटो चलि राख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जंगल । त्यही जंगलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जन गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । तर ति गाडीका आवाजले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन् । एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो । लोकमार्गको ट्रयाक खुले पनि गाडी गुढ्दैनथे । तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ
चहलपहल हुन्छ । लोकमार्गसँगै जोडिएका गोठामा अहिले पनि गोठालाहरु बस्दै आएका छन् । चिसो याममा गाली खुट्टा भेडीगोठाले काम गरि रहेको भेटिन्छन् । धेरै जासो गोठालाहरु असोर र कार्तिक महिनामै बेसी झरे पनि चार जना अहिले पनि पातीहाल्ने क्षेत्रमा भेडाबाख्राको हेरचाहमा व्यस्त छन् । केही दिन अगाडि वर्षासँगै परेको हिमपातले तीन दिन दैनिकी कष्टकर बन्यो । चिसो ह्वात्तै बढेपछि यहाँ भएका गोठालाहरु बेसी झर्ने तरखरमा छन् ।
अहिले पूर्वी रुकुमको भूमे गाउँपालिकाका श्रीप्रसाद पुन, जोरप्रसाद पुन, सत गुरुङ र रास गुरुङको परिवार भेडीगोठमा छन् । उहाँहरुको ठूलो संख्यामा भेडाबाख्रा हुँदा अहिलेसम्म पातीहाल्ने क्षेत्रमै रहेका हुन् । उहाँहरु सबैले भेडापालन थालेको दशकौँ बित्यो । पाँच पुर्खादेखि भेडापालन गर्दै आएको बताउने श्रीप्रसाद गुरुङ ६१ वर्षको हुनु भयो । उहाँले भेडापालन थालेको ५३ वर्ष भयो । बाउबाजेले गर्दै आएको पेसालाई अङ्गाल्नु भएका गुरुङले आफ्ना हातपाखुरा चल्दासम्म यही काम गर्ने उहाँको चहना छ ।
उमेर ढल्दै गए पनि गुरुङमा काम गर्ने जोस जागँर भने युवाको जस्तै छ । गुरुङका सबै दौतरी यही पेसामा लागे पनि अहिलेका नयाँ पुस्ताले भेडाबाख्रा पालनमा चासो दिँदैनन् । नयाँ पुस्ताले परम्परागत पेसालाई चासो नदिँदा पुर्खौँदेखि गर्दै आएको पेसा हराउने डर गुरुङलाई छ । आफ्नो पालामा पढ्ने लेख्ने र विदेश जाने चलन नहुँदा गाउँका सबै मानिसहरु पशुपालनमा लागेको सुनाउँदै अहिलेका पुस्ता विदेश पलायन हुन र बजार झर्ने गरेको गुरुङले बताउनुभयो । भेडापालनबाटै परिवार चलाउनेदेखि सम्पत्ति जोड्नेसम्म गरेको सुनाउने गुरुङले हिजोआज गाउँमा विकास हुँदै गएपछि पुराना पेसा लोप हुने अवस्थामा पुगेको सुनाउनुभयो । गत असारमा पशुचौपाया लिएर लेक आएको भन्दै चिसो बढेकाले अब गाउँ झर्ने गुरुङको भनाइ छ ।
“यो चिसोमा बस्न हामीहरुलाई बानी प¥यो, अहिले मात्रै होइन वर्षौँदेखि लेक बेसी गरेर भेडाबाख्रा पाल्दै आएका छौँ, कहिले हिउँ, कहिले झरी वर्षा, यो सबै सहन थालेका छौँ, यो वर्षको पहिलो पटक मंसिरमै हिउँ प¥यो, हिउँले भेडाबाख्रा कठ्याङ्ग्रिएर मर्ने हुँदा अब गाउँमै जाने तयारी गरेका छौँ” गुरुङले भन्नुभयो – “पहिला गोठ हुन्थे, पशुचौपाया र गोठालाहरु हुन्थेउँ, अहिले त लेक पनि निकै रमाइलो भएको छ, दिनदिनै गाडी आउँछन्, गाडी आएपछि हामीहरुलाई पनि धेरै सजिलो भएको छ, पहिले खर्च बोकेर ल्याउनु पथ्र्यो, अचेल गाडीमा हालेर ल्याउँछौँ, गाउँ जान परे पनि सजिलै छिट्टै पुगेर आउन पाएका छौँ, जंगलमा गाडी गुड्दा पनि रमाइलो लाग्दो रैछ ।”
पातीहाल्ने क्षेत्रमा तीन जिल्लाका भेडा गोठाले आउने गरे पनि बागलुङको निसीखोला र रोल्पाली भेडा गोठाले दअसोजमै बेसी झरेका थिए । निसीखोला र रोल्पामा बेसीमा पनि चरन क्षेत्र बढी हुँदा उहाँहरु पहिलेनै बेसी झर्नु भएको हो । पूर्वी कुरुमका गोठाला भने पुरै झरि सकेका छैनन् । अहिले पातिहाल्ने क्षेत्रमा रहेका गोठाला मध्ये जोरप्रसाद पुन पनि हुनुहुन्छ । पुनको यहाँ रहेको बथानमा करिब तीन सय भेडाहरु छन् । उहाँले पनि भेडा पाल्न थालेको तीन दशक बढी भयो । गाउँका सबै पशुपालनमा आवद्ध भएको हुँदा उहाँ पनि ११ वर्षकै उमेरदेखि यो पेसामा लाग्नु भएको थियो ।
भेडापालनले अहिलेसम्म गाउँका धेरैलाई विदेश जानबाट रोकेको पुन बताउनुहुन्छ । हिउँदमा बेसी र बर्खामा लेकमा बसेर भेडा पाल्ने किसानको न्यूनतम पनि डेढ सय बढी भेडाबाख्रा हुने हुँदै उहाँहरु बेचेर विदेश जान नसकेको उहाँको भनाइ छ । जता गएर जे पेसा अङ्गाले पनि जीवनयापननै गर्ने भएको भन्दै गाउँमै परम्परादेखि गरिदै आएको काम गरे पनि परिवार चलाउन सकिने पुन मगरले बताउनुभयो । आफू अहिलेसम्म कुनै पनि ठूला–ठूला सहरमा नपुगेको उहाँको भनाइ छ ।
पुन मगरले भन्नुभयो – “जहाँ गएर पनि काम गर्नै पर्छ, पैसा कमाउन सहज छैन, यहाँ लेक हो, हिउँले चिसो छ, फोहोर कपडा लगाएर हिँड्नु पर्छ, तर कमाइ त यहाँ पनि छ नि, अरुको गुलामीगर्नु भन्दा यही मालिक बनेर भेडागोठालो गर्नु राम्रो लाग्छ हाम्लाई, वर्षमा १५/२० वटा भेडाबाख्रा बेचे पनि परिवार चलाउन सकिन्छ, मैले त छोरा भतिजहरुलाई पनि यही आउँ, यही पेसामा लाग भन्छु तर मान्दैनन्, हामीहरुले कहिल्यै पनि काम सानो ठूलो मानेनौँ र आफ्नो ठाउँमै काम गर्नु पर्छ भनेर लाग्यौँ ।”
मध्यपहाडी लोकमार्गले भेडीगोठ जोडिएपछि ग्राहक बथानमै आएर भेडाबाख्रा किन्ने गरेको सत गुरुङले बताउनुभयो । पहिले–पहिले आफूहरु बागलुङको निसीखोला, बुर्तिबाङ, हुँदै गुल्मीको रिडीसम्म पुग्ने गरेको सुनाउँदै अचेले भेडा विक्रीका लागि टाढा जान नपर्ने उहाँको भनाइ छ । हरेक वर्ष गोठबाटै लाखौँको भेडाबाख्राको विक्री हुने गुरुङले बताउनुभयो ।