बदमास कर्मचारी, बदनाम व्यवस्था

सम्पादकीय
नेपाल वर्षाैदेखि समृद्ध नबनेकोमा नागरिकको सर्वत्र गुनासो र आक्रोश छ । व्यवस्था फेरिए पनि अवस्था नफेरिएकोमा चौतर्फी चिन्ता छ । अस्थिरताको भय आज पनि व्याप्त छ । विश्वमै उन्नत मानिएको व्यवस्था आएको दशक बढी भइसक्दा पनि नेपाल किन बनेन त ? यसबारेमा यथेष्ट बहस, बिमर्श, चिन्तन मनन भने निकै कम भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको मुलुकमा पनि बेथिति व्याप्त छ । सत्ता र शक्तिमा हुनेहरुको बोलवाला छ । अझै पनि गरीब, बिपन्न, श्रमिक, मजदुरहरु चरम उपेक्षा, बिभेद र अपमानित छन् । यस्तो किन भइरहेको छ त ? कारण राजनीति फोहोरी खेल बनिरहेको छ । कर्मचारीतन्त्र भ्रष्टाचार, कमिसनको खेलमा लिप्त छ ।

त्रिभुवन विमानस्थल पछिल्लो समय बिभिन्न काण्डबाट बदनाम छ । कहिले किलोका किलो सुन बरामद त कहिले मानव तस्करका कारण चर्चामा हुन्छ । फर्जी कागजात बनाएर विमानस्थलबाट मानव तस्करी भइरहेको र अध्यागमन कार्यालय र वायुसेवा निगमका कर्मचारीकै त्यसमा संलग्नता पुष्टि भएको र ३२ जना पक्राउ परिसकेको खबर अहिले सार्वजनिक छ । फर्जी कागजातका आधारमा नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा अध्यागमन कार्यालयकै कर्मचारी संलग्न रहेको सूचनापछि प्रहरीले उच्च निगरानी सहित कारवाही चलाउँदा फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाएबापत लिएको घुस सहित कार्यालयका शाखा अधिकृत नरवीर खड्का रंगेहात पक्राउ परे । फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने धन्दामा नेपाल वायुसेवा निगमका कर्मचारी पनि संलग्न रहेको खुलेको छ । धन्दामा संलग्न रहेको पाइएपछि प्रहरीले निगमका अधिकृत ४२ वर्षीय होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादवलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरेलले रोलेक्स ट्राभलका कर्मचारी सञ्जय तामाङ र राजकिशोर साहबाट १८ लाख रुपैयाँ घुस बुझेका थिए ।

फर्जि कागजात सहितको धन्दा एकातिर कानुनी अपराध हो भने अर्को तर्फ विमानस्थलबाट अवैध रुपमा विदेश छिराउन कर्मचारीकै सेटिङ डरलाग्दो देखिएको छ । कम्तीमा दुई सय ५० युवा फर्जी कागजातमा विदेश जाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार तस्कर समूहले विमानस्थलमा ‘सेटिङ’का लागि मात्रै प्रतिदिन दुई करोड रुपैयाँ खर्च गर्दै आएका थिए । यसका लागि अध्यागमनका कर्मचारीले कम्तीमा प्रतियुवा ४० हजारदेखि ५५ हजार र एयरलाइन्सका कर्मचारीले १० हजारदेखि १५ हजार रुपैयाँ बुझ्दै आएको देखिएको छ । यति मात्रै होइन, कोही मान्छे विमानस्थलमा अवैध सामान जाँच गर्ने दर्जनौ आधुनिक उपकरण हुँदा हुँदै पनि शरीरभरी सुन बोकेर किन र कसरी आइरहेको छ ? यसमा कर्मचारी, सुरक्षाकर्मीकै सम्लग्नता सहजै प्रष्ट हुन्छ । यसरी बदमास कर्मचारीको कारण व्यवस्था बदनाम भइरहेको छ । यसमा कतै सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री, मन्त्रीहरु नै सम्लग्न त छैनन् ? थप संशय समेत पैदा भइरहेको छ । अतः सरकारले यसमा तत्काल गम्भिरतापूर्वक कदम चाल्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *