अव्यवस्थित फोहोर व्यवस्थापनले बडिगाडखोला प्रदूषित

डम्मर बुढा मगर, बागलुङ
बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टी तमानखोला किनार फोहोरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहोरको ढङ्गुरमाथि रहेको सडक हुँदै यात्रा गर्छन् । १० नमुना सहर मध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । जसका कारण फोहोर पनि दिनदिनै निस्कने गर्छ । बजारबाट निस्कने फोहोर ढोरपाटन नगरपालिका–३ बाघखोर स्थित तमानखोला किनारमा फालिँदै आइएको छ । एक दशक अगाडि बुर्तिबाङ बजार सानो थियो । फोहोर पनि कम निस्कने हुँदा स्थानीयले खोला किनारमा लगेर बगाउने र जलाउने गर्थे । तर अहिले बजारबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भई रहेको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमै बुर्तिबाङ बजारको फोहोर फाल्दै आएको छ ।

बजारको फोहोर ‘डम्पिङ’ गर्ने ठाउँ निकै साँघुरो हुँदा सबै तमानखोलामा पुग्छ । खोलाले बगाएर फोहोर पुनः बजारसम्म पु¥याउँछ । फोहोरलाई दैनिक आगो लगाएर जलाउने गरेपछि अधिकांश खोलामै बग्ने गरेको पाइन्छ । फोहोरले तमानखोलानै प्रदूषित बनाई दिएको छ । तमानखोलामा बग्दै आएको फोहोर बुर्तिबाङ बजारमा आएर भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमुना सहर भनिए पनि फोहोर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको स्थानीयको भनाइ छ । आर्थिक वर्ष २०६७÷०६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहोर व्यवस्थापन लगायत धेरै पूर्वधार निर्माण हुन सकेका छैनन् । दैनिक खोलामा बग्ने फाहोरका कारण जलचर जीवलाई असर पु¥याइ रहेको छ ।

फोहोरका कारण एक दशक यता बडिगाड खोलमा माछा निकै कम मात्रामा पाइने गरेको जलारी बताउँछन् । हाल फोहोर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको तनवडा नम्बर ३ र ४ को विभिन्न गाउँहरुमा पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या पर्ने गरेको छ । बुर्तिबाङ बजारको फोहोर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फालिदै आइएको छ । खोला छेउमा हुँदै आएको फोहोर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन नगरपालिका–३ का मीनबहादुर घर्तीले बताउनुभयो ।

बजारबाटै गाडीले फोहोर सडक भरी खसाल्दै ल्याउने र अस्तव्यस्त रुपमा फाल्दा त्यसको गन्धले स्थानीय र यात्रुलाई समस्या हुने गरेको उहाँको भनाइ छ । वर्षौँदेखि बजारको फोहोर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र खोला प्रदूषित बन्दै गएको घर्ती बताउनुहुन्छ । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहोरको गन्धले यात्रा गर्नै कठिन हुने घर्तीको भनाइ छ ।

उहाँले भन्नुभयो – “दिनदिनै बुर्तिबाङ बजारमा घरहरु बनि राखेका छन्, गाउँबाटसमेत मान्छे झरेर यही बस्न थाले, जनघनत्व पनि बढ्यो, अरु सेवा सुविधा पनि बढे तर बजारको फाहोर व्यवस्थापन भने सही रुपमा हुन सकेन, खोला छेउमा फोहोर व्यवस्थापन छैन, माथिबाट सबै फोहोर खोलाले बगाएर तलै ल्याउँछ, तल बजार छेउमा बजारवासीले नुवाइँधुवाई गर्छन्, हावाहुरी चले पनि उडाएर वातावरणनै प्रदूषित बनाउने गरेको छ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बुर्तिबाङ बजार निकै साँघुरो र त्यस वरपर फोहोर व्यवस्थापनका लागि जग्गा नपाइँदा अहिले अस्थायी रुपमा यो ठाउँ प्रयोग गर्दै आएको बताउनुभयो । यो क्षेत्र नयाँ सहर आयोजना अन्तरगत पर्ने हुँदा आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोजी भइ रहेको उहाँको भनाइ छ । जग्गा व्यवस्थापन हुँदा साथ बजारको फोहोर व्यवस्थानका लागि व्यवस्थित ‘डम्पिङसाइ’ निर्माण गर्ने उपप्रमुख कायतले बताउनुभयो ।

“छ वर्षदेखिनै बुर्तिबाङ बजारको फोहोर यही ठाउँमा फाल्दै आइएको रहेछ, हामीहरु आएपछि फोहोर व्यवस्थापन गर्ने विषयलाई गम्भीरताका साथ लिएका छौँ, जग्गा पनि खोजी रहेका छौँ, नयाँ सहर आयोजनासँग सहकार्य भइ रहेको छ,” उहाँले भन्नुभयो – “जग्गा प्राप्त हुँदा बित्तिकै ‘डम्पिङसाइड’ निर्माण गरि हाल्छौँ, अब केही समय लाग्ला ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *