आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिकाको अयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक सहित प्रकाश माध्यमिक विद्यालयले जितेको छ ।
३१ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा २२ स्वर्ण र ५ रजत पदक सहित बेनी नगरपालिका–७ मा रहेको प्रकाश माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको हो । त्यस्तै पाँच स्वर्ण १० रजत र दुई कास्य सहित बेनी नगरपालिका–८ बजारकै न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयले दोश्रो स्थान हासिल गर्दा दुई स्वर्ण एक रजत र दुई कास्य सहित माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले तेश्रो स्थान हासील गरेको बेनी नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख कमल ढकालले जानकारी दिनुभयो ।
एथलेटिक्स विधाको छात्र तर्फ ९ स्वर्ण र ३ रजत एवम् छात्रा तर्फ १० स्वर्ण र २ रजत सहित प्रकाश माध्यमिक विद्यालय पहिलो भएको छ । त्यसैगरी भलिवल तर्फपनि छात्राछात्र दुवैको उपाधि तथा कबड्डी तर्फ छात्र तर्फको उपाधि प्रकाश माध्यमिक विद्यालयले जित्दै स्वर्ण पदक हात पारेको हो ।
एथलेष्टिक्स बिधामा तीन स्वर्ण र एक रजत पदक हात पार्दै प्रकाश माविका युकेन तामाङ र शुष्मा नेपाली उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै उसु तर्फ जामुनाखर्क माविका समिप किसान र न्यू वेष्ट प्वाइन्टकी प्रमिशा बानियाँ उत्कृष्ट खेलाडी घोषित भएका छन् । कराँते तर्फ न्यू वेष्ट प्वाइन्टका रोस्लिन बुढाथोकी र माउण्ट एभरेष्ट आवासिय माविकी देलिभिया गर्बुजा उत्कृष्ट खेलाडी घोषित भएका छन् । तेक्वान्दो खेल तर्फ भने न्यू वेष्ट प्वाइन्टका दिपेश पुर्जा र बेनी सामुदायिक माध्यमिक विद्यालयकी सज्जा पुनले उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन् । कबड्डी तर्फ प्रकाश माविका सरोज जिसी र रिया बिक उत्कृष्ट खेलाडी भएका छन् ।
प्रतियोगितामा कराँते बिधा तर्फ ९ स्वर्ण सहित न्यू वेष्ट प्वाइन्टले पहिलो स्थान हासिल गरेको छ भने उसु तर्फ जामुनाखर्क माध्यमिक विद्यालयले पाँच स्वर्ण सहित पहिलो स्थान हासिल गरेको छ । तेक्वान्दो बिधामा भने चार स्वर्ण ६ रजत र दुई कास्य सहित न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयले पहिलो स्थान हात पारेको छ ।
६८ स्वर्ण पदककालागि हुन पर्ने भए पनि यस प्रतियोगितामा एथलेटिक्स तर्फ २६ स्वर्ण, कबड्डीमा २ स्वर्ण, भलिबलमा एक स्वर्ण र तेक्वान्दो तर्फ २ स्वर्ण गरी कुल ३१ पदक गणना गरिएको थियो ।
मार्सल आर्ट तर्फ उसु, र कराँतेको १२÷१२ स्वर्ण तथा भलिबलको महिला तर्फको १ र तेक्वान्दोको १० स्वर्ण पदक प्रतियोगितामा गणना गरिएको थिएन । कुनै पनि खेल बिधामा पाँच भन्दा कम टिम प्रतिस्पर्धी भएको खण्डमा समग्र प्रतियोगितामा पदक गणना नहुने भन्ने नगरपालिकाको निर्णय अनुसार कुल ६८ स्वर्ण पदकका लागि हुनु पर्ने राष्ट्रपति रनिङ शिल्डको पदक ३१ मात्रै गणना गरेर ३५ पदक रनिङ शिल्डका लागि गणना नगरि खेलाडी छनौट मात्रै गरेर जिल्लामा प्रतिस्पर्धाका लागि पठाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।