दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर काम गरेका छौँ – मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणको काम गरेको बताउनुभयो । शनिबार बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा आयोजित पाण्डवखानी माविको हीरकजयन्तीलाई सम्बोधन गर्दै अब दुर्गम गाउँका नागरिकले पहिलेको जस्तो दुःख पाउनु नपर्ने बताउनुभयो ।

पछिल्लो समय ग्रामीण क्षेत्रबाट बसाइँसराई गरि बजार झर्ने र विदेश पलायन हुनेको संख्या बढ्दै गएपछि अब प्रदेश सरकारले गाउँमै रोजगार सिर्जना गरि आफ्नै ठाउँमा बस्ने वातावरण तयार गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । गाउँका सबै विद्यालयको स्तरवृद्धि गरि प्राबिधिसँग जोड्ने गरि काम गरि रहेको उहाँले बताउनुभयो ।

“सहर बजारको नजिकका गाउँ ठाउँमा विकास भएको छ, तर सदियौँदेखि विकट मानिदै आएका ठाउँहरु अहिले पनि विकटै छन्, त्यस्ता ठाउँलाई प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको छ, अब हरेक नागरिकलाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याइ रहेका छौँ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो – “मुलुकलाई गाली गरे विकास हुँदैन, विकासका लागि सबै नागरिकले सरकारलाई साथ दिनु पर्छ, विकास हुँदै भएन भन्नु गलत हो ।”

अब हरेक युवा गाउँमै बस्ने बनाउनका लागि प्रदेश सरकारले उनीहरुले चाहेको पेसामा लाग्न प्रोहोत्सान गर्ने र अनुदान तथा बजारीकरणको व्यवस्था गरि दिने पाण्डेले बताउनुभयो । विकास निर्माणका सन्दर्भमा स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकार बीच समन्वयको जरुरी रहेको भन्दै प्रदेश सरकारले सानातिना योजनाका काम नगर्ने उहाँ बताउनुहुन्छ ।

साना योजना पालिका, मध्यम खालका प्रदेश र ठूला योजना केन्द्र सरकारले संचालन गर्नु पर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो । प्रदेश सरकारले पालिका, वडा र प्रदेश जोड्ने सडक निर्माण गर्ने भन्दै, स्थानीय पालिकाले स्रोत पहिचान गरि आन्तरिक स्रोत बढाउन तर्फ लाग्नु पर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्