क्यान्सरको उपचारका लागि आर्थिक संकलन गरेका थापाद्वारा उपचार खर्च सार्वजनिक


आदर्श अनलाइन, बागलुङ
हड्डीको क्यान्सर रोगको उपचारका लागि अर्थिक सहयोग अभियान सञ्चालन गरेका बागलुङका गणेश थापाले हिसाब सार्वजनिक गर्नुभएको छ ।

भारतको एपोलो अस्पतालमा मेरुदण्डको कन्ड्रोसरकोमा
(हड्डीमा लाग्ने एक प्रकारको क्यान्सर) सफल उपचार गरि फर्किएका थापाले उपचारका लागि संकलन भएको रकम र उपचारमा खर्च भएको रकम पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गर्नुभएको हो ।

उपचारका लागि ठुलो रकम खर्च हुने भन्दै उपचार सहयोग समिति गठन गरि गत भदौ २१ गते पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक रुपमा सहयोगको अपिल गरेका थापाले ८२ लाख १६ हजार ३ सय ९७ रुपैयाँ संकलन भएको र ७२ लाख ५४ हजार १ सय रुपैयाँ खर्च भएको जानकारी गराउनु भयो ।

बैंक खातामा ७९ लाख ३४ हजार ९७ रुपैयाँ, नेपालमा नगद २ लाख २४ हजार ७ सय र भारतको चेन्नाईमा ५७ हजार ६ सय रुपैयाँ संकलन भएको र उपचारका लागि भारतको एपोलो अस्पतालमा ६५ लाख ५७ हजार ६ सय, राजिव गान्धी अस्पतालमा १ लाख ५७ हजार ३ सय, यातायात र भारतमा कोठा, खाना तथा अन्य खर्च ४ लाख ६२ हजार ४ सय र समिति मार्फत प्रशासनिक खर्च ७६ हजार ८ सय रुपैयाँ खर्च भएको थापाले जानकारी गराउनु भयो ।

बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका पूर्व वडा अध्यक्ष समेत रहेका थापाले उपचारका लागि संकलन भएर बाँकी रहेको ९ लाख ६२ हजार २ सय ९७ रुपैयाँ स्वास्थ्य क्षेत्रमा खर्च बताउनु भयो ।

उपचारका लागि स्वदेश, विदेशमा रहेका साथी, सरकारी गैरसरकारी विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी, पूर्व विद्यार्थी, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सरकारी गैरसरकारी कर्मचारीहरु सहित सामाजिक संघ संस्था र आमा समुहसँगै धेरैले सहयोग गरेको भन्दै थापाले बाँकी रहेको केही रकम बा.न.पा ९ तित्याङ्कै वडाबासीको स्वास्थ्य क्षेत्र र अन्य रकम क्यान्सर रोगसँग लडिरहेका विरामीको स्वास्थ्य उपचारमा खर्च गर्ने बताउनु भयो ।

उपचार सफल भएपनि ३–३ महिनाको अन्तरालमा २ वर्ष र ६ महिनाको अन्तरालमा ३ वर्ष अझै पाँच वर्ष फलोअप चेकअप गर्नुपर्ने उहाँको भनाई छ ।

पत्रकार सम्मेलन उपचार सहयोग समितिका संयोजक चन्द्र बहादुर थापा मगरको अध्यक्षता र सदस्य रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । सहयोग समिति आजकै दिनदेखि भंग भएको संयोजक चन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *