लोकमार्ग विस्तारको बाटो खुल्यो

आदर्श अनलाइन, बागलुङ
मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने घर टहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसंगै कालोपत्र गर्नका लागि घर टहरा भत्काइएको हो । क्षतीपूर्ती दिएर घर टहरा भत्काएपछि लोकमार्गको कालोपत्र गर्ने बाटो खुलेको छ ।

सात वर्षदेखि कालोपत्रेको काम थालेपछि उक्त खण्डमा अझै कालोपत्र हुँन सकेको थिएन । घर टहरा भत्काउन क्षतिपूर्ती दिनुपर्ने भएपनि अहिले सम्म क्षतिपूर्ती दिन नसक्दा लोकमार्गको मापदण्डमा पर्ने घर तथा टहरा भत्काउन समस्या भएकाले लोकमार्ग कालोपत्रमा ढिलाई भएको थियो ।

लोकमार्ग सम्पन्न गर्न निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घर टहराहरुले समेत समस्या बनाएपनि अहिले निर्माण व्यवसायी धमाधम काममा लागेको छ भने लोकमार्गका मापदण्डमा पर्ने ८ वटा घर तथा टहरा भत्काइएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी पवन सुवेदीले जानकारी दिनुभयो । नेपालमै सबैभन्दा लामो खण्डको रुपमा बागलुङमा १४२ किमि सडक लोकमार्गको १२ किमि मात्रै कालोपत्रको काम बाँकी छ ।

लोकमार्ग विस्तार संगै कालोपत्र गर्न पाँच परिवारका ८ घर तथा टहरा भत्काइएको छ भने रु. ६५ लाख क्षतिपूर्ती दिन थालिएको छ । “एक हप्ता भित्रै खातामा क्षतिपूर्ती दिइनेछ, घर टहरा भत्काइसकिएको छ, अब लोकमार्ग विस्तार संगै कालोपत्र हुन्छ” सुवेदीले भन्नुभयो “लोकमार्गको सबैभन्दा समस्याग्रस्त स्थानमा लोकमार्गको मापदण्ड अनुसार संरचनाहरु हटाइएको छ, निर्माण व्यवसायी काममा फर्केर कालोपत्रका लागि ग्राभेल गरिरहेको छ ।”

बागलुङ बजार देखि बिहुँ सम्मको १३ किमि सडक खण्डमा अहिले कालोपत्रेका लागि पाँचौं पटक म्याद थप गर्न थालिएको छ । काठेखोला गाउँपालिकाको अछेते बजारमा घर टहरा भत्काउन नसक्दा अहिले सम्म लोकमार्ग विस्तार समेत हुन सकेको थिएन । अछेते बजारका घर टहरा भत्काउनका लागि आवश्यक क्षतिपूर्ती प्रदान गर्ने २०८० असार १९ गतेको नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार अहिले घर टहरा भत्काइएको र क्षतिपूर्तीको मुल्याङ्कनको आधारमा पाँच घरधनीहरुलाई रु.६५ लाख भुक्तनी गर्न थालिएको हो ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घर टहरा भत्काउने प्रायोजनमा उपसमिति बनाएर मुल्याङ्कन पछि घर टहरा भत्काइएको हो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षका लागि गरेको ठेक्का सम्झौता गरेपनि समयमै काम नगरी पाँचौ पटक म्याद थपको चरणमा पुगेको छ । निर्माण व्यवसायी काममा फर्केकाले अन्तिमपटक म्याद थपको काम गर्न थालिएको हो ।

उक्त घर टहराको मुल्य अहिलेको बजार मुल्य अनुसार भवन विभागको मापदण्ड अनुसार भुक्तानी दिन थालिएको हो । लोकमार्गको अन्य खण्डमा कालोपत्रेको काम भइसकेकाले अहिले अछेते बजारमा मात्रै घर टहरा भत्काउन वर्षोदेखि बाँकी रहदा कालोपत्रको काम रोकिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *