बागलुङ महोत्सव, अपेक्षा र दायित्व

सम्पादकीय
बागलुङमा सातौँ महोत्सव आयोजित छ । महोत्सवमा गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला जोडिएको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सव आगामी पुस २१ गतेसम्म रहनेछ । हरेक तीन वर्षमा हुने महोत्सवमा खुला रिले दोहोरी, खुला महिला तथा पुरुष भलिबल, भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन लाइभ कन्सर्ट, बाल उद्यान, जातजातीका झाँकी, साँस्कृतिक कार्यक्रम सहित विविध कार्यक्रम छन् । घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित १ सय २० व्यापारिक स्टल, ३० वटा प्रवद्र्धनात्मक स्टल र बागलुङकै उत्पादन राखिएको छ । तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजार, व्यवसायलाई चलायमान बनाउन महोत्सवले महत्वपूर्ण अर्थ र भूमिका खेल्ने आम अपेक्षा छ । उसो त महोत्सव मात्रैले एकैपटकमा ठुलै उभार ल्याउने भन्ने कदापि अपेक्षा गरिनु हुन्न ।

बागलुङ बजारको गुल्जार घट्दो अवस्थामै थियो । अझ त्यसमा विश्वव्यापी आर्थिक मन्दीले व्यापार व्यवसायमा उल्लेख्य गिरावट आएको छ । यही तिब्र गुनासोका बीच जिल्ला सदरमुकाममा भएको बागलुङ महोत्सवले किसान, व्यवसायी लगायत समग्र जिल्लाबासीमा केही न केही उत्साह र सुखद सञ्चार गर्नेछ । यसपटकको महोत्सवमा मेड इन नेपाल भित्र पनि मेड इन बागलुङ लगायतका केही पृथक प्रयत्नहरु गरिएको छ । केही विगतका कमजोरीहरुलाई सुधार गर्ने गरी पहलकदमी लिइएको छ । महोत्सवबाट आधादर्जन सामाजिक क्षेत्रको काम गर्ने लक्ष्य राखिएको छ । धवलागिरि बहुमुखी क्याम्पसको गरिब, बिपन्न तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति कोषमा साथ दिने, स्थानीय उत्पादनलाई जोड र कोसेली घर निर्माण तथा संचालनमा पहल, पत्रकार महासंघको संस्थागत विकासमा साथ, हाम्रो समुदाय राम्रो समुदायिक भन्ने अभिव्यक्तिका साथ सामुदायिक प्रहरी रामरेखालाई सहयोग, बजारमा सिसि क्यामेरा जडान र व्यवस्थापन तथा व्यवसायी एकताका लागि अक्षय कोष निर्माण गर्ने उद्देश्य राखिएको छ । जुन महोत्सवको सकरात्मक बिषय हो । महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ छ । यस नाराले बोकेको उद्धेश्य, भावना र मर्मलाई बोध गरेर आयोजक, बागलुङबासीले यस अवधिमा भूमिका खेल्ने हो भने निश्चय पनि महोसत्व सफल हुनेछ ।

जिल्लामा सुरुवात भएको महोत्सव अबको १० दिनमा सकिनेछ । महोत्सव सकिदाँ अवश्य पनि जिल्लावासी मात्र होइन, सिंगो प्रदेशमा पृथक उत्साहको सञ्चार हुन सक्नुपर्छ । महोत्सव जुन उद्धेश्य र अभिप्रायले आयोजित छ, यो कुन हद सम्म सफल रह्यो भन्ने विषयमा बहस र बिमर्श पछि गरौला । तर, अहिलेको समय भनेको बुधवारदेखि सञ्चालित महोत्सवलाई के कसरी हुन्छ ? सफल र प्रभाबी बनाउने नै हो । यो केबल आयोजक संस्था बागलुङ उद्योग बाणिज्य संघको मात्र जिम्मेवारी र दायित्व होइन, आम बागलुङबासीको उत्तरदायित्व हो । आम आशा, अपेक्षा मात्र होइन, बागलुङ महोत्सव भव्य तबरले नै सम्पन्न हुनेछ । यो केबल मनोरञ्जन र निरन्तरतामा मात्र सीमित रहने छैन । अहिलेको आर्थिक मन्दीको कठिन र जटिल अवस्थामा पनि अनेकन चुनौति मोलेर आयोजना गरिएको महोत्सव सफल बनाउन सबैले हातेमालो गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *