नेत्र ज्योति संघलाई २ करोड ५० लाख पर्ने जग्गा निःशुल्क

आदर्श अनलाइन, म्याग्दी
पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा ६ दिच्याम घर भई पोखरामा वस्दै आउनुभएका मुक्ती रोकाले नेत्र ज्योती संघ म्याग्दीलाई निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।

मुक्ति रोका तथा उहाँकी श्रीमती याममाया रोकाको उपस्थितिमा बेनी नगरपालिका ८ कालीपुलमा रहेको कित्ता नम्वर १००७ को ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा संघलाई उपलब्ध गराउनुभएको हो । उक्त जग्गाको हालको मुल्य दुई करोड ५० लाख भन्दा बढी पर्ने बताइएको छ ।

शुक्रबार बेनीमा एक कार्यक्रमका बीच रोका दम्पतिले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपूर्जा हस्तान्तरण गर्नुभएको हो । नेत्र ज्योती संघले बेनी बजारको क्याम्पसचोकमा भाडाको घरबाट कार्यालयबाट कार्यालय सञ्चालन गर्नुका साथै आइकेयर सेन्टरको सेवा प्रदान गरिरहेको छ । जग्गा प्राप्त गरेपछि अब संघले आफ्नै भवन निर्माण गर्ने संघका सभापति बानियाँले बताउनुभयो ।

रोकाले २०६६ सालमा आफैले नेतृत्व गरेर हिमालयन आँखा अस्पताल संग समन्वय गरि बेनीको रेडक्रस भवनबाट आँखा उपचार केन्द्र संचालनमा ल्याउनुभएको थियो । ‘बेनीमा आँखा उपचार केन्द्र संचालनको अनुमति लिनका लागि म पोखरा, काठमाडौँ लगायत देशका विभिन्न ठुला आँखा उपचार केन्द्रहरुमा पुगेँ, अन्तत लामो मेहनत पछि हिमालय आँखा अस्पतालको अनुमतिमा बेनीको रेडक्रस भवनबाट आँखा उपचार केन्द्र सुरु गरियो रोकाल बिगत सम्झदै भन्नुभयो त्यतिबेला म रेडक्रसको सभापति समेत थिएँ ।

नेत्र ज्योती संघलाई उपलब्ध गराएको जग्गामा भवन निर्माण गर्ने योजना अघि सारि आर्थिक संकलनको अभियान संचालन गर्न समेत रोकाले संघलाई आग्रह गर्नुभयो । भवन निर्माणका लागि पनि आफ्नो परिवारबाट सक्दो आर्थिक सहयोग हुने रोकाले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा संघको नाममा रहेको जग्गाको लालपूर्जा ग्रहण गर्दै संघका अध्यक्ष बानियाँले जग्गादाता रोका परिवारलाई आभार प्रकट गर्नुभएको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख डिल कुमारी खत्रीले म्याग्दीमा रहेर समाजसेवामा रोकाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *