मुलुकको विकासका लागि अहिलेकै व्यवस्था ठिक छ : मन्त्री जुगजाली

आदर्श अनलाइन, बागलुङ
नेपाल जस्तो कम बिकास भएको मुलुकको विकास तथा विकट र दुर्गम क्षेत्रको समेत समुचित विकासमा पहुँच बढाउन अहिलेको व्यवस्था सबै भन्दा उत्तम व्यस्था भएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले बताउनु भएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री जुग्जालीले नेपालमा २०७२ मा संविधान जारी भए पश्चात संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय तह स्थापनाले पछाडी परेको मुलुकका दुर दराजको बस्ती सम्मै विकासले ठाउँ पाएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘बिकासका पूर्वाधार निर्माणले अहिले सबै तिर गति लिएको छ ।’

बिरोधका लागि मात्रै बिरोध गर्नेहरुले संघीयता र गणतन्त्रको विषयमा टिप्पणी गरि रहेका छन् भन्दै उहाँले बिरोध गर्ने युवाहरुले राजा अनि पञ्चायतको समयमा रहेको अवस्थाको बारेमा आफ्ना बुवा–आमा, हजुर बुवा–हजुर आमाहरुलाई सोधेर ज्ञान लिनु पर्ने तर्क गर्नुभयो । उहाँले काठमाडौ, पोखरामा बसेर होइन म्याग्दीको दुर्गम गुर्जाको आँखाले हेरीनु पर्छ अनि त्यसरी हेर्दा अहिलेकै व्यवस्था वरदान लाग्छ ।

२०७२ पछि प्रदेश सरकार स्थापना भए र त्यसपछि २०७४ मा आम निर्वाचन पछि गण्डकी प्रदेश सरकारले बिताएको छ वर्षमा एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति भएको जुगजालीले बताउनुभयो । उहाँले ८१ वटा मोटरेबल पुल निर्माण गरेको बताउनुभयो ।

नेपालमा अहिले भएको व्यवस्थामा प्रत्येक नागरिकले आफुलाई मन परेको व्यक्तिलाई जनप्रतिनिधिको रुपमा चुन्ने, मन नपरे बिरोध गर्न, बोल्न पनि स्वतन्त्र पूर्वक पाइन्छ त्यसैले हिजो प्रधानपञ्चले जे बोल्यो त्यो कानुन हुन्थ्यो भने संघिय सरकारले प्रतिनिधि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शिर निहुराउदै गएको हामीले बिर्सनु हुँदैन । मन्त्री जुग्जालीले पञ्चायत र राजाका पालामा हालिमुहाली गरेकाहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भ्रम फैलाएको टिप्पणी गर्दै जनताको अवस्था सुधार गर्न कार्यशैली सुधार र परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो ।

मंगला गाउँपालका–५ को कैलासफाँटमा आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्र समापन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीलाइ आग्रह गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपियाँ, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले ३० हजार र २० हजार रुपियाँ पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा एथलेटिक्स तर्फका १३ विधा तथा भलिबल र कबड्डी गरी कुल १५ बिधामा छात्र छात्राको प्रतिस्पर्धा गराइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *