समृद्धिका लागि सञ्चारः हाम्रो ध्येय

प्रकाशकीय
-जागरणको यात्रा १४ औं वर्षमा

तत्कालिन समय र समाजका लागि जागरण जरुर थियो । र त जन्मिएको धौलागिरीमा जागरणको उभार ल्याउने महत्वंकाक्षी लक्ष्य सहित ‘धौलागिरी जागरण’ । तर, यस्तो जागरण ल्याउने काम कुनै व्यक्ति बिशेषका तर्फबाट भन्दा सञ्चार माध्यमको संस्थागत तवरबाट गर्दा त्यसको आयु, स्थिरता, भरोसा र बिश्वसनियता बढी होला भन्ने पवित्र सोचको उपज हो यो जागरण । समयको अनुक्रमसँगै धौलागिरी जागरणले आफ्नो समय सापेक्ष भुमिकाबाट कत्ति बिचलित नहुँदै अविछिन्न यात्रा गरिह्यो । र आज सञ्चार माध्यमको विकासका लागि सहकारी माध्यम उपयुक्त हुने ठहरका साथ हामीले आदर्श सञ्चार सहकारी संस्था लिमिटेड मार्फत धौलागिरी जागरण पत्रिका प्रकाशन आरम्भ गरेको १४ औं वर्षमा प्रवेश गरेको छ । २०६३ फागुन २० गते नमुना अंक प्रकाशित गरी २३ गते विधिवत रुपमा पहिलो अंक प्रकाशित गरी अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको धौलागिरी जागरण २०६५ जेठ १ गते यता दैनिक रुपमा प्रकाशन भैरहेको छ ।

आदर्श सञ्चार सहकारीले धौलागिरी जागरण दैनिक मात्रै होइन । सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक, समन्वयी सञ्चार माध्यमका रुपमा धौलागिरी टेलिभिजन र डिजिटल सञ्चार माध्यमका रुपमा आदर्श सञ्चार अनलाईन समेत सञ्चालन गरेको छ । भौगोलिक रुपमा हाम्रो क्षेत्रमा सञ्चार माध्यम सञ्चालन गर्न निकै कठिन छ । आर्थिक रुपमा सञ्चार माध्यम सञ्चालन गरेर त्यसमा दैनिक परिश्रम गर्ने श्रमजिवीहरुलाई निर्धक्क आर्थिक जोहो गराउन गाह्रो छ । थुप्रै समस्या र चुनौतीका बावजुद धौलागिरी जागरण दैनिकले १३ बर्षको यात्रा सुखद रुपमा पार गरेको छ । आजको दिनसम्म आइपुग्न यसलाई धेरै खालका समस्यासँग जुध्नुपर्ने वाध्यता आइलाग्यो । पत्रिकाको मातृ संस्था आदर्श सञ्चार सहकारी संस्थामा थुप्रै सदस्यहरुको लगानी, कारोबार र समन्वय, राजनीतिक दल लगायत विभिन्न सामाजिक संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरुको सहयोग र समन्वय, यसमा काम गर्ने श्रमजिवीहरुको निरन्तरको मेहनत र लगनशिलताका कारण आजको दिनसम्म जागरणका पाइला लम्किरहेका छन् । यो क्षेत्रको सवल र सक्षम सञ्चार गृहका रुपमा स्थापित हुने आदर्शको रणनीतिक लक्ष्य, सञ्चार माध्यम मार्फत समाज रुपान्तरणमा योगदान गर्ने यसको मुल कर्ममा हामी निरन्तर प्रतिवद्ध छौ र भोलीका दिनमा पनि हुनेछौ ।

देशमा समय मात्र होइन, व्वयस्था पनि बदलिएको छ । व्यवस्था बदलिए पनि अवस्था, पात्र र प्रवृत्तिहरुमा अपेक्षाकृत परिवर्तन आउन सकेको छैन । जागरणको शुभारम्भमा संविधानसभाको निर्वाचन प्राथकितामा थियो, त्यसपछि संविधान निर्माण यसको मुल ध्येय थियो । २०७० मा दोस्रो पटक संविधानसभाको निर्वाचन मार्फत संविधान जारी भएपछि मुलुकको ध्यान समृद्धितर्फ अगाडि बढेको छ र जागरणको पनि राज्यले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यमा तर्फ केन्द्रित छ । जागरणको मुल उद्देश्य नागरिकलाई आर्थिक रुपमा सवल र सामाजिक रुपमा सभ्य, सु–सँस्कृत बनाउने हो । यो अभियानमा निरन्तर लाग्न फेरी पनि हामीलाई सबैको सहयोग र समन्वय जरुर छ । स्थानीय स्रोत र साधनको पहिचान, उत्पादन, संकलन, बजारीकरण र प्रशोधनबाट मात्रै समृद्धि सम्भव छ । स्थानीय स्रोतको परिचालनका लागि श्रम, सीप र पूँजिका लागि राज्य, निजी क्षेत्र र सहकारी क्षेत्रको समन्वय जरुरी छ । जनतालाई स्वरोजगार बनाउनका लागि अर्थतन्त्रका तीन वटै खम्बालाई संगसंगै अगाडि बढाउनका लागि आदर्श सञ्चार र यसले सञ्चालन गरेका सञ्चार माध्यमहरुको निरन्तरको खबरदारी, सचेतना र सहकार्य जारी नै रहने छ । धौलागिरी जागरण १४ औं वर्ष प्रवेशका अवसरमा यस अभियानमा निरन्तरको साथका लागि हाम्रा प्रिय पाठक, शेयर सदस्य, सञ्चालक, बिज्ञापनदाता, समस्त शुभेच्छुक र अहोरात्र खट्ने आदर्श टिम सबैलाई हार्दिक आभार । तपाई सबैको अभूतपूर्व साथ र माया निरन्तर प्राप्त हुने अपेक्षा सहित धन्यवाद ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *