सहकारीको साख बढाउन थप सक्रिय हुनु पर्छ : जि.सी.

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमा आएको समस्या समाधान गरी सहकारीको साख बढाउनका लागि थप सक्रियताका साथ कार्य क्षेत्रमा खटिन सम्पूर्ण सहकारीकर्मीहरुलाई आव्हान गर्नु भएको छ ।

जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको ११ औं वार्षिक साधारणसभाको शुक्रवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो आव्हान गर्नु भएको हो ।

पछिल्लो समय आम मानिसहरुमा सहकारीप्रति विश्वास कम भएको छ, सहकारीमा लागेका केही सहकारीको भावना विपरितका सहकारीकर्मीहरुका कारण आम मानिसमा देखिएको निरासालाई चिर्न, सहकारीप्रति विश्वास जगाउनका लागि सबै सहकारीकर्मीहरु थप सक्रियताका साथ कार्यक्षेत्रमा खट्न आवश्यक रहेको जिसीको भनाइ छ ।

No description available.

शरीरमा कुनै समस्या आयो भने हामी उपचार गर्न लाग्छौ, सहकारीमा पनि समस्या आयो भने त्यसको उपचार गर्ने विधि भनेको सदस्यहरुका बीचमा जाने, उनीहरुलाई संस्थाको यथार्थ अवस्था बताउने, सदस्यहरुको लगानी सुरक्षित छ भन्ने कुराको विश्वास दिलाउन सकेमा सदस्यहरुले सहकारीको समस्या बुझेर समाधान गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

कृषि क्षेत्रमा रहेको जनशक्ति विस्तारै विदेश लगायत अन्यक्षेत्रतर्फ अग्रसर भैरहेको भन्दै उहाँले कृषि सहकारी संघले जिल्लाका सबै कृषि सहकारीहरु र राज्यका निकायहरुसंग समन्वय गरेर उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउन सहयोग पुग्ने गरी कार्यक्रम अगाडि बढाउनसुझाव दिनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवाल, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटा, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि जिल्ला कृषि सहकारी संघसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघका संस्थापक अध्यक्ष मोहनलाल शर्मा, जिल्ला सहकारी संघका सञ्चालक जगन्नाथ सापकोटा, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी, बागलुङ नगरपालिका कृषि शाखाका प्रमुख सुवास सापकोटा लगायतले कृषि क्षेत्रलाई आम समुदायको आकर्षणको केन्द्र बनाउन सबै सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रम जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष मणिभद्र शर्माको स्वागत र सचिव गंगा बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभामा उत्कृष्ट कृषकहरु बानपा–४ का इन्द्रमती सुनार बानपा–९ का पदम बहादुर खत्रीलाई नगद १५ सय सहित पुरस्कृत गरिएको थियो ।

साधारणसभाले जिल्ला भित्र दर्ता भएका सबै कृषि सहकारी संस्थाहरुलाई संघमा आवद्ध बनाउने, जिल्लाका १० वटै पालिका लगायत सरोकारवालाहरुसंग समन्वय गरी कृषि उपजको अवस्था, विक्री वितरणका लागि आवश्यक योजना लगायतका विषयमा काम गर्ने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *