राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी

आदर्श अनलाइन, काठमाण्डौ

राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित हुनु भएको छ ।

महासंघको ३१ औं वार्षिक साधारणसभाबाट मल्ल निर्विरोध निर्वाचित हुनु भएको हो ।
साधारणसभाको पहिलो दिन शुक्रवार साढे छ बजेसम्मका लागि तोकिएको उमेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा मल्लको मात्रै उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन उपसमितिले उमेदवारी दर्ताका लागि शुरुमा ४ बजेसम्मका लागि समय तोेकेको थियो । सहकारी महासंघको ३० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष हुने अवसर मल्लले पाउनु भएको छ ।

महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष बन्नु भएकी मल्ल महासंघको ३० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष हुनु भएको हो । लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल मल्ल नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक सदस्य बन्ने पहिलो नेपाली पनि हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्चालक रहनु भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ । राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत रहेका पोखरेल महासंघको सञ्चालक, उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्ष हुनु भएको हो ।

खुल्ला तर्फको २ जना उपाध्यक्षका लागि ३ जनाको उमेदवारी परेको छ । खेम बहादुर पाठक, डि.बी.बस्नेत र शेषकान्त गौतमको उमेदवारी परेको निर्वाचत समितिले जनाएको छ ।

महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै ७ प्रदेश मध्ये सुदुरपश्चिम प्रदेश बाहेक छ वटै प्रदेशका सञ्चालकहरु निर्विरोध निर्वाचित हुनु भएको छ ।

कोशी प्रदेशबाट छत्र प्रसाद रिमाल, मधेश प्रदेशबाट शम्भु प्रसाद, बागमती प्रदेशबाट पार्वती न्यौपाने, गण्डकी प्रदेशबाट परितोष पौड्याल, लुम्बिनी प्रदेशबाट टिका न्यौपाने, कर्णाली प्रदेशबाट काशीचन्द्र बराल निर्विरोध निर्वाचित हुनु भएको छ ।

सुदुरपश्चिममा माधव प्रसाद जोशी र प्रेम सिंह भाटको उमेदवारी परेको छ ।

५ जना महिला सञ्चालकमा हुमा कुमारी जि.सी.(अञ्जु), योगमाया सुवेदी, एकता शाह, कमला कुमारी सुवेदी पौडेल, शारदा दाहाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

४ जना खुल्ला सदस्यका लागि बद्री प्रसाद लम्साल, प्रेम प्रसाद सुवेदी, होमनाथ जैसी, सुमन नेपाल, कृष्ण बहादुर खत्री र सञ्जय कुमार शाहको उमेदवारी परेको छ ।

केन्द्रिय संघ र सहकारी बैंकको तर्फबाट निर्वाचित हुँने तीन जना सञ्चालकहरुमा टेक प्रसाद चौलागाई, हरिहरनाथ योगी र नथुनी यादवको मात्र उमेद्वारी परेकाले उहाँहरु समेत निर्विरोध निर्वाचित हुनुभएको छ ।

महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीम प्रसाद तुलाचन तथा सदस्यहरुमा अम्मरनाथ न्यौपाने र हेम कुमारी अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ ।

२ जना उपाध्यक्षका लागि ३ जना, खुल्ला सदस्यमा ४ जनाका लागि ६ जना र सुदुरपश्चिम सञ्चालकमा १ जनाका लागि २ जनाले उमेदवारी दर्ता गराएको र अन्य सबै पदमा आवश्यक संख्यामा मात्र उमेदवारी परेको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्वाचन उपसमितिले शनिवार विहान १० बजेसम्मका लागि उमेदवारी फिर्ताको समय तोकेको छ । तोकिएको समयसम्म सहमति नभएमा ५ पदका लागि निर्वाचन हुने जनाइएको छ ।

महासंघको निर्वाचनका लागि तीन मुख्य राजनीतिक दलका सहकारीकर्मीहरुबीच धेरै पटक सम्वाद भएको थियो । सबैलाई मिलाएर लैजाने योजना अनुसार नै सहमतिको प्रयास भएपनि वर्तमान सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहकारी विभागका तर्फबाट पत्रकार सम्मेलन गरेर महासंघको निर्वाचनमा सहभागि नहुने जनाएका छन् ।

एमाले समर्थक सहकारीकर्मीहरुले आफुहरुले मागेजति सिट उपलब्ध नगराएको भन्दै कांग्रेस र माओवादी समर्थक सहकारीकर्मीहरुले उमेदवारी नदिएका हुन् ।
४ बजेसम्मका लागि तोएिको उमेदवारी दर्ताको समय सकिने समयसम्म पनि वार्ता र सम्वादमा रहेका कांग्रेस र माओवादी समर्थक सहकारीहरुका लागि डेढ घण्टा समय थप गर्दा पनि उमेदवारी दर्ता नगराएको एमाले समर्थक सहकारीकर्मीहरुले जनाएका छन् ।

कांग्रेस र माओवादीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका सहकारी विभाग प्रमुख र माओवादीका सहकारी विभाग प्रमुखले एमालेले आफुहरुले मागेजति सिट नदिएका कारण उमेदवारी दर्ता नगराएको बताएका छन् ।

एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेल र माओवादीका सहकारी विभागका प्रमुख लिलामणी पोखरेल सहित सहकारीका नेताहरुबीचको छलफलका क्रममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, १० जना सञ्चालक र एक जना लेखा सुपरीवेक्षण समितिको सदस्य एमाले समर्थकहरुलाई, उपाध्यक्ष एकजना, सञ्चालक ५ जना र लेखा सुपरीवेक्षण समितिको संयोजक नेपाली कांग्रेस समर्थकलाई तथा एकजना उपाध्यक्ष, ४ जना सञ्चालक र लेखा सुपरीवेक्षण समितिको सदस्य एक जना माओवादी समर्थकहरुले लिने गरी सहमति नजिक पुगेको समयमा गठबन्धनलाई बहुमत चाहियो भन्दै उनीहरु बाहिर निस्केको एमाले सहकारी विभागका एक सदस्यले बताए ।

केही दिनदेखि लगातार चलिरहेको वार्ता सहमति नजिक पुगेको थियो, महासंघको साधारणसभामा सहभागी प्रतिनिधिहरु एमाले समर्थक धेरै भएका कारण एमालेले बढी सिटमा दावी गर्नु स्वभाविक थियो, कांग्रेस सहमतिको नजिक नै थियो, माओवादीहरुले आफ्नो उपस्थिति भन्दा बढी मागेपछि समस्या सिर्जना भएको उनले बताए । एमालेले कांग्रेस र माओवादीलाई विभाजन गराउन खोजेका कारण समस्या सिर्जना भएको कांग्रेस समर्थक एक सहकारीकर्मीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *