नगर खानेपानी र नवनिर्वाचित टिमको कार्यभार

सम्पादकीय
राजनीतिबाट पछिल्लो समय हर विषय र क्षेत्र प्रभावित छ । देशको मूल नीति राजनीतिको विषयमा चासो र नेतृत्व लिने होड त स्वभाविक हो । तर हामीकहाँ अस्वस्थ र अतिवादको राजनीतिले समाज र देशलाई अस्थिरता र चरम बेथितिको बाटो तर्फ अग्रसर बनाइरहेको छ । यसले शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, खानेपानी लगायतमा पनि कुरुप राजनीति फस्टाइरहेको छ । फलतः पछिल्लो समय विद्यालय व्यवस्थापन समिति गठन देखि खानेपानी उपभोक्ता समिति गठन गर्दा समेत दलीय गठबन्धन (प्यानल) बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने, त्यसभित्र पनि गुट उपगुटको चलखेल, हारजितको कथा उदेक लाग्दो देखिन्छ । यही अनुक्रममा बागलुङ बजारमा खानेपानीको व्यवस्थापनको जिम्मेवारी पाएको नगर खानेपानी उपभोक्ता संस्थाको शनिवार नर्या कार्यसमिति चयन गरियो । जसका लागि दुई फरक फरक गठबन्धनका बिच मतदान भयो ।

मतदानबाट नेकपा एमाले, एकीकृत समाजवादी लगायतका केबी राना मगर नेतृत्वको प्यानलले आंशिक बाहेक सबैजसो पदमा जित हासिल ग¥यो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतको प्यानलले भने उपाध्यक्ष सहित दुई सदस्यमा जित हासिल गरेको छ । अन्तिम मत परिणाम अनुसार रानाले जम्मा खसेको ९ सय ८५ मत मध्ये ४ सय ३४ मत लिएर बिजयी भए । अध्यक्षका प्रत्यासी जयराम भारीले ४ सय ८ मत प्राप्त गरे भने भुपेन्द्र खड्काले ८५ र सुभास अचार्यले १ मत पाए । आचार्यले अन्तिम समयमा भारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए । अहिले दरिलो गठबन्धनका बाबजुद पनि जित हासिल गरेका अध्यक्ष राना तिनै पात्र हुन्, जो यसभन्दा अघिको कार्यकालमा अध्यक्षकै रुपमा जिम्मेवारीमा थिए । त्यसबेला सदरमुकामको खानेपानी व्यवस्थापनमा अपेक्षाकृत र उल्लेख्य काम गर्न नसकेकोमा उक्त समिति आलोचित हुँदै आएको थियो । अहिले उनै राना धौलागिरी अस्पताल र धौलागिरी बहिरा विद्यालयको अध्यक्षको कुशल नेतृत्व गरेकै कारण उपभोक्ताले पुनः विश्वास र भरोसा सहित खानेपानी उपभोक्ता संस्थामा पनि शंकाको सुविधा र आफ्नो अमूल्य मत दिएका छन् ।

नगरमा बर्खायाममा हिलाम्य र हिउँदमा पानीका लागि काकाकुल बन्नुपर्ने बिडम्बनापूर्ण अवस्था अहिले पनि बिद्यमान छ । हक्की स्वभावका अध्यक्ष रानाका सामुन्ने बागलुङ बजारमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने चूनौतिका पहाडहरु छन् । साना शहरी आयोजनाको निर्माण र प्रगति निराशाजनक अवस्थामा छ । खानेपानी संस्था भित्र भ्रष्टाचार र अपारदर्शिताको विषय लामो समयदेखि उठ्दै आइरहेको छ । उपभोत्ताका घरघरमा आउने पानी पनि पिउन योग्य छैन । बजारबासी जार र बोतलको पानी किनेर खानुपर्ने बिबशतामा छन् । यस्तो बेलामा भोटिङ नै भएर चुनिएर आएको नयाँ नेतृत्व प्रति अबश्य आशा त हुन्छ । यो आशालाई उपलब्धिमा रुपान्तरित गर्ने कि निराशामा परिणत हुन दिने नयाँ नेतृत्व नयाँ समितिकै हातमा हुनेछ । बागलुङ नगर खानेपानी उपभोक्ता संस्थामा तीन हजार बढी उपभोक्ता भए पनि अहिले ९ सय बढीले मात्र मतदान गर्नुपर्ने अवस्था किन छ ? समिति नै भंग गरेर किन स्थानीय प्रशासन र पालिकाले तदर्थ समिति बनाउनु पर्ने अवस्था आयो ? आम बागलुङ बजारबासीको अपेक्षा, आवश्यकताका लागि गर्नुपर्ने प्राथमिकता र अपरिहार्य काम कदम केके छन् ? यसमा निश्चय पनि वर्तमान नेतृत्व अनुभवी भएकाले अल्झिने, द्धिबिधामा बस्ने छैन । यी र यस्ता तमाम प्रश्न, सवाल, संशयहरुको यथोचित समाधान खोज्दै वर्तमान समिति सक्रिय र समर्पित हुनेछ । निर्वाचनबाट निर्वाचित अध्यक्ष केबी रानामगर सहित सिंगो टिमलाई सफल कार्यकालको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *