उपचार नपाएर अपाङ्गता : परिवार पाल्न कृषि कर्म


खेमराज गौतम, बागलुङ
जन्मदा सकुसल जन्मेका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उहाँ उभिनै सक्नुभएन ।

पटक–पटक खुट्टा भाँचिदा समेत उपचार नपाएका कँडेल सधैका लागि अपाङ्ग हुनुभयो । ५० वर्षका कँडेल अहिले हात र खुट्टा दुबैको सहाराले सामान्य हिड्डुल मात्रै गर्न सक्नुहुन्छ । कँडेल मात्रै हैन उहाँकी श्रीमती समेत शारिरिक आपङ्गता हुनुहुन्छ । ४० वर्षीया ढाल कुमारी कँडेलको समेत देब्रेहात छैन । अज्ञानता या उपचार अभाव हो । भाँचिएको हात नजोडिदा ढाल कुमारी कँडेलको देब्रे हात काट्नुप¥यो ।

श्रीमान खुट्टाको अपाङ्गता र श्रीमती हातको अपाङ्गता भएपछि आयआर्जन गर्न समस्या भयो । एक छोरी र दुई छोराको परिवार पाल्न अपाङ्गतानै बोझ बन्यो कँडेल दम्पतीलाई । तर दम्पतीलाई सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन अपाङ्गताले भने छेक्न सकेन ।

“श्रीमतीको हात छैन, म खुट्टाको अपाङ्गता, हातले टेकेर हिड्नुपर्ने बाध्यता मलाई छ, अपाङ्गतालाई गाउँमा बाच्न समस्या भयो, भीरपाखा कसरी हिड्ने, सहज खोज्न शहर पस्ने निधो ग¥यौ तर कठिन थियो परिस्थिति” २० वर्ष अघिको दिन सम्झदै युवराज कँडेलले भावुक हुँदै भन्नुभयो “एक लाखमा आफ्नो भागको पुख्यौली सम्पती बेचेर बुर्तिवाङ बजार आएका हौं, सामान्य किराना पसल गरेर छाप्रो बनाएका हौं ।”

कँडेलको जस्तै खुट्टा भाँचिने समस्या १३ वर्षीया कान्छो छोरा भरत कँडेलमा समेत देखिएको छ । भरत समेत बैशाखीको सहारामा विद्यालय आउने जाने गर्नुहुन्छ ।
छोराको उपचारको क्रममा डाक्टरबाट कँडेलले टुक्रे र झुरो हड्डीका कारण बाबा र छोरामा यो समस्या आएको सुनेको बताउनुभयो । छोराको अपाङ्गता बाल अस्पताल बनेपामा उपचार भएको थियो ।

कँडेल सहित परिवारका तीन सदस्य अपाङ्गता जेठो छोरी र छोरा भुवन मात्रै सपाङ्ग हुनुहुन्छ । छोरीको बिबाह भइसकेको छ भने भुवन कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।

छाप्रो अघि तीन वटा प्लाष्टिक टर्नेल र केही खाली जग्गामा प्याजका बिरुवा विक्रिका लागि तयारी अवस्थामा थिए ।
कँडेलले आफ्नो कृषि कर्म देखाउदै भन्नुभयो “परिवार पाल्न बाध्य भएर कृषिमा लागे, अधिकारीचौरमा समेत पुर्खाले कृषि नै गरेका थिए, अहिले अधिकारीचौर गाउँ टर्नेल गाउँ भएको छ, प्याजका बिरुवा सहित अन्य तरकारी विक्रि गरेर चार जनाको परिवार धानिदै आएको छ ।”

कँडेल दम्पतीले साह्रो गाह्रो काम अन्य कामदार बोलाएर गर्दै आएपनि तरकारीको स्याहार सुसार भने आफै गर्दै आउनुभएको छ । वार्षिक १२ हजार भाडा तिर्नेगरी साढे दुई रोपनी जग्गामा अहिले प्याजका बिरुवा उत्पादन भएर बिक्रि भइरहेका छन् । अन्य समयमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको कँडेल दम्पतीले कृषि पेशा रहरको नभएर जीवन निर्वाहको लागि गरेको बताउनुभयो ।

“मेरो पनि उपचारको अभावले भाँचिएको हात नलागेपछि अपाङ्ग भए, भीर पाखामा काम गर्न समस्या भएपछि शहर झरेर किराना पसल गरेका थियौं, व्यापार राम्रै थियो, कान्छो छोरा जन्मेपछि पुन समस्या थपियो, श्रीमानको खुट्टा भाँचिने समस्या कान्छो छोरमा देखियो” श्रीमती ढाल कुमारी कँडेलले भन्नुभयो “बुर्तिवाङ बजारमा छाप्रो बनाउन सहयोग गरेको किराना पसल छोराको उपचारले छोड्न बाध्य भयौं, तीन महिना अस्पताल बस्नुपर्ने समस्याले पसल छोडियो, अहिले थला परेको छोरो सबैको सहयोगमा उपचारपछि बैशाखी टेहेर हिड्ने भएको छ ।”
कान्छो छोरा भरतको खुट्टाको शल्यक्रिर्या गर्न पाँच लाख लाग्ने भएपछि सहयोग संकलन अभियान मार्फत चार लाख जुटेर शल्यक्रिर्या गरेको युवराज कँडेलले बताउनुभयो । छोराको खुट्टाको उपचार सहयोग संकलन गरेर गरेपनि दैनिक घर खर्च चलाउन कृषि कार्य गर्दै आएको उहाँको भनाई छ ।

किराना पसल छोडेपछि परिवार हुर्काउनकै लागि कृषिमा लागेको कँडेल दम्पतीको भनाई छ । “किराना पसल राम्रै चलेको थियो, छोराको उपचारका लागि पटक–पटक अस्पताल धाउदा समस्या भयो, पसल छोडियो” उहाँले भन्नुभयो “छोराको उपचार गर्ने खर्च सामाजिक सञ्जाल र मिडियाले जुटाए तर घर खर्च चलाउन कृषि कर्ममा छौं, कृषिमा लागेकै ८ वर्ष भयो ।”
पटक–पटक खुट्टा भाँचिने समस्याले आजित कँडेल अहिले परिवार पाल्न आफै मेहनत गर्दै आउनुभएको छ । घर खर्च चलाउन समस्या भएपछि नर्सरी पेसामा अहिले कँडेल परिवार छ । उहाँले शारिरिक अपाङ्गताका बाबजुत समेत व्यवसायिक नर्सरी तथा तरकारी पेशा अगाल्दै आउनुभएको छ ।

अहिले हात र खुट्टा दुबैले टेकेर हिड्ने अवस्थामा हुनुभएका कँडेलले श्रीमतको सहारामा प्याजका बिरुवा उत्पादन गरेर बिक्रि गर्दै आउनुभएको छ । उत्पादन गर्न सके बजारको अभाव नभएको बताउदै कँडेलले धेरै उत्पादन गर्न शारिरिक अवस्थाले नसकेको जानकारी दिनुभयो । उहाँले घर नजिकै थोरै जग्गा भएपनि टाढा गएर कृषि गर्न नसक्दा विरुवा र तरकारीको माग हुँदा समेत पु¥याउन नसकिएको बताउनुभयो ।
कान्छो छोराको देब्रे खुट्टामा स्टिल राखिएको छ भने दाहिने खुट्टामा उपचार खर्चको अभावले नै स्टिल राख्न नसकिएको कँडेलको भनाई रहेको छ ।

कान्छो छोराको अहिले सम्म छ पटक खुट्टा भाँचिएको उहाँको भनाई छ । अहिले छोरा बैशाखीको सहाराले हिड्डुल गरेपनि विद्यालय जान/आउन दाईको सहारा चाहिने गरेको छ । कान्छो छोरोको उपचारमा मात्रै हाल सम्म रु. १३ लाख भन्दा बढी रकम खर्च भइसकेको कँडेलको भनाई छ ।

बिउँपूजीका लागि प्याजको बिउँ खरिद गर्नका लागि ग्रामिण स्वास्थ्य सुधार परियोजा विवाईसी संस्थाले रु. १५ हजार सहयोग गरेको बताउदै कँडेलले १५ हजारको बिउँबाट उत्पादन गरेको बिरुवा बिक्रि गरेर ४० हजार कमाएको सुनाउनुभयो । कँडेल दम्पतीले प्याजका विरुवा बाहेक, सिमि, बन्दा र काउली समेत उत्पादन गर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *