वैकल्पिक सडक स्तरीय बनाइँदै

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नती गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नती गर्न थालिएको हो । वि.सं. २०७३ सालमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ट्रायक खोलिएको थियो । उक्त सडक स्तरोन्नतीका लागि गत वर्ष केन्द्र सरकारको एक करोड ३० लाख र गाउँपालिकाको एक करोड तीस लाख गरि दुई करोड ६० लाख विनियोजन गरि काम भएको थियो ।

उक्त बजेटले स्तरोन्नतीको काम नसकिएपछि यस वर्ष केन्द्र सरकारले विनयोजन गरेको ५० लाख र गण्डकी प्रदेशले छुट्याएको ३० लाखले सडक स्तरोन्नती गर्न थालिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा तीन वर्षदेखि निरन्तर स्तरोन्नतीको काम गरि रहेको उहाँको भनाइ छ । गत वर्ष सडक फाकिलो बनाउने, ठाउँ–ठाउँमा कल्भट र नाली निर्माणको भएको गौतमले बताउनुभयो । वैकल्पिक सडकका लागि गाउँपालिकाले अहिलेसम्म तीन करोड बढि रकम खर्च गरि सकेको उहाँको भनाइ छ ।

करिब २५ किलोमिटर सडकको ६० प्रतिशत मात्रै स्तरोन्नती भएको छ । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्को पट्टिबाट लगिएको थियो । यो सडकले ढोरपाटन नगरपालिका वडा नम्बर २ देखि निसीखोला गाउँपालिका वडा नम्बर ५ जोडेको छ । सडक साँघुरा र अप्ठ्राया भएको हुँदा स्तरोन्नती गर्न थालेको गौतमले बताउनुभयो । यो सडक गाउँपालिकाको गौरवको आयोजना अन्तरगत रहेको उहाँ बताउनुहुन्छ ।

वैकल्पिक सडक २०७३ मा साविक निसी, बोहोरागाउँ र देविस्थान गाउँ विकास समितिले दुई/दुई लाख, अर्थ मन्त्रालयबाट ४०, डोलीडार संस्थाबाट सात लाख, जिल्ला विकास समितिबाट आठ लाख गरि ६१ लाख रुपैयाँमा सडकको ट्रयाक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका–२, ४ र ५ का हजारौँ नागरिकको दैनिकी फेरि दिएको छ ।

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले यस सडक स्तरोन्नतीका लागि ठेक्का प्रक्रियम अगाडि बढेको भन्दै केही दिनमै काम सुरु हुने बताउनुभयो । केन्द्र सरकारले पचास लाख रुपयौँ विनियोजन गरेको हुँदा सो अनुसार स्टिमेट गरेर ठेक्का लगाउन सूचना प्रकाशन गरि सकेको र त्यो प्रक्रिया अन्तिम चरणमा पुगेको हुँदा यही महिनादेखि निर्माण कम्पनी काममा लाग्ने उहाँ बताउनुहुन्छ ।

निसीखोला गाउँपालिका–२ का स्थानीय भीमबहादुर खत्रीले वर्षौँ अगाडि खुलेको सडक हालसम्म पूर्ण रुपमा स्तरोन्नती नहुँदा यात्रा र ढुवानी गर्न निकै समस्या हुने गरेको बताउनुभयो । दुई वर्षदेखि स्तरोन्नती हुन थाले पनि हालसम्म आधा मात्रै सकड फराकिलो बनेको उहाँको भनाइ छ । सडक साँघुरो र गाडीनै गुड्न नमिल्ने हुँदा यस सडकमा कुनै पनि यातायातका साधान नगुड्ने खत्री बताउनुहुन्छ ।

“यो सडक खुलेको धेरै वर्ष भयो तर अहिलेसम्म पुरै स्तरोन्नती हुन सकेको छैन, पारी पट्टीको लोकमार्ग कालोपत्रे भइसकेर भत्किन थालेको छ, यो सडकको अवस्था निकै खराब छ,” उहाँले भन्नुभयो – “थोरै बजेट पर्दो रैछ, हरेक वर्ष काम त गर्छन्, तर त्यसले पूर्णता पाउन सकेको छैन, सम्बन्धित निकायले ध्यान दिन जरुरी छ, करोडौँ खर्च गरे सडक खुलाए तर अप्ठ्यारो हुँदा गाडी गुड्न सकेका छैनन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *