ब्यूँतियो इमेज सहकारी : अध्यक्षमा कृष्ण बहादुर सार्की


आदर्श अनलाइन, बागलुङ
इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको विशेष साधारणसभा शनिवार सम्पन्न भएको छ । विशेष साधारणसभाले कृष्ण बहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति र हरि बहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा बाल कुमारी केसी, सचिवमा सीता केसी, कोषाध्यक्षमा सरिता तिमिल्सिना कंडेल तथा सदस्यहरुमा गुप्त बहादुर खत्री, कृष्णा कार्की र अजिज उल मिया रहनु भएकोछ । लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा कुल बहादुर राना र गोमा विश्वकर्मा रहनु भएको छ । विशेष साधारणसभाले इमेज सहकारीलाई वैधानिक रुपमा अगाडि बढाउनका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्नुका साथै सम्पत्ती दायित्वको एकीन गरी पीडितहरुको वचत रकम फिर्ताका लागि समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।

विशेष साधारणसभाको उद्घाटन गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पाठकले सहकारीको भावना विपरित काम गर्ने केही सहकारीहरुको बदमासीलाई देखाएर सिंगो सहकारी अभियानलाई कमजोर बनाउने काम भएको बताउनुभयो । उहाँले सहकारीमा बदमासी गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन र राम्रो गरेकाहरुलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो ।

राज्यका तर्फबाट समस्या समाधानमा प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिदै पाठकले सहकारीको सवल पक्षलाई जोगाउनका लागि पनि खराव पक्षलाई कार्वाही गर्नु पर्ने बताउनुभयो । इमेज पीडितहरुको न्यायका लागि गण्डकी प्रदेशसभा र प्रदेश सरकारसंग समन्वय गर्ने प्रतिवद्धता पनि पाठकले व्यक्त गर्नु भएको छ ।



कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जीत शेरचनले सहकारी अभियानमा देखिएको समस्या समाधानमा राज्यकै भूमिका कमजोर देखिएको बताउनुभयो । उहाँले सजिलो पर्दा अगाडि आउने र समस्या पर्दा सहजीकरण गर्न नसक्ने अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिनुभयो । प्रदेश सरकारसंग समन्वय गरेर समस्या समाधानमा सहजीकरण लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता शेरचनले व्यक्त गर्नु भएको छ ।

बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रदेश सरकार र संघीय सरकारले अनुमति दिएका सहकारीहरुका कारण बागलुङका अन्य सहकारीहरुलाई समेत समस्या सिर्जना भएको बताउनुभयो । प्रदेश र संघबाट अनुमति लिएका दुईवटा सहकारीमा आएको समस्याका कारण बागलुङका अन्य सहकारी र व्यवसायीहरुलाई समेत समस्या भएको भन्दै श्रेष्ठले समस्या आएका सहकारीहरुका पीडितहरुलाई न्याय दिनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीलाई यसको मर्म र भावना अनुसार सञ्चालन गर्न नसक्दा समस्या आएको बताउनुभयो । समस्या आएपछि सबै मिलेर समाधान खोज्नु पर्नेमा जोड दिदै उहाँले विशेष साधारणसभाबाट बन्ने सञ्चालक समितिलाई इमेजका शेयर सदस्यहरु, वचतकर्ता र नियमनकारी निकाय लगायतको साथ आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले इमेजको विशेष साधारणसभालाई राज्यका निकाय, सहकारी अभियान र आम समुदायले चासोका साथ हेरेका छन, यो साधारणसभाबाट पीडितहरुलाई न्याय दिने गरी योजना बनाउन तथा समस्या समाधानका लागि दवावमुलक र कानुनी प्रक्रियालाई संगसंगै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेफ्स्कुनका पूर्व कोषाध्यक्ष तथा अधिवक्ता नानीबाबु बुढाथोकी, बागलुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेल, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, इमेज पीडित वचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्की, गलकोटका संयोजक मञ्जु शर्मा चालिसे, बुर्तिबाङका संयोजक याम बहादुर कुँवरले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका शेयर सदस्य बाल कुमारी केसीको अध्यक्षता, संघर्ष समितिका सचिव याम बहादुर पोखरेलको सञ्चालन र संघर्ष समितिका सदस्य शेखर खड्काको स्वागतमा सम्पन्न भएको थियो । इमेज सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरु सम्पर्क विहिन भएका कारण बन्द रहेको संस्थालाई सुचारु गर्ने लक्ष्यका साथ विशेष सधारणसभा सम्पन्न गरिएको इमेज पीडित वचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।

वचतकर्ता सदस्यहरुको रकम फिर्ता गर्न नसकेर संस्था बन्द गरी संस्थापक अध्यक्ष देव कुमार नेपाली सहित मुख्य जिम्मेवार व्यक्तिहरु सम्पर्क विहिन भएपछि इमेज पीडित संघर्ष समिति गठन गरी पीडितहरुले आन्दोलन गर्दै आएका थिए ।

“आन्दोलनसंगै सरोकारवाला निकायहरुमा कानुनी तरिकाले समस्याको समाधान खोज्न धेरै नै प्रयत्न गरियो, तर कही कतैबाट निकास आएन, बरु पीडितका मञ्च प्रयोग गरेर समस्या बल्झाउने काम भए” इमेज वचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले भन्नुभयो, “समस्या समाधानका धेरै उपाय खोज्दै जादा संस्था व्यूताउने उपाय नै उत्तम विकल्पका रुपमा देखिएको छ, अझै धेरै काम गर्नु पर्नेछ, त्यसको सम्पूर्ण सहजीकरणका लागि कानुनी रुपमा अगाडि बढ्न सञ्चालक समिति चयन गरिएको हो, आन्दोलनले ध्यानाकर्षण गराएको छ, अब वैधानिक रुपमा अगाडि बढ्नका लागि संस्था सञ्चालन महत्वपूर्ण काम भएकाले सोही अनुसार अगाडि बढेका छौ” कार्कीको भनाइ छ ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ४ मा संस्थाको सञ्चालक वा व्यवस्थापकबाट आफ्नो जिम्मेवारी पूरा नगरी संस्था सञ्चालनमा समस्या उन्पन्न भएको अवस्थामा दर्ता अधिकारीलाई जानकारी दिई साधारण सदस्यहरु मध्येबाट बहुमत सदस्य उपस्थित भई विशेष साधारणसभा गर्न सकिने व्यवस्था गरिएको छ ।

पीडित वचतकर्ताहरुले गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, सहकारी रजिष्ट्रार भेषराज रिजाल समेतको उपस्थितिमा पुस १३ गते गरेको छलफलका आधारमा सदस्यहरुका तर्फबाट विशेष साधारणसभा बोलाइएको पीडित सदस्यहरुले जनाएका छन् ।
बचतकर्ताको डेढ अर्ब बढी रकम भुक्तान नगरी इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष देव कुमार नेपाली सहित मुख्य जिम्मेवार सञ्चालकहरु फरार भएपछि शेयर सदस्यहरुले सहकारीलाई जीवन्तता दिनका लागि निरन्तर प्रयास गर्दै आएका थिए । देव कुमार नेपालीको नाममा रहेको सम्पती बैंकमा राखेर लिएको ऋण तिर्न बैंकले लिलामी प्रक्रिया अगाडि बढाएपछि पीडितहरुले संस्था ब्यूताएर समस्या समाधान गर्न बैंकहरुसंग समेत छलफल गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो ।

संस्था व्यूताएर बैंकको ऋण तिर्ने तथा वचतकर्ताको वचत फिर्तामा सहजीकरण गर्न बैंकहरुलाई अनुरोध गरिएको छ, बैकहरुका तर्फबाट सकारात्मक सुझाव र समन्वय गर्ने प्रतिवद्धता व्यक्त भएको कार्कीले बताउनुभयो ।

नेपालीले बागलुङ बजार र बुर्तिवाङका घर तथा जग्गा धितो राखेर बैंकबाट लिएको ऋण तिरेर सहकारीको नाममा उक्त घर तथा जग्गा ल्याउने, बैंकको ऋण तिरेर बाँकी रहेको सम्पती बचत कर्तालाई दिने गरी सहकारीको विशेष साधारण सभा बोलाउने निर्णय गरिएको पीडित संघर्ष समितिका सचिव याम प्रसाद पोखरेलले बताउनुभयो । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली अध्यक्ष रहेको इमेज सहकारीले बागलुङबाट डेढ अर्ब रकम उठाएर ९ महिनादेखि फरार छन् ।

वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द भएको थियो । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संयोजनमा सहकारीकर्मीहरुको पहलकदमीमा बैशाख १२ गतेदेखि कार्यालय सञ्चालनमा ल्याइए पनि जेठ ५ गतेदेखि इमेजका संस्थापक अध्यक्ष नेपाली सहितको टिम सम्पर्क विहिन बनेको थियो ।

पीडित वचतकर्ताहरुले सहकारी व्यूताउने निर्णय गरेको भोलीपल्ट गत मंसिर ५ गते फेसबुक लाइफमा आएका देवकुमार नेपालीले आफ्नो सम्पत्ती बेचेर वचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । प्रतिवद्धता व्यक्त गरेको दुई महिनासम्म पनि नेपालीले समस्या समाधान गर्ने कुनै प्रयास नगरेको पीडितहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *