कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या, चार करोड भुक्तानी रोकियो

आदर्श अनलाइन, बागलुङ
नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख अभिषेक अधिकारी दुई महिना अगाडि सरुवा भई गएपछि हालसम्म प्रमुख नआउँदा भुक्तानीदेखि धेरै काम अलपत्र रहेका छन् । आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भई सक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन ।

कार्यालय प्रमुखको रुपमा राम कृष्ण गिरीलाई विभागबाट खटाए पनि हालसम्म कार्यालयमा उपस्थित नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङका सूचना अधिकारी कोमल शाहले बताउनुभयो । गिरीले मन्त्रालयबाट पत्र बुझिसकेको तर संघीय कार्यान्वयन इकाइले रमना दिएपछि यसै महिना कार्यालयमा आउने बताउनुभयो । आयोजनाका लागि यस वर्ष संघीय सरकारले आठ करोड बजेट विनियोजन गरेको छ ।

नयाँ सात वटा ठेक्कामार्फत निर्माणको काम सुरु भइरहेको उहाँको भनाइ छ । पाँच वटा योजनाको काम सिर्जना एण्ड कुञ्जम जेभी, एउटा श्रीमान निर्माण सेवा हेटौँडा र एउटा ठेक्का सम्झौता भइसकेको भन्दै अब निर्माणको चरणमा रहेको शाहले बताउनुभयो । हालसम्म छ वटा योजनाको कामका लागि ठेक्का सम्झौता भई मूल्याङ्कनसमेत भइसकेको छ ।

सूचना अधिकारी शाहले भन्नुभयो – “हालसम्म ५० लाखको घम्चिनमा सडकको काम सम्पन्न भइ सकेको छ, ढोरपाटन नगरपालिका–३ पुर्कोट सडकको २५ लाखको काम पनि सकियो र कुत्थाप्लामा पार्क निर्माणको काम अन्तिम चरणमा छ तर भुक्तानी गर्न सकिएको छैन, गत वर्षको सहित हालसम्म सम्पन्न गरिएका योजनाहरु चार करोड भुक्तानी दिन बाँकी रहेको छ, हाकिम साप आएपछि मात्रै काम हुने हुँदा अहिलेसम्म रोकिएको हो, उहाँ आउनु भयो भने मात्रै काम सुरु हुन्छ ।”

आर्थिक वर्ष २०६७/०६८ देखि सरकारले व्यवस्थित शहर बनाउने भन्दै मध्यपहाडी लोकमार्गका विभिन्न १० स्थान छनौट गरेको थियो जसमध्ये बुर्तिबाङ पनि रहेको छ । १२ वर्ष बित्न लाग्दा कार्यालयले अपेक्षा अनुसार काम भने गर्न नसकेको स्थानीयको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *