नक्कली लाइसेन्स,लोकलज्जा र कारबाही

सम्पादकीय
देशका सरकारी कार्यालय कति बेथितिग्रस्त रुपमा चलिरहेको छ ? केही वर्ष अघि सम्म देशभरका कुनै पनि यातायात व्यवस्था कार्यालय पुगे काफी हुन्थ्यो । यसमा पछिल्लो समय तुलनात्मक रुपमा आंशिक सुधार आए पनि अझै पनि कैयन बेथिति भने व्याप्त नै छन् । यही यातायात सम्बन्धी लाइसेन्सबारे अहिले एक खोज खबर सार्वजनिक भएको छ । जसबाट सिंगो देश तरंगित बनिरहेको छ । यस खबरले सरकारी उच्च पदस्थ व्यक्तिहरुकै सेटिङमा देशमा कति गम्भीर लापरबाही हुँदोरहेछ भन्ने कुराको यथार्थ उजागर भएको छ । २०७२ भदौयता गत भदौसम्म मात्रै यातायातको लिखित परीक्षा र ट्रायलविना नै ६६ हजार ६६ थान नक्कली लाइसेन्स जारी भएको भेटिएको छ ।

अझ गम्भीर कुरा त यस्तो नक्कली लाइसेन्स जारी गर्नमा यातायात कार्यालयदेखि यातायात व्यवस्था विभागसम्मकै कर्मचारीको मिलेमतो रहेको तथ्य भेटिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागकै रिपोर्टमा यस्तो तथ्य भेटिदाँ समेत यथोचित कदम नचाल्नु अर्को गम्भीर कुरा हो । यातायात कार्यालयहरूमा गैरकानुनी गतिविधि भएको चाल पाउँदा समेत विभागका महानिर्देशकहरु किन आँखा चिम्लिए ? यसमा जरुर छानविन हुनुपर्छ । फर्जी लाइसेन्स जारी हुने गरेको सूचना पाएपछि यातायात व्यवस्था विभागले समिति नै गठन गरेर छानबिन गरेको थियो । समितिले गत २० पुसमा प्रतिवेदन बुझाएको थियो । समितिले लिखित र ट्रायलविनै एक लाख दुई हजार सात सय ११ फर्जी लाइसेन्स जारी भएको रिपोर्ट तयार गरेको थियो । यातायात व्यवस्था कार्यालय, वीरगन्जबाट मात्रै तीन हजार ६ सय आठ नक्कली लाइसेन्स जारी भएको पाइएको छ । प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पठाइएको छ । अख्तियारले यसमाथि छानबिन थालिसकेको छ । यसका लागि अख्तियारले विभागबाट कागजपत्रसमेत लगिसकेको छ । सिआइबीले भने हालसम्म छानबिन थालेको छैन ।

नक्कली लाइसेन्स प्रकरण यो देशका लागि अर्को लोकलज्जाको घटना हो । यसले सिंगो देशको सरकारी सेवा, प्रणाली कति भ्रष्ट र बेथितिमा चलिरहेको छ भन्ने डरलाग्दो परिदृश्य देखाएको छ । अहिले सातै प्रदेशमा ३५ यातायात कार्यालयबाट लाइसेन्सलगायत यातायातका सेवा प्रवाह हुन्छ । तर, लाइसेन्सको केन्द्रीय प्रणाली भने विभागसँगै छ । लाइसेन्स जारी नै गर्ने सीधा भूमिकामा विभागका प्रमुख संलग्न नहुन सक्छन् । तर, यस्तो धन्दा देशभरि चलिरहँदा पनि त्यसको अनुगमन र नियमनमा उनीहरूले किन मौनता साँधे ? एकातर्फ लाइसेन्स परीक्षा दिएर पास भएकाहरुको वर्ष दिन सम्म लाइसेन्स प्रिन्ट भएर नआउने, अर्को तर्फ नक्कली लाइसेन्स लाखौंको संख्यामा बितरण गरिने कुरासँग ‘सेटिङ’को साइनो निश्चित छ । नक्कली लाइसेन्स काण्डमा सरकारले गम्भीरतापूर्वक छाविन गर्नुपर्छ । र दोषी ठहरिए कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । यो घटना सरकारी तलबमा देशलाई नै बदनाम गराउँदै रजगज चलाउनेहरु सजायको भागिदार हुन्छन् भन्ने नजीर स्थापित गराउन सक्नुपर्छ । जसका कारण भोलिका दिनमा कसैले यस्तो भ्रष्ट गतिविधि गर्ने सोच्न सम्म नसकोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *