बगैचा व्यवस्थापन गर्दै किबी खेती गर्ने कृषक

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लि क्षेत्रका किबी खेती गर्ने कृषकहरुले किबी बगैचा व्यवस्थापनको अभ्यासमा व्यस्त हुन थालेका छन् । बेनी नगरपालिकाको वडा नम्बर ३ भकिम्लि क्षेत्र किबी खेतीका लागि निकै उत्तम क्षेत्र भएको हुनाले पनि त्यस क्षेत्रमा कृषकहरु व्यवसायीक किबी खेतीमा लाग्न थालेका छन् । किबी टिपेर बजार पठाए पछि उजाड भएको किबीको बोटको व्यवस्थापनका लागि माघ महिना उचित समय भएकोले कृषकहरुले अहिले तालिम तथा अभ्यासका लागि पनि बगैचामा पुगेका हुन् ।

बेनी नगरपालिकाले आयोजना गरेको फलफुल प्रवद्र्धन कार्यक्रम अन्तरगत किवि बगैचा व्यवस्थापन सम्बन्धी तीन दिने तालिमको पहिलो दिन किबीको बगैचामा अभ्यास सहितको तालिम भएको हो । बेनी नगरपालिकाकी कृषि शाखा प्रमुख आकृति ढुंगानाका अनुसार सैद्धान्तिक भन्दा पनि व्यवहारीक तालिम भएको खण्डमा कृषकले आफ्नो बगैचा व्यवस्थापन सहज तबरले गर्न सक्ने भएकोले नै बगैचा मै तालिम तथा अभ्यासको प्रयास गरिएको हो ।

शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले कुनै पनि काम गर्नु छ भने त्यसलाई पहिलो प्राथमिकता भनेको अभ्यास नै हुने भएकोले तालिमको सैद्धान्तिक भन्दा पनि व्यवहारीक तालिम होस भनेर किबी बगैचामै पुगेर तालिम गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । प्रमुख प्रशिक्षक रहनु भएका उहाँले लिएको तालिमलाई व्यवहारमै उतार्नु पर्ने भएकाले नै अभ्यासलाई प्राथमिकता दिएको बताउनुभयो ।

बेनी नगरपालिका ३ का अध्यक्ष पदमबहादुर पुनले तालिम व्यवहारीक रुपमै हुनु पर्ने भन्ने नगरपालिकाको सोच अनुरुप नै भएको बताउनुभयो। उहाँले किबी कृषकले आहिले बगैचा व्यवस्थापनको व्यवहारीक पक्षको बारेमा ज्ञान लिन पाएकोले यसलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तीन दिन सम्म चल्ने तालिममा भकिम्लि क्षेत्रका २० जना किबी कृषकहरु सहभागी रहेको बेनी नगरपालिकाकी कृषि शाखा प्रमुख आकृति ढुंगानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *