पत्रकार कुट्ने प्रहरीलाई कारबाहीको सट्टा प्रशासनबाटै संरक्षण

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार महासंघ बागलुङका सचिव विजय रानालाई कुटपिट गर्ने प्रहरी नायव निरीक्षक अनुप केसीलाई कारबाही गरेको छैन । पत्रकार कुट्ने प्रहरीलाई कारबाही नभएपछि पीडित पत्रकार राना न्यायका लागि अदालत जाने हुनु भएको छ ।

बागलुङ महोत्सवमा प्रहरीले दुई जना नागरिकलाई मरणासन्न हुने गरि कुटपिट गरेको भिडियो खिच्दै गर्नु भएका रानालाई प्रहरी नायव निरीक्षक केसीले पत्रकार परिचय पत्र देखाउँदादेखाउँदै मोबाइल खोसेर निर्मम कुटपिट गर्नु भएको थियो । गत पौष २१ गते प्रहरीको कुटाईपछि पत्रकार राना घाइते बन्नु भएको थियो । उहाँको हात, टुट्टामा चोट लाग्नुका साथै हड्डी चर्किएको छ ।

जिल्ला प्रशासन कार्यालयले पीडित पत्रकारलाई न्याय दिने र कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्ने आश्वासन दिएको थियो । प्रशासनले पत्रकार कुट्ने प्रहरी सहायक निरीक्षकलाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको छ । कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्ने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।

उक्त समितिले पाँच दिनसम्म छानबिन गरेर प्रतिवेदन तयार गरि जिल्ला प्रहरी कार्यालयलाई कुटपिट गर्ने प्रहरी नायव निरीक्षक अनुप केसीलाई कारबाहीका लागि पत्र पठाएको थियो । तर जिल्ला प्रहरी कार्यालयले केसीलाई सामान्य कारबाही पनि नगरि सचेत बनाएको जनाएको छ ।

समितिले कारबाही गर्नका लागि प्रहरीलाई प्रतिवेदन दिनुको सट्टा धेरै समय लगाएर आलटाल गरि पत्रकारहरुको आँखामा छारो हाल्न खोजेको पाइएको छ । यसले पीडितलाई न्याय दिनुको साटो उल्टै पीडा दिएको छ । कुटपिट गर्ने केसीलाई सामान्य कारबाही नगरेपछि पीडित पत्रकार रानाले न्यायलय जाने बताउनुभयो । मानवअधिकारको रक्षा गर्ने प्रहरीबाटै उल्लङ्घ हुँदा पनि कारबाही नभएको उहाँले बताउनुभयो ।

पीडित पत्रकार रानाले भन्नुभयो – “हामीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही हुन्छ भन्ने सोचेका थियौँ, सानो भए पनि विभागीय कारबाही चाहेका थियौँ, तर प्रहरीबाट त्यस्तो नपाएपछि कानुनी प्रक्रिया अगाडि बढाउने निदो ग¥यो, त्यसका लागि भोली प्रहरीमै उजुरी लिएर जान्छौँ ।”

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले छानबिन समितिले प्रतिवेदन तयार गरि जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाहीको लागि पत्र पठाएको बताउनुहुन्छ । तर के कारबाही गर्नका लागि पत्र पठाएको भन्ने विषय भने बरालले बताउनु भएन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले पत्रकार रानालाई कुटपिट गर्ने प्रहरी नायव निरीक्षक अनुप केसीलाई सोधपुछ गरेर सचेत बनाएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *